बाघलाई थापेको पासो आफैंलाई गलपासो
वन्यजन्तुको चोरीशिकारीमा संलग्न रहेको अभियोगमा गत कार्तिकमा पक्राउ परेका एक युवकमाथि चितवन जिल्ला अदालतमा मुद्दा चलाइँदैछ । विशेष सुराकीको आधारमा पूर्वीनवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपानेलाई नयाँ गोरख गण तमासपुर पोष्टका नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको तमासपुर रेञ्जपोष्टका कर्मचारीहरुको संयुक्त टोलीले कार्तिक २९ गते पक्राउ गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ मै पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मी डाँडा भन्ने ठाउँमा कार्तिक २ गते बिहान वन्यजन्तुको चोरीशिकारीका लागि पासो थापेको भेटिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारीहरु र नयाँ गोरख गणको बगुवन सुरक्षा पोष्टका नेपाली सेनाको संयुक्त गस्ती टोलीले वन्यजन्तुलाई शिकार गर्न प्रयोग भएको सवारीसाधनमा प्रयोग हुने ब्रेकको तार, केबल लाइनमा प्रयोग हुने तार र रौं अल्झेको जस्तो देखिने तार एक/एक थान फेला पारेको थियो । त्यसैको आरोपमा अमृत पक्राउ परेका थिए ।
बरामद भएको तारसहितको अल्झिएको रौंहरुको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त डिएनए नतिजा अनुसार उक्त रौं पाटेबाघको भएको पाइएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय बताउँछ । रौंको प्रकृति, भौतिक मापन नतिजा समेतको आधारमा उक्त तार पासो हुनसक्ने एवम् अत्यधिक संघर्षबाट तारमा रौंको उपस्थितिसँगै सो रौं शरीरको माथिल्लो र तल्लो घाँटी जस्ता भागको हुने सम्भावना बढी रहेको भनी विवरण प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोबाट अमृत न्यौपानेले प्रयोग गरेको मोबाईलको कल डिटेलसहितको डिजिटल परीक्षण गरी पठाउँदा उक्त मोबाईलबाट पासोमा परेको बाघको फोटोसमेत प्राप्त भएको र अमृतले पासोमा बाघ परेको देखी आफू एक्लैले रुखमाथि चढेर बाघको फोटो खिचेको भनी स्वीकार पनि गरेको निकुञ्जले बताएको छ । संरक्षित वन्यजन्तु बाघ मार्ने उद्योग मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन) ऐन २०२९ को दफा २६ को उपदफा (५घ) बमोजिमको कसुर गरेकोले निजलाई सोही ऐनको दफा २६ को उपदफा (१) बमोजिम सजाय र बरामद भएको सामानहरु सोही ऐनको दफा २८ बमोजिम जफत गर्ने गरी मागदाबी लिई जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिएको आज प्रेस विज्ञप्तिमार्फत् निकुञ्जले जानकारी गराएको हो ।
टिप्पणीहरू