अभियोग ठहर भए रवि १५ वर्ष जेल, ५५ करोड जरिवाना

अभियोग ठहर भए रवि १५ वर्ष जेल, ५५ करोड जरिवाना

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने दोषी ठहर भए १५ वर्षसम्म जेल सजाय हुनसक्नेछ । जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध आज कास्की जिल्ला अदालतमा तीनवटा कसुरमा अभियोग पत्र दायर गर्दै सो मागदाबी गरेको हो । 

जिबी राइ समूहले देशका मुख्य शहरमा सहकारीको नेटवर्क खडा गरी गोर्खा मिडिया नेटवर्कलगायतका निजि कम्पनीमा गैरकानुनी तवरले रकम लगेर अपचलन गरेको यो प्रकरणमा लामिछानेविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा सजाय मागदावी गरिएको छ । 

सहकारी ठगी गरेर गोर्खा मिडियामा थुपारेको रकम परिचालन गरी आफूले समेत लाभ लिएको ठहरसहित उनीमाथि सम्पत्ति शुद्धीकरणको अभियोग लगाएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ अनुसार उक्त कसुर ठहर भए लामिछानेलाई कम्तिमा २ देखि अधिकतम १५ वर्षसम्म कैद सजाय हुन्छ। 

त्यस्तै सहकारी ठगीमा ४ देखि ६ वर्ष सजाय गर्नुपर्ने मागदाबी लिइएको छ । सहकारी ऐन–२०७४ को दफा (१२४) बमोजिम १ करोड देखि १० करोडसम्म बिगो भएमा उक्त सजाय हुने व्यवस्था छ । सरकारी वकिलले लामिछानेविरुद्ध ३ करोड ३७ लाख बिगो मागदाबी लिएको छ ।

त्यस्तै, लामिछानेलाई संगठित अपराधको कसुर पनि लगाएको छ । तर, संगठित अपराध आफैँमा छुट्टै अपराध भने होइन । तीन वा त्यो भन्दा बढी व्यक्ति मिलेर योजनावद्ध अपराध गरेमा मूल सजायमा थप ५० प्रतिशत सजाय मागदावी गर्दै संगठित अपराधको अभियोग लगाइन्छ । 

त्यस्तै, लामिछानेसहित ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच जना गरी ४४ जनाविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपैयाँ बिगो मागदाबी गरिएको छ । जसमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ बिगो कायम गरिएको छ । बिगो बराबरको जरिवाना तिर्नुपर्ने भएकाले उक्त रकम ५५ करोड ७८ लाख ८९ हजार ४१० रुपैयाँ हुन पुग्छ । 

अदालतले सरकारी वकिलको दाबी सदर गरेमा यो रकम रविले जरिवानास्वरुप बुझाउनुपर्छ । उक्त रकम तिर्न नसके त्यसबापत उनले थप जेल बस्नुपर्ने हुन्छ ।

टिप्पणीहरू