बिजुलीको भोल्टेज कम हुँदा खानेपानीको हाहाकार
बिजुलीको भोल्टेज कम हुँदा भरतपुरमा खानेपानीको हाहाकार भएको छ । कम भोल्टको विद्युतले मोटरपम्प चलाउन समस्या भएपछि खानेपानीको उत्पादन नै कम भइरहेको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए ।
पिकआवरमै भोल्टेज नभएपछि भरतपुरका विभिन्न भेगमा पानीको अभाव बढिरहेको छ । पानीको हाहाकार बढ्दै गएर दैनिकी कष्टकर बन्दै गएपछि भरतपुर–५ को सृष्टि टोलबाट अस्ति टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुसहितको प्रतिनिधिमण्डल खानेपानी बोर्डमै पुगेर दुःखेसो पोख्दै थियो ।
‘एक–दुई महिना अघिसम्म पानी तीन तलामाथि चढ्थ्यो । अहिले भुइँतलामै २० लिटरको एउटा बाल्टी भरिन ३–४ मिनेट लाग्छ’, सृष्टि टोल विकास संस्थाका उपाध्यक्ष विष्णुप्रसाद सुवेदीले भने, ‘अरुभन्दा पनि ट्वाइलेट जान एकदम समस्या भा’छ । टंकीमा पानी नै चढ्दैन’, उनले भने ।
‘भरतपुरको वडा नम्बर ४, ५, ६ मा बिजोग छ । उता, पटिहानीमा समेत त्यस्तै छ’ खानेपानी व्यवस्थापन बोर्डका प्राविधिक दिपक शर्मा पौडेल भन्छन्, ‘खानेपानीको मोटरपम्प चल्न विद्युत भोल्ट न्यूनतम ३६०/३८० देखि माथि हुनुपर्छ। तर अहिले ३२०–३३० भोल्टेजमात्रै विद्युतबाट आपूर्ति भइरहेको छ ।’ जसकारण मोटरपम्पहरु नचलेपछि पानीको उत्पादन घट्न पुगेको र उपभोक्तालाई पर्याप्त पानी पुर्याउन नसकिएको बोर्डको भनाइ छ ।
‘यो बेला विद्युतको खपत पनि बढी छ, पानीको माग पनि बढी छ, त्यसमा पनि उत्पादन कम भयो’, बोर्डका कार्यकारी निर्देशक दाहालले भने । वैकल्पिक स्रोतको रुपमा रहेका इनार, कुवाहरु पनि पछिल्लो समय सुक्दै गएको अवस्थामा भरतपुरमा बोर्डकै पानीमा निर्भर हुने घरधुरी थुप्रै छन् । भरतपुर खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत खानेपानीको सञ्जाल व्यापक रहेको तथा पानीको उत्पादन र वितरण प्रणालीहरु एकापसमा अन्तरसम्बन्धित भएकाले कुनै एक ठाउँमा कुनै कारणले गडबडी हुँदा अन्यत्र पनि असर पर्नसक्ने बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बराल बताउँछन् । पुलचोक–गोन्द्राङ सडकखण्ड विस्तारको काम भइरहँदा पाइपलाइनको कारणले अहिले गोन्द्राङ साइटमा पनि (कोकाकोला फ्याक्ट्रीको पछाडिपट्टि) खानेपानी वितरणमा समस्या भइरहेको बोर्डका प्राविधिकले बताए ।
विद्युतको भोल्टेज कम भएर भरतपुरमा खानेपानीको अभाव देखिएको सम्बन्धमा नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रका सूचना अधिकारी इञ्जिनियर मिलन सापकोटासँग सम्पर्क राख्दा उनले खानेपानीजस्तो संवेदनशील विषयमा विद्युतले आवश्यक ध्यान दिने भन्दै आफूले यस विषयमा बुझेर एक्सन लिने बताएका छन् । विद्युतको स्टान्डर्ड भोल्ट नै ४०० हो, भोल्टेज कम भएको ठाउँमा बढाउन पहलकदमी लिने उनले बताए । ट्रान्सफर्मर नजिक राखेर पनि भोल्टेज बढाउन सकिने विद्युत इञ्जिनियर बताउँछन् ।
टिप्पणीहरू