सिआइबी अब त्यताबाट सर्दै
देशमा हुने ठुल्ठूला प्रकृतिका आपराधिक विषयको अनुसन्धान गर्ने निकायका रुपमा चर्चित केन्द्रीय अनुसन्धान ब्युरो अब महाराजगञ्जबाट लाजिम्पाट सर्ने भएको छ ।
सिआइबी नेपाल प्रहरीका महानिरीक्षकको प्रत्यक्ष नियन्त्रणमा रहने अनुसन्धान निकाय हो । अहिले प्रहरी प्रशिक्षण प्रतिष्ठानको हाताभित्र एउटा कुना ओगटेर चलाइएको उक्त युनिटलाई होटल एम्बासडर र शंकरको बीचमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको भवनमा सारिन लागेको हो ।
माघ ९ गते मंगलबार बिहान पर्यटन मन्त्री सुदन किराँती र आइजिपी बसन्त कुँवरबीच यो विषयमा आधी घण्टासम्म कुराकानी भएको छ । उक्त जमिन नेपाल ट्रष्टको स्वामीत्वमा छ ।
ट्रष्ट गठन हुनुअघि तत्कालिन प्रधानमन्त्रीको ठाडो आदेशमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले भवन बनाएर आफ्नो कार्यालय स्थापना गरेको थियो । अब त्यही भवनलाई मर्मत गर्दै छिट्टै प्रहरीको सिआइबी त्यहाँ छिर्ने भएको छ । त्यसका लागि काम शुरु गरौं भन्दै मन्त्री भेट्न आइजी पुगेका हुन् ।
नेपाल ट्रष्टका जमिन र संरचना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको क्षेत्राधिकारमा पर्छ । उक्त जमिन तथा भवनलाई भाडामा दिनका लागि नेपाल ट्रष्टले निर्णय गरिसकेको छ जसअनुसार प्रहरीले महिनाको एक लाख ५० हजार भाडा तिर्नुपर्ने भएको छ ।
उता, काभ्रेको पनौतिमा प्रहरी तालिम केन्द्र बनाउने काम धमाधम अगाडि बढिरहेको छ । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जमिन नेपाली सेनाले राष्ट्रपतिको सवारीका निम्ति हेलिप्याडका रुपमा प्रयोग गर्ने पुरानो निर्णय बदर भएको छैन । तर, सेनालाई जमिन दिने सुरसार पनि छैन । ‘गनगन त गरिराख्छन्, तर हामी छोड्नेवाला छैनौं’, एक प्रहरी अधिकारीले बताए ।
नेपाली श्रीमान् अन्तर्राष्ट्रिय अदालतमा
नेपालका निम्ति खुशीको कुरा छ, अन्तर्राष्ट्रिय अदालतमा पहिलोचोटि नेपाली अनुहार झुल्किने सम्भावना प्रवल हुनु । सर्वोच्च अदालतका वरिष्ठम् न्यायाधीश डा. आनन्दमोहन भट्टराई यतिबेला केही न्यायाधीशमाथिको कारवाहीसम्बन्धी रिपोर्ट न्यायपरिषद्लाई बुझाएर फिलिपिन्सबाट अमेरिका पुग्दै छन् ।
कारण हो, दक्षिण एसियाली देशका तर्फबाट इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) का लागि उनी सर्ट लिष्टिङमा पर्नु । यदि, भारत र बंगलादेशलाई पछि पार्दै यही महिना उनको दावेदारी अनुमोदन भयो भने हेगमा अवस्थित उक्त अदालतमा पहिलो नेपाली अनुहार चम्किने पक्का छ ।
टिप्पणीहरू