बटन थिचेपछि प्रचण्डको दावी- सरकार माफियाहरुको भुलभुलैयामा फस्याे

बटन थिचेपछि प्रचण्डको दावी- सरकार माफियाहरुको भुलभुलैयामा फस्याे

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारी र विचौलियाको संरक्षणमा व्यस्त बनेकाे बताउनुभएको छ । आज नेपालगञ्जमा प्रादेशिक व्यापार महोत्सवको उद्घाटन गर्दै उहाँले सरकारको अवस्था लाजमर्दो बन्दै गएको बताउनुभएको हो । 

गत असारमा सरकार गठन भएदेखि पछिल्लो समय संसद् छलेर अध्यादेश ल्याउँदासम्मको अवस्थालाई हेर्दा सरकार माफियाहरुको भुलभुलैयामा फसेको प्रचण्डको भनाई छ । ‘६ महिनाअघि यो सरकार जुन ढंगले बनेको थियो, उतिबेला विचौलियाहरु सल्बलाएको देख्दाखेरी नै हाम्रो शंका सुरु भइसकेको थियो’, उहाँले भन्नुभयो, ‘अहिले अध्यादेश ल्याउँदासम्मको अवस्थालाई हेर्ने हो भने जनताको पक्षमा केहि काम भएको छैन ।’

अध्यक्ष प्रचण्डले ‘वर्तमान सरकार ०८४ सम्म चलोस्’ भनेर कामना पनि गर्नुभयो । ‘हामीलाई त केहि हतार छैन, यो सरकार ०८४ सम्मै जाओस्, म त शुभकामना भन्छु, तर त्यहाँसम्म टिक्छ कि टिक्दैन भन्ने पो शंका छ त’, उहाँले थप्नुभयो । 

कार्यक्रममा प्रचण्डले बटन थिचेर विद्युतीय दीप प्रज्वलन गर्नुभएको थियो । त्यसअघि उहाँले तीन जिल्लाको भ्रमण गर्नुभएको थियो । बिहान सुर्खेत पुग्नुभएका उहाँ बर्दिया हुँदै बाँके पुगेर सहिद परिवारसँग खाना खानु भएको थियो ।

टिप्पणीहरू