रविपत्नीले चारुलाई अनि यस्तरी रुवाइन्

रविपत्नीले चारुलाई अनि यस्तरी रुवाइन्

देशमा कस्ता–कस्ता अर्बपति, खर्बपति छन् । तर, तिनलाई माथ खुवाउने जीवनशैली, आर्थिक तामझाम रास्वपा सभापति रवि लामिछानेको देखिन्छ । र, कसरी त्यो सम्भव भयो भन्ने कुराको पनि क्रमशः खुलासा हुँदैछ, एकपछि अर्को सहकारी ठगी गरेका समाचारबाट ।

जिन्दगीका सबै रहर पूरा गर्दै अन्तिममा राजनीति चाख्न आएका रविले ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईसँगको साझेदारीमा, आफू प्रबन्ध निर्देशक भई सञ्चालन गरेको ग्यालेक्सी फोरके टिभी कसरी डुब्यो ? पत्रकार र सञ्चार प्राविधिकले पैसा नपाउने, तर टेलिभिजन सञ्चालनका नाममा चलाइएको सहकारी ठगीबाट चुनावमा उठ्ने, मन्त्री हुने रविका रहरबारे केही तथ्य फेला परेका छन् । 

ग्यालेक्सी टेलिभिजनमा एकजना महिलालाई प्रमुख कार्यकारी अधिकृत बनाइयो, चारु चड्डा । उनी बिजनेश ३६०, वाऊजस्ता प्रतिष्ठित मिडियामा संलग्न ग्ल्यामर छविकी क्षमतावान महिला हुन् । ग्यालेक्सीमा गएपछि टेलिभिजन सञ्चालनको क्रममा ७० करोड रुपैयाँ खर्च भइसकेको हिसाब निकालिन् । तर, अफिसबाट निस्कँदा त्यहाँ काम गर्ने पत्रकार, प्राविधिकदेखि कोही पनि कर्मचारीले महिनौंदेखि तलब नपाएका कथा सुन्थिन् । त्यसपछि रवि र जिबीसँग हिसाब खोजिन् ।

अनि, हिसाब ‘बुझाउन’ रविकी पत्नी निकिता पौडेल गइन् । उनी ‘हिसाब’ हैन, धम्कीयुक्त भाषामा प्रस्तुत भइन् । मिडिया जिन्दगीको २२ वर्षमा चारुले कुनै मिडियाको प्रबन्ध निर्देशककी पत्नीबाट त्यति निकृष्ट व्यवहार भोगेकी थिइनन् । त्यसपछि ‘यस्ता थर्डक्लास मान्छेहरुको अफिसमा खुट्टा पनि टेक्दिनँ’ भन्दै निस्किइन् । उनले अरु केही खोजेकी थिइनन्, त्यत्तिका पैसा आम्दानी देखिन्छ, तर पत्रकार र प्राविधिकलाई अनिवार्य दिनुपर्ने तलब किन दिइएको छैन ? भन्ने जिज्ञाशामात्रै थियो ।

आखिर टेलिभिजन देखाएर करोडौं उठाउने र चुनाव लड्न पैसा जम्मा पार्ने खेलो रहेछ ! रवि त चुनाव उठेर, जितेर, उपप्रधानमन्त्रीसम्म भए, अर्थात् ‘उक्सिए’ ! तर, रविकै कारण जिबी राई यसरी डुबे कि आज खुलेआम हिँड्न पनि मुश्किल छ । हो, जिबीको आजको परिचय छ, ‘ठग, बदमास’ को ! उनी त्यसो हुनुका पनि अलग्गै पीडा छन् । रविको भर परेर उनले तीन वर्षदेखि सहकारीबाट कुनै लगानी नगर्ने तर पैसा भने उठाउने काममात्रै गरे । रवि गृहमन्त्री भएको बेला सहकारी पीडितहरुलाई धम्क्याउने र तर्साउने कामसम्म भयो । त्यसमध्येका कुमार रम्तेल अहिले जेलमा छन् । पोखराको सहकारीबाट सवा अर्ब हिनामिना गरेको कुरा महानगरपालिकाकै रिपोर्टमा भेटिन्छ ।

रविको ‘उठ्तीपुठ्ती’ मामिलालाई ०७६ सालमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीदेखि ०७९ सालमा उनकै पार्टीबाट समानुपातिक सांसद भएका ढाकाकुमार श्रेष्ठसम्मले प्रष्ट्याउँदै आएका छन् । ग्यालेक्सी टिभी सञ्चालनका क्रममा त्यहाँ कार्यरत पत्रकारले शालिकरामसँग आफूलाई दाँजिरहेका छन् । उनले मर्नुअघि रविको अत्याचारबारे खुलासा गर्दै भिडियो सन्देश छोडेका थिए भने ढाकाकुमारले रविकै निर्देशनमा उनको ‘कोर टिम’ लाई बुझाउनुपर्ने भनी दुई करोड मागेका थिए ।

ग्यालेक्सीका पत्रकारहरुले शालिकराम र ढाकाकुमारका आरोप सत्य हुन् भन्ने कुरा पत्याउने गरी व्यवहार भोगेका छन् । विशेषतः ग्यालेक्सीका सबैजसो क्यामेराम्यान र दृश्य सम्पादक मरणान्त हुने गरी पीडित छन् । डेरा भाडा तिर्न नसक्ने अवस्थामा छन् । पत्रकारहरु मिलन विछोड, नवराज अधिकारी, अंगदराज न्यौपाने, रामबहादुर रावल, सजिना देवकोटाहरु लामो समय बिचल्लीमा परे । कार्यक्रम प्रस्तोता बृत्ति मल्ल, ग्राफिक्समा काम गर्ने विवेक श्रेष्ठ, श्रृंगारमा काम गर्ने तामाङ समुदायका ६ जना युवती काम गरेको पैसा नपाएर बिल्लिबाठ परेका छन् ।

जिवीले सूर्यदर्शन सहकारीका विभिन्न शाखाबाट रकम संकलन गरी गोर्खा मिडिया नेटवर्क प्रालि दर्ता गराए । सहकारीका पोखरा, नेपालगञ्ज, काठमाडौं, ललितपुर र वीरगञ्ज शाखाबाट आएको १६ करोड रुपैयाँबाट ग्यालेक्सी टिभी सञ्चालनमा आयो । रविको ‘पाँच वर्ष काम गर्छु र देशको मुख्य टेलिभिजनका रुपमा स्थापित गरिदिन्छु’ भन्ने बचनका आधारमा त्यत्तिका लगानी गर्न जिबी तम्सिएका हुन् । त्यही आधारमा रविलाई १६ प्रतिशत ‘सलामी’, अर्थात् बिनालगानीको शेयर दिए । टेलिभिजनले शुरुवातका दिनमा राम्रै बजार पायो । तर, एक वर्ष नपुग्दै ‘पाँच वर्ष काम गर्छु’ भन्ने रविले आफ्नो नामको शेयर बराबरको रकम फिर्ता मागे । उनलाई जिबीले स्वेच्छाले दिएको १६ प्रतिशत शेयरबापत सात–आठ करोड रुपैयाँ एकमुष्ठ बुझाउनुप¥यो । त्यसपछि रवि टेलिभिजन छाडेर चुनाव लड्न चितवन पुगे । 

यता, जिबीका दिन बिग्रन थाले । आर्थिक हिनामिनाकै कारण बेपत्ता छन् । उनी स्वयं पनि कुमार रम्तेलबाट पीडित हुन् । कुमारले जिवीको जस्तै सही गर्न जानेकै कारण भैंसेपाटीमा २६ रोपनी जग्गा आफ्नो नाममा पारिसके । विशेष बाबु भन्ने अर्काे व्यक्ति छन्, जिबीलाई डुबाउने । रवि टेलिभिजनमा रहँदै पनि त्यहाँ कार्यरत पत्रकारले सात महिनाको तलब पाएका थिएनन् । शुरुमा एक करोड २७ लाख अपरेशन खर्च थियो । पछि टिकाराम राई र चारुले कस्दै जाँदा ९७ लाखमा झ¥यो । समयमा तलब नपाएपछि एमसिआरमा बस्ने प्राविधिकहरुले काम नगर्दा टेलिभिजन बन्द भयो ।

दुई वर्षदेखि स्याटेलाइटको पैसा दिइएको छैन । सामान्यतया स्याटेलाइट सेवा लिने कम्पनीलाई महिनाको दुई लाख तिर्नुपर्नेमा राम्रोखाले स्याटेलाइट ल्याएको नाममा मासिक ६ लाख तिर्नुपथ्र्यो । रविले टेलिभिजनबाट त सात–आठ करोडमात्रै लगे । टेलिभिजनको प्रोडक्सन डाइरेक्टर बनाइएका विपिन आचार्यमार्फत जिबी राईको चार करोड कुम्ल्याए । इन्टरटेनमेन्टसम्बन्धी कम्पनीका नाममा एउटा रियालिटी शो चलाउने भनी सम्झौता गर्दै उक्त रकम हजम पारिएको हो ।

उक्त सम्झौतामा कम्पनीको तर्फबाट रवि आफैंले सही गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितका अग्रणी महिलाहरुलाई सहभागी गराई नेतृत्व विकाससम्बन्धी रियालिटी शो सञ्चालन गर्ने नाममा विपिनले सर्वसाधारणबाट एक–एक हजारका दरले रकम उठाउँदा दुई करोड संकलन भएको थियो । सो रकम पनि हिनामिना भयो । खासमा विपिन रविको आर्थिक मामिलासँग सम्बन्धित सघन समूह (कोर टिम) का मानिस हुन् । उनीसँगै दिपक बोहोरा र पत्नी निकिताले आर्थिक संकलनका काम गर्ने गरेको आरोप छ । संकलित रकमलाई व्यवस्थापन गर्ने व्यक्ति देवेन्द्र बजगाईं हुन् । म्यानपावर व्यवसायमा कालोसूचीमा रहेका उनको गौरीघाटमा इन्भेष्टमेण्ट कम्पनी छ ।

सूर्यदर्शनमात्रै हैन, वीरगञ्जको सानो पाइला, चितवनको सहारासहितका थुप्रै सहकारीबाट जिबीले करोडौं रकम हिनामिना गरेका छन् । जनआस्थाले पहिल्यै रविको दोहोरो राहदानी र नागरिकताबारे समाचार लेख्यो । त्यस मामिलालाई समयमै व्यवस्थापन गर्नुको सट्टा प्रतिशोधपूर्ण व्यवहार र अभिव्यक्ति दिन तम्सिए । स्वतः खारेज भएको नागरिकताका आधारमा अर्को राहदानी बनाउने, त्यही नागरिकताका आधारमा व्यवसाय गर्ने, चुनाव लड्ने र मन्त्रीसम्म बन्ने तहमा पुगे । तीन पत्नीका प्रमाणित विषयमा बदनाम भए । र, अहिले बदनामीको श्रृंखला सहकारी ठगीसम्म पुगेको छ ।

टिप्पणीहरू