महाकालीमा तुइन तर्दै डिआइजी

महाकालीमा तुइन तर्दै डिआइजी
सुन्नुहोस्

सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेले व्यास गाउँपालिका–२ दुम्लिङमा माघ ६ गते बिओपी भवनको शिलान्यास गरेका छन् ।

दार्चुला सदरमुकाम खलंगाबाट भारतीय बजार धारचुला हुँदै महाकाली नदीमा तुइन तरेर न्यौपाने सीमा सुरक्षा पोष्ट भवनको शिलान्यास गर्न त्यता पुगेका हुन् । धारचुलाबाट गर्वाधारसम्मको ४० किलोमिटर लामो सडकमार्ग भएर टोली दुम्लिङतर्फ गएको हो । 

माथिल्लो दुम्लिङ र तल्लो दुम्लिङ गाउँका वासिन्दाले सदरमुकाम खलंगा र व्यास गाउँपालिकाकै अन्य वडामा आवतजावत गर्न तुइन राख्दैआएका छन् । भारतीय सुरक्षाकर्मी एसएसबीले भने स्थानीयको तुइनलाई काट्ने (हटाउने) गरेको छ । भारत सरकारले दुम्लिङ जोड्ने गरी महाकालीमा झोलुंगे पुल निर्माणको सहमति दिएको छैन । 

६ गते बिहान ९ बजे खलंगाबाट गएको टोलीले दिउँसो १ बजे बीच बिओपी भवनको शिलान्यास गरेको सुरक्षा स्रोतले बतायो । दुम्लिङमा सशस्त्र प्रहरीको बिओपी भवन ७८ लाख रूपैयाँ लागतमा जगदम्बा निर्माण सेवाले बनाउँदैछ । आगामी असार महिनाभित्र भवन निर्माण सम्पन्न गरिसक्ने सम्झौता छ । बिओपी भवनमा ४ वटा कोठा र शौचालय हुनेछ । 

टोली शिलान्यास गरी त्यही दिन तुइनमार्फत फर्किएर भारतीय बाटो हुँदै छाङरुतर्फ गएको थियो । गत वर्षसम्म बिजुलीको तारमार्फत आवतजावत गरिए पनि यो वर्ष एउटा मान्छे अटाउने डिब्बा जोडेर तुइनमा आजतजावत भइरहेको दुम्लिङका स्थानीय महेन्द्रसिंह बुढाथोकीले बताउनुभयो । 

व्यास गाउँपालिकाको वडा नम्बर २ स्थित मालगाउँ जोड्नेगरी महाकालीमा झोलुंगे पुल बनाइएको छ । तर मालगाउँबाट दुम्लिङसम्म पुग्न कम्तिमा ४ घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता भएकोले दुम्लिङ आवतजावत गर्ने सबैजसोले तुइन प्रयोग गर्दछन् । अढाइ वर्षअघि मालगाउँको तुइन तर्नेक्रममा एसएसबीकै अगाडि स्थानीय जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए । 

व्यास गाउँपालिकाको उत्तरतर्फ वर्षभरि बसोबास हुने अन्तिम गाउँ दुम्लिङ हो । स्थानीयस्तरको सीमा समन्वय बैठकमा दुम्लिङ जोड्ने झोलुंगे पुल निर्माणबारे धेरै पटक छलफल भए पनि अहिलेसम्म भारत सरकारबाट सहमति प्राप्त भइसकेको छैन । केपी ओली नेतृत्वको सरकारले सञ्चालन गरेको तुइन मुक्त कार्यक्रमअन्तर्गत महाकालीमा पछिल्लो समय चार वटा झोलुंगेपुल निर्माण गरिएका छन् ।

लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको बाकु तथा व्यास गाउँपालिकाको मलघट्टे र मालमा झोलुंगेपुल निर्माण सम्पन्न भएर सञ्चालित छन् । व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङ र वडा नम्बर १ बुँदीक्षेत्र जोड्ने गरी झोलुंगेपुल निर्माणको आवश्यकता रहेको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । ‘यी दुई ठाउँमा पुल निर्माणका लागि पटक–पटक लिखित र मौखिक माग गरेका छौं तर सम्बोधन हुन सकेको छैन’ उहाँले भन्नुभयो । 

 

टिप्पणीहरू