क–कसको टाउको खाँदै छ खानीले

क–कसको टाउको खाँदै छ खानीले
सुन्नुहोस्

वातावरण विनाशको कारण स्थानीय जनताको टाउको दुखाइको विषय भएको ललितपुरको ढुंगाखानीले अब राजनीतिक दल र स्थानीय तहको टाउको दुखाउन थालेको छ ।

गोदावरी नगरपालिकाको विभिन्न ठाउँका ढुंगा खानीबाट निकासी करको रकम दुरूपयोग गरेको अभियोगमा नगरपालिकाविरुद्ध अख्तियार, सतर्कता केन्द्रलगायत निकायमा उजुरी परेका कारण कर्मचारी र जनप्रतिनिधि सतर्क भएका छन् । 

निकासी करबापत जम्मा भएको रकम कोभिडलगायतको बहानामा निकासी कर संकलक कम्पनीलाई एक करोडभन्दा बढी फिर्ता दिएको अभियोग लागेको छ ।

विभिन्न खरिद, योजना कार्यान्वयन आदिमा मिलेमतोका आशंकामा प्रशस्तै उजुरी परेका कारण कामै गर्न नसकिने अवस्था भएको भन्दै मेयर गजेन्द्र महर्जनले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासम्म गुहारिसकेका छन् भने स्थानीय स्तरमा अवैध रूपमा सञ्चालित ढुंगाखानीविरुद्ध स्थानीय युवा आन्दोलित भइरहेका छन् । कांग्रेसकै युवा कार्यकर्ता नै आन्दोलित भएपछि पार्टीभित्र पनि खानीका कारण समस्या सिर्जना भएको बारे छलफल हुन थालेको छ । 

मोटो रकमको चलखेलका आधारमा हुने गरेका अवैध खानीको सञ्चालन, निकासी कर छल्दै हुने गरेको निकासी र ठूला खरिदलगायत योजनामा यसअघिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइराला सबैभन्दा बढी जिम्मेवार भएको आरोप लागेको छ ।

अवैध जग्गा प्लटिङका स्वीकृतिलाई समेत अख्तियारले निशानामा राखेको छ । घरायसी र खेती प्रयोजनका लागि जग्गा सम्याउन दिने भन्दै दिइएका स्वीकृति कुनै पनि खेती र घरायसी प्रयोजनमा नभई सरासर प्लटिङका लागि भएकाले गोदावरीका पछिल्लो अढाइ वर्षका कामले धेरै टाउको दुखाइ गराएको छ ।

टिप्पणीहरू