एक पोखरेललाई रोकेर अर्का पोखरेल

एक पोखरेललाई रोकेर अर्का पोखरेल

सुदूरपश्चिमको दार्चुला जिल्ला अधिवेशनमा आफू जाने गरेर महासचिव शंकर पोखरेलले मिति तय गर्न लगाएका थिए । तर, त्यहाँ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल गइदिए ।

पोखरेललाई प्रमुख अतिथि दार्चुलाले बनाएको होइन । शंकरसित ओली रिसाएपछि ईश्वरले त्यहाँ जान पाएका हुन् । मध्यपहाडी राजमार्गको यात्राका क्रममा सुदूरपश्चिम पुगेपछि मात्र ओलीले दार्चुला जिल्ला अधिवेशन हुँदै छ भन्ने थाहा पाएका थिए । तत्कालै जिल्ला इञ्चार्ज सहदेव बोगटी र पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नालाई बोलाएर कसलाई सोधी मिति तोकेको भन्दै ओली कड्किएको एमालेमा चर्चा छ । 

उनीहरूले महासचिवको अनुमतिमा उनलाई नै प्रमुख अतिथि बनाउने गरेर अधिवेशन तय भएको बताएपछि मलाई नसोधी त्यसो गर्ने शंकर को हो भन्ने प्रश्न गर्दै ओलीले ईश्वरलाई प्रमुख अतिथि बनाएर पठाउने बताएका थिए । पुस १८ गते सम्पन्न अधिवेशनले सर्वसम्मत ९० सदस्यीय जिल्ला कमिटी छनोट गरेको छ । ज्ञानेन्द्रबहादुर घर्ती जिल्ला अध्यक्ष भएका छन् । उनी एमालेका पूर्वउपाध्यक्ष भीमबहादुर रावलनिकट रहेको बताइन्छ । हुन त सुदूरपश्चिममा ओली र शंकरको विवाद अहिले मात्र देखिएको होइन ।

यसअघि प्रदेश अधिवेशनमा पनि शंकरले कमल तिमिल्सेनालाई अध्यक्ष बनाउन खोजेका थिए तर ओलीले कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाउने कागज गरिदिए । शंकरले स्थायी समिति सदस्य कर्णबहादुर थापाले जैसीलाई बोकेकोले तिमिल्सेनालाई च्यापेका हुन् । ओलीले तिमिल्सेनालाई केन्द्रीय सदस्य बनाउने आश्वासन दिएर अध्यक्षको उम्मेदवारी झिक्न लगाए पनि यसपटकको सचिवालय बैठकले उनलाई त्यो जिम्मेवारी दिएन । 

प्रचण्डलाई प्रश्न, म दलको नेता हो कि होइन 

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमका बहुमत प्रदेश सभा सदस्य आफ्नो दलको नेता र मन्त्रीहरूलाई हटाउने सहमति खोज्न काठमाडौँ पुगेका छन् । 

माननीयहरुले आफू र प्रदेश सरकारका दुर्ई मन्त्रीलाई हटाउन प्रयास गरेपछि दलका नेता खगराज भट्ट काठमाडौँ पुगेर प्रचण्डलाई म दलको नेता हो कि होइन भनेर सोधेका छन्् । सो प्रश्नको जवाफमा प्रचण्ड मुस्कुराएको बताइन्छ । उनी शनिबार रन्थनिएर काठमाडौँ पुगेका थिए । 

दलको नेता भट्ट र दुर्ई मन्त्री हटाउन सभामुख भीमबहादुर भण्डारी, वन राज्यमन्त्री गीता माल, प्रदेशसभा सदस्यहरू अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, सरल, लक्ष्मी बिक काठमाडौँ गएका हुन् । सो अभियानमा दलका नेता खगराज भट्ट, वनमन्त्री रमेशबहादुर धामी, सामाजिक विकासमन्त्री झपटबहादुर बोहरा र प्रदेश सभा सदस्य जानकीदेवी पौडेल कुँवर भने सामेल भएनन् ।

राज्यमन्त्री मालले आफूलाई धामीले कुनै अधिकार नदिएकाले मन्त्री हटाउने अभियानमा लागेको बताउँदै आएकी छन् । अर्कोतिर सभामुख भण्डारी प्रधानमन्त्री भेट्न आफू गएको र प्रदेश सभाका अन्य सदस्य पनि गएकोले संयोगवश तस्बिर खिचेको भनेर पन्छिने गरेका छन् । स्रोतका अनुसार दलको नेता र मन्त्री हटाउँदा अस्थिरता उत्पन्न हुन्छ नै अर्कोतिर वनमन्त्री धामी प्रदेश अध्यक्ष हरि चौधरी उत्सवका विश्वासिला हुन् ।

उत्सव प्रचण्डको निकट छन् । अर्कोतिर मन्त्री झपट साउद पनि प्रचण्ड र नारायणकाजीका विश्वासिला हुन् । यद्यपि, शिवसिंह ओली र लक्ष्मी बिकले आफूहरू नारायणकाजीको खास भएको दावी गर्दै आएका छन्् । 
 

टिप्पणीहरू