यस्तैसँग प्रधानमन्त्रीको उठबस

यस्तैसँग प्रधानमन्त्रीको उठबस

शासकले भ्रष्टाचारीलाई भेटमात्रै नदिए तिनका अनियमिततामाथि त्यसै पनि नियन्त्रण हुन्छ । तर, नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई २–३ दिन बिराएर प्रधानमन्त्री प्रचण्डले भेट दिँदा त्यहाँकाट हुने अनेकन अनियमितता घट्नुको सट्टा बढ्ने स्थिति छ । दर्ताको कर्मचारी सहसचिवले यसरी नियमित प्रधानमन्त्री भेटेर फर्केको धक्कु लाएपछि सचिव र मन्त्रीहरुको बोली कसले टेर्ने ?

क्यानले नागरिक उड्डयन दिवसका अवसरमा फ्लाइट सेफ्टीका इञ्चार्ज राजु श्रेष्ठलाई बेष्ट म्यान अफ दि इयर भनेर एक लाखको पुरस्कार दिएको थियो । तर, पुरस्कार पाएपछि उनी जागिर छाडेर अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन आइकाओमा काम गर्न गएका छन् । उनको ठाउँमा इञ्जिनियर मुकुल मिश्रलाई जिम्मेवारी दिइएको छ ।

राजु आफैंमा राम्रो मानिने व्यक्ति हुन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्यानलाई टुक्र्याउनुपर्छ भनेर लागेका थिए । त्यसबापत उनको बढुवा रोकेर करिअर नै बिगार्ने काम भयो । पछिल्लो समय प्रदीपलाई रिझाएपछि पुरस्कार पाएर लगत्तै देश छाडे । अर्का इञ्जिनियर रितेशराज पन्तलाई दुई ग्रेड थपको पुरस्कार दिइयो । तर, उनी सात दिनका लागि भनेर विदेश हिँडेका, १५ दिनदेखि त्यतै छन् ।

युरोपियन युनियनको कालोसूची हट्ला भन्ने आश मात्रै भयो, तर यस्ता घटनाक्रमले झन् कालोसूचीमा पर्ने खतरा बढेको छ । एमआरओ (मेन्टिनेन्स रिपेयर अर्गनाइजेशन) नामक मापदण्ड नपुगेको कम्पनीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय खोलेर जहाज मर्मतको अनुमति दिइएको अवस्थाले कालोसूचीको हुर्मत लिने पक्का छ भनिँदै छ । 

टिप्पणीहरू