क्यासिनो र स्पाका कारण महिला असुरक्षित, स्थानीय त्रसित

क्यासिनो र स्पाका कारण महिला असुरक्षित, स्थानीय त्रसित

गैरकानुनी रुपमा सञ्चालित रुपन्देहीका क्यासिनोमा पछिल्लो समय अपराधिक क्रियाकलाप बढेको गुनासो सुन्न थालिएको छ । सिद्धार्थनगर नगरपालिका–८ र मायादेवी गाउँपालिका–८ को सीमानामा पर्ने एलिगन इन्टरटेनमेण्ट क्यासिनोका महाप्रबन्धक समीर शर्मा र क्यास म्यानेजर बैकुण्ठ न्यौपानेमाथि खुकुरी प्रहार भएपछि अपराधिक गतिविधिको चर्चा हुन थालेको छ । 

गत सोमबार राति एक समूहले उनीहरुको निवासमै पुगेर खुकुरी प्रहार गरेको बताइन्छ । क्यासिनो सञ्चालनमा रहेको भवनभन्दा पश्चिमतर्फको दिनेश मल्लको एक तल्ले घर भाडामा लिएर बसोबास गर्दै आएका उनीहरु सोमबार राति साढे ९ बजे निवास पुगेका थिए । बैठक कोठामा बसेर ‘पिउने’ तरखर गरिरहेका उनीहरुको निवासमा दुई अपरिचित व्यक्ति पुगेको भनाइ छ । 

मंगोलियन अनुहारका उनीहरुले हिन्दीमा ‘समीर कौन हे ?’ भनेर सोधे । बैकुण्ठले हिन्दीमै ‘समीर नहीँ हे’ भनेर जवाफ फर्काए । त्यतिबेला किचेनमा रहेका समीर ‘के भयो ?’ भन्दै बाहिर आइपुगे । उनले ‘समीर मै हुँ’ भन्नासाथ हिन्दीमा सोधनी गर्नेहरुले खुकुरीले आक्रमण गरेका हुन् । उनीहरुले आक्रमण गर्नुको कारण भने खुल्न सकेको छैन । उक्त निवासमा क्यासिनोको म्यानेजर तहका छ जना बस्दै आएको बताइन्छ । 

घटना भएको समयमा दुई जना मात्रै निवासमा थिए । क्यासिनो २४ सै घण्टा खुल्ने भएकाले उनीहरु पालैपालो आराम गर्न त्यहाँ जाने गरेको बुझिएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते उनीहरुको भैरहवास्थित युसिएमएस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यता, आवास क्षेत्रको उक्त स्थानमा अज्ञात समूहले रक्ताम्मे हुनेगरी खुकुरी हानेपछि स्थानीय त्रसित बनेका छन् । अस्ति बिहान घटनास्थलमा भेटिएका स्थानीय शंकर ज्ञवालीले त्यसपछि छरछिमेकीहरु निकै डराएको बताए । 

क्यासिनोको कारण शान्त र सभ्य समाजको रुपमा परिचित बसडिलवा डर, त्रास र विकृतिको थलो बनेको भन्दै उनले चिन्ता व्यक्त गरे । क्यासिनोले विकृति भित्र्याएको स्थानीयको आरोप छ । उमेरले पाका प्रेम शाही क्यासिनो सञ्चालनमा आएपछि सो क्षेत्रका चेलीबेटीमाथि धेरै खतरा उत्पन्न भएको बताउँछन् । 

‘भारतीयहरु हातमा बियर लिएर र चुरोट तान्दै हिँडिरहेका हुन्छन् । दिँउसै हिन्दीमा बाटो हिँड्नेलाई जिस्काउँछन् । क्यासिनोका लेडिज स्टाफहरु छोटाछोटा कपडा लगाएर बाटोमा बस्छन् । यो अति नै भो’, उनले गुनासो पोखे । खुकुरी प्रहारको घटनाले वडाबासीलाई त्रसित बनाएको मायादेवी गाउँपालिका–८ का वडासदस्य लक्ष्मण अर्यालले बताए । उनका अनुसार क्यासिनोले शान्त समाजमा अपराधिक तत्व भित्र्याएको छ । 

यता, क्यासिनोका म्यानेजर हरेन्द्र विष्ट स्वयम् तनावमा देखिन्छन् । उक्त घटनाले आफूहरुलाई पनि असुरक्षित तुल्याएको उनले बताए । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नवीन पौडेलले खुकुरी प्रहार गर्नेको खोजी भइरहेको जानकारी दिए । 

चारतारे होटल एसियन बुद्ध प्रालिको कम्पाउण्डबाहिर सञ्चालित उक्त क्यासिनो उद्घाटनदेखि नै विवादित छ । क्यासिनो नियमावली २०७० को चौथो संशोधन, २०७६ को परिच्छेद २ को दफा ६ को उपदफा (घ) मा भनिएको छ,‘धार्मिक वा सांस्कृतिक महत्वको दृष्टिले संवेदनशील मानिएको क्षेत्रमा क्यासिनो स्थापना गर्न पाइनेछैन ।’

तर, क्यासिनोसँगै रहेको प्रसिद्ध मन्दिर पश्चिम नेपालका शिवालयहरुमध्ये सबैभन्दा पुरानो मानिन्छ । सोही नियवामलीको दफा ५ को उपदफा (ख) मा तारे होटलको कम्पाउण्डभित्र मात्र क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था छ । सो नियम पनि क्यासिनोले पालना गरेको पाइँदैन । होटल बाहिर क्यासिनो खोलिएको छ । 

होटल र क्यासिनोको बीचमा २० फुट फराकिलो सडक छ । स्थानीयको विरोधका बाबजुद क्यासिनो सञ्चालनमा आएको हो । यता, भैरहवाको होटल लाकौलमा सञ्चालित क्यासिनो पनि दर्ता नगरिएको बताइन्छ । टाइगर प्यालेसमासमेत विवाद चर्किएको छ । भैरहवा आउने भारतीय पर्यटकलाई लक्षित गरी खोलिएका क्यासिनोहरुमा आवश्यक भौतिक पूर्वाधारसमेत पाइँदैन । 

तैपनि, स्थानीय प्रशासनले त्यस्ता क्यासिनोमाथि कारबाही गर्न सकेको देखिँदैन । क्यासिनो सञ्चालकहरुले महिनैपिच्छे प्रहरीलाई मोटो रकम बुझाउने गरेको स्थानीयको आरोप छ । भारतीय मुद्रा आर्जन गर्ने एक मात्रै माध्यम क्यासिनो र स्पा भएको जनाउँदै स्थानीय प्रशासनले घुमाउरो तरिकाले रकम असुल्ने गरेको कतिपयको भनाइ छ । यता, स्पाहरुमा मसाजभन्दा गलत प्रवृत्ति बढी हुने गरेको बताइन्छ ।

क्यासिनो र स्पामा कडा रुपमा अनुगमन गर्न नगरस्तरीय पर्यटन अनुगमन समिति गठन गर्नुपर्ने उनीहरुको माग छ । क्यासिनो र स्पालाई व्यवस्थित र सभ्य रुपमा सञ्चालन गर्न प्रहरी प्रशासनले आवश्यक कदम चाल्नुपर्ने स्थानीयको सुझाव छ ।

टिप्पणीहरू