एमाले अध्यक्ष तथा प्रधानमन्त्रीलाई खुइल्याउन कस्सिएकाहरु निष्कासित
नेकपा एमालेबाट निकालिएका डा.भीमबहादुर रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा लागेको भन्दै एमाले अछाम जिल्ला कमिटीका आधा दर्जन नेता कारबाहीमा परेका छन् । रावलले थालेको अभियानलाई समर्थन गर्दै पार्टी नेतृत्व केपी शर्मा ओलीलाई खुइल्याउने, संस्थागत निर्णयका विरुद्ध जाने, पार्टीविरुद्ध अभिव्यक्ति दिने तथा अनुशासनको अवहेलना गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको छ ।
‘वर्तमान परिप्रेक्ष्यमा सामाजिक सञ्जाल एवम् सञ्चारमाध्यममा पार्टीकै पदीय भूमिकामा रहेका केही सदस्यहरुबाट नेकपा एमालेविरुद्ध अभिव्यक्ति दिने, पार्टी नेतृत्वलाई खुइल्याउने, संस्थागत निर्णयविरुद्ध जाने, कमिटी पद्धतिभन्दा बाहिर गएर अवाञ्छित क्रियाकलाप गर्ने, पार्टीलाई कमजोर बनाउन अलग्गै अभियानमा लागि साथ समर्थन दिने र पार्टी विधानको पालना नगरी अनुशासनको अवहेलना गर्ने कार्य भइरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
अछाम जिल्ला कमिटी सचिवालय सदस्य एवम् संगठन विभाग प्रमुख प्रकाश शाह, सचिवालय सदस्य सागरसिंह बाब्ली, कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई एमालेको विधानको धारा ८१ को (१) बमोजिम पदीय जिम्मेवारीबाट निष्काशन गरिएको छ ।
उनीहरुलाई पार्टी विधानको धारा ८० को उपधारा १, २, ३, ४, ५, १२ र १३ विपरीत गतिविधि गरेकाले धारा ८१ को (१) बमोजिम पार्टी कमिटीको पदीय जिम्मेवारीबाट आजैका मितिदेखि निष्कासित गरिएको हो ।
टिप्पणीहरू