पूर्वराजाले उनको कुरा सुनेपछि...

पूर्वराजाले उनको कुरा सुनेपछि...
सुन्नुहोस्

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधि मतदाता रहने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले १९ वटै सिट जितेर ‘क्लिन स्विप’ गर्ने स्वभाविक अनुमान थियो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायत दलहरू एक ठाउँमा रहेकाले परिणाम उनीहरूकै पक्षमा आउने प्रष्ट गणितलाई आधार मानेर गरिएका आकलन कोशी प्रदेशमा भने गलत ठहरियो ।

कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पा कार्की भने पराजित भइन् । कोशीमा सत्ता गठबन्धनविरुद्ध एमाले र राप्रपाले पनि तालमेल गरेका थिए । शुरुमा आ–आफ्नै उम्मेदवार उठाएका एमाले र राप्रपाले मतदानको अघिल्लो दिन एक–अर्कालाई सघाएर जाने सहमति गरे पनि नतिजा त्यसअनुसार आएन । एमाले उम्मेदवार रुक्मिणी कोइरालाको पक्षमा परिणाम आउँदा राप्रपा उम्मेदवार उद्धव पौडेल भने पराजित भए । गठबन्धनका एक उम्मेदवारको जित र अर्काको हारले दुबैतर्फ भोट क्रस भएकोमा त आशंका नै रहेन तर त्यसमा भूमिका खेल्ने पात्र र प्रवृत्ति भने खुलिसकेको छैन । 

कोशीको परिणामलाई लिएर सत्ता गठबन्धनका दलबीच अविश्वास बढेको र एमाले–राप्रपा सम्बन्धमा दरार आएको चर्चा भइरहँदा पर्दा पछाडिको एउटा डरलाग्दो रहस्यसमेत खुलासा भएको छ । भरपर्दो स्रोतले बताएअनुसार भारतको रोजाइका पात्र भनेर चर्चा गरिएका सिटौलालाई जिताउन खुफिया एजेन्सी ‘र’ का प्रतिनिधिले मतदानको अघिल्लो दिन उद्धव पौडेललाई दबाब दिएपछि परिणाम उल्टिएको हो । उद्धवलाई हराउन दक्षिणको दबाब आएकोबारे थप पुष्टि गर्दा राप्रपा स्रोतले पनि स्वीकार गरेको छ ।

एमाले अध्यक्ष केपी ओली र भारतबीच बिग्रेको सम्बन्ध सुधार्ने योजनाअनुरूप यस्तो खेल रचिएको दाबी गर्दै स्रोतले भन्यो, ‘दक्षिणले एमाले र कांग्रेसलाई मिलाइदियो, त्यसैले उनीहरूका उम्मेदवारले जिते, हाम्राले हारे ।’ यसबारे थप प्रष्टता खोज्दा स्रोत भन्छ, ‘उद्धवलाई दबाब दिएको भन्ने सुनिएको हो । अब हैन भने उनले नै खण्डन गरे भैहाल्यो नि !’ त्यसो त, गठबन्धनको मत सर्लक्क आफ्ना उम्मेदवारको पक्षमा खसेको भए एमाले र राप्रपा मिल्दा पनि जितको सम्भावना थिएन कोशीमा । किनभने गठबन्धनसँग ४७ सांसद हुँदा एमाले–राप्रपाका ४६ थिए । स्थानीय तहमा पनि गठबन्धनकै मत धेरै थियो । तर, माओवादीकी कार्कीलाई प्रदेश सभाका ४४ सांसदले मात्र मत दिए भने १५ प्रमुख÷उपप्रमुखले भोट क्रस गरे ।

राप्रपा स्रोतका अनुसार मतदानको अघिल्लो दिन नै कांग्रेसका ३ सांसद र केही गाउँपालिका अध्यक्षले उद्धवलाई भोट हाल्ने गरी भित्री सहमति भएको थियो । उक्त सहमतिले सिटौला पराजित हुने भएपछि एमालेलाई प्रभावमा पारेर भोट क्रस गराइएको स्रोतको दाबी छ । प्रदेशतर्फ सत्ता गठबन्धनको ४७ मत रहेकोमा सिटौलाले ४५ भोट मात्र पाएकाले पनि एमालेबाट गडबडी भएको पुष्टि हुन्छ । स्थानीय तहतर्फबाट एमालेका प्रमुख, उप–प्रमुखहरूले पनि फ्लोर क्रस गर्दै सिटौलालाई मत दिएका थिए ।

नेपालस्थित ‘र’का प्रतिनिधिले उद्धवलाई अर्को भूमिकामा ‘सेट’ गराउने आश्वासन दिएको बताइएको छ । चुनावी मैदानमा उत्रिएको उम्मेदवारले अन्तिम अवस्थामा यस्तो प्रस्ताव सहजै स्वीकार गरे होलान् त ? भन्ने जिज्ञासामा समाचार स्रोत कटाक्ष गर्दै भन्छ, ‘चलचित्र क्षेत्रका मान्छे, कुनै अर्को रोल दिन्छु भनेपछि हृदय परिवर्तन भयो होला भनेर बुझौँ न !’ कोशीमा सबैले छोडेको सभामुख खाँदा आन्तरिक विवादमा फसेको राप्रपा राष्ट्रियसभा चुनावको चोट बोकेर अब सरकारमा जाने सम्भावना समाप्त भएको भनिँदै छ ।

यसअघि कोशीमा २ मन्त्रालय लिएर सरकारमा जाने र मौका मिले केन्द्रमा पनि सत्तारुढ हुने तयारीमा रहेको चर्चा थियो । अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहसँगको पछिल्लो भेटमा पनि सरकारमा नजाने बचनवद्धता गरिसकेका छन् । बुटवलमा अघिल्लो महिना पूर्वराजासँगको भेटमा उनले भनेका थिए, ‘साथीहरूलाई भनिसकेँ सरकारको अगाडि पनि भन्छु– म सरकारमा जान्न ।’ त्यसो भन्दा ज्ञानेन्द्रले मौन स्वीकृति जनाउँदै टाउको हल्लाएको बताइन्छ ।

टिप्पणीहरू