पूर्वराजाले भेट्न नमानेका ती पाँच भाइ को हुन् ?

पूर्वराजाले भेट्न नमानेका ती पाँच भाइ को हुन् ?

पूर्वराजा ज्ञानेन्द्र शाह एक सातादेखि भैरहवामा छन् । पत्नी कोमलसहित परिवारका सात जनालाई लिएर मङ्सिर १७ गते काठमाडौँबाट नेपालगञ्ज पुगेका उनी माघ ४ गते स्थलमार्ग हुँदै भैरहवा आएका थिए । 

त्यहाँस्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेसमा बसिरहेका पूर्वराजाको बिभिन्न व्यक्तिसँग अनौपचारिक संवाद चलिरहेको छ । झण्डै डेढ महिना नेपालगञ्ज बसाईका क्रममा पनि उनले भारतीय कूटनीतिज्ञहरुसँग भेटघाट गरेको खबर बाहिर आएको थियो । 

यसैबीच पूर्वराजा ज्ञानेन्द्रले भैरहवामा केही व्यक्तिसँग भेट्न इन्कार गरेको बुझिएको छ । उच्च सुरक्षा स्रोतले दिएको जानकारीअनुसार पाँच जनाको टिमले गोप्य दर्शनभेटका लागि 'बिन्तीपत्र' हालेकोमा शाहले अस्वीकार गरेका हुन् । ती व्यक्तिको नाम गोप्य राखिएको भन्दै स्रोतले खुलाउन चाहेन । 

पूर्वराजालाई भेट्न इच्छा जाहेर गर्नेहरु हालै एमालेबाट निष्कासित डाक्टर भीमबहादुर रावलको 'मातृभूमि जागरण अभियान' का सदस्य हुनसक्ने अनुमान गरेको स्रोतले पुष्टि गर्न भने सकेन । यसबारे जिज्ञासा राख्दा रुपन्देही प्रहरीले हिजो रावल बुटवल आएको सूचना नरहेको बताएको छ । 

एमालेबाट निकालिएपछि आफ्नै नेतृत्वमा उक्त अभियान चलाइरहेका रावलले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरिसकेका छन् । त्यसनिम्ति देशदौडाहामा रहेका उनी केही दिनदेखि गृह प्रदेशका विभिन्न कार्यक्रममा व्यस्त छन् । जुनसुकै बिचार बोक्ने राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने बताएका रावलले नयाँ खुल्ने दलमा राजावादीलाई पनि ठाउँ दिने संकेत गरेका छन् । 

अभियानका क्रममा विराटनगर पुग्दा उनलाई राजवादी अभियन्ता भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले भव्य स्वागत गरेका थिए । पूर्वराजावादी भनेर चिनिएका कतिपयलाई उनले भेटेको र त्यसक्रममा रावलले २०६२/६३ को आन्दोलन गणतन्त्र ल्याउनका लागि नभएको टिप्पणी गरेको चर्चा पनि चलेको थियो । 

यता, सरकारप्रतिको वितृष्णाले आम तहबाट व्यवस्थामाथि नै प्रश्न उठिरहँदा पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक सक्रियता पहिलेभन्दा बढेको छ । नागरिक अभिनन्दनका नाममा देशभित्र विभिन्न भेटघाटमा सक्रिय रहँदै आएका उनको छिमेकी मुलुक भारततर्फ आवतजावत बढ्दो छ । केही हप्ताअघि मात्र लखनउ पुगेका ज्ञानेन्द्रले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खास विश्वासपात्र मानिने योगी नेपालमा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना गराउने पक्षमा खुलेआम वकालत गर्दै आएका व्यक्ति हुन् । ज्ञानेन्द्रलाई भेटेलगत्तै दिल्ली हान्निएका उनले त्यहाँ राष्ट्रपति, उपराष्ट्रपति र गृहमन्त्रीसँग भेट गरेका थिए ।

टिप्पणीहरू