जेमा पनि स्वाङ, के ले टाल्ने भ्वाङ
विश्वकै पहिलो पर्वतीय पर्यटनसम्बन्धी शिक्षण हुने कलेज मास्न संस्कृति, पर्यटनमन्त्री सुदन किराती नै सक्रिय रहेको आरोप छ । लाक्पाफुटी शेर्पा कार्यकारी निर्देशक हुँदा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर विश्वमै पहिलो पर्वतीय पर्यटनसम्बन्धी पठन पाठन शुरुवात गरेको थियो नेपाल माउण्टेन एकेडेमीले ।
यो शिक्षण संस्थासँग विश्वका विभिन्न १० वटा विश्वविद्यालयले समेत एमओयू गरेका थिए । कुनै समय टे«किङ गाइडको मात्र तालिम दिँदै आएको यो प्रतिष्ठानमा लाक्पाफुटी कार्यकारी निर्देशक र प्रिन्सिपल हुँदा स्नातक र स्नातकोत्तर तहमा पर्वतीय पर्यटनको पढाइ शुरु हुन थाल्यो । योगेश भट्टराई मन्त्री हुँदा यी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
त्यस समय पर्वतीय पर्यटन अध्ययनमा विद्यार्थीको आकर्षण यति धेरै थियो कि, ३५ जनाको कोटा रहेको चार सेमेस्टरको मास्टर्स कोर्स पढ्ने विद्यार्थी ३५ जना थिए भने ८ सेमेस्टरको ब्याचलर कार्यक्रममा २८ जना रहे । तर, अहिले विद्यार्थीको खडेरी लागेको छ । मास्टर्सतर्फ दुई पटकसम्म भर्ना खुलाउँदासमेत एक जना विद्यार्थीले आवेदन दिएका छैनन् । छुट्टै उद्देश्यले स्थापना भएको न्याथममा नेपाल माउण्टेन एकेडेमीलाई गाभ्न खोजेपछि विद्यार्थीको खडेरी लागेको बताइन्छ । न मार्केटिङ प्लान, न त विद्यार्थीलाई इन्करेज, उल्टै मर्जको हल्लाका कारण विद्यार्थी त्यता जान छाडेको केही विद्यार्थीले बताएका छन् ।
मन्त्री किरातीले सहसचिवको सेवा–सुविधा पाउने गरी त्यहाँको कार्यकारी निर्देशकमा अर्जुन राईलाई खटाएका छन् । ज्ञानेश्वरप्रसाद सिंह महतोलाई गलहत्याएर शिवप्रसाद जैसीलाई प्रमुख बनाइएको छ ।टंक पौडेललाई सहायक क्याम्पस प्रमुख तथा एमएटीएस कार्यक्रम को–अर्डिनेटरको जिम्मेवारी दिइएको छ । क्याम्पस प्रमुख जैसी पर्यटनसँग सम्बन्धित होइनन्, कविता लेख्न सिपालु छन् ।
केही विद्यार्थीले टंक पौडेलमाथि थेसिसबापत घुस माग्ने गरेको क्याम्पस प्रमुखकहाँ प्रमाण पु¥याएका थिए तर कुनै कारवाही भएन । अनिल भण्डारीलाई एमएसस्सी, एमएमएसको कोअर्डिनेटर बनाइएको छ भने करारका आलोक खतिवडालाई एकाउण्टेण्ट । त्यहाँ आर्थिक अनियमितता चुलिएको उजुरी अख्तियारसम्मै पुगेको छ । लाक्पाफुटी कार्यकारी हुँदा ५ करोडभन्दा बढीको बैंक ब्यालेन्स १ करोडमा झरेको छ ।
विद्यार्थी ८० जना छैनन्, पढाउने शिक्षक ११८ जनाको लाइन छ । पढाउनकै लागि इराकी र बेलायती नागरिक इनवाल र बेरोज मुकादेशीलाई नियुक्त गरिएको छ । उनीहरूको शैक्षिक योग्यता स्नातक तहको मात्र देखिन्छ तर पढाउँछन्, स्नातकोत्तर तहलाई । उनै टंक बिएमएस पहिलो ब्याचका विद्यार्थीले प्रस्तुत गरेको पेपर बोकेर मोन्टाना स्टेट युनिभर्सिटीमा पेपर प्रिजेन्ट गर्न उड्ने तरखर गर्दै छन् । आफ्नै प्रिपमा रहेका हिमाल पण्डितलाई कलेजको प्रशासन हेर्ने जिम्मेवारी दिइएको छ । उनैको थेसिसलाई कार्यपत्रका रुपमा प्रस्तुत गर्ने गरी टंक अमेरिकातिर निस्कन लागेका हुन् ।
यही व्यवस्थापनका कारण सोलुखुम्बुको गार्मामा २७ सय रोपनी क्षेत्रफलमा फैलिएको भव्य संरचनासमेत प्रयोगविहीन बन्न पुगेको आरोप छ । उक्त ठाउँ हेर्ने गरी इञ्जिनियर भक्तराज जैसीलाई जिम्मेवारी दिइएको भए पनि उनी काठमाडौंमै बसेर पुस्तकालयको काम गरिरहेका छन् ।
टिप्पणीहरू