यो भिआइपी चढ्ने गाडी कसको ?
पारदर्शिताको कुरा गरेर नथाक्ने नेताहरूले नै अपारदर्शी काम गर्दै हिँड्न त नमिल्नुपर्ने हो । यदि, यसो गर्न मिल्दैन भने अति विशिष्ट र विशिष्ट मानिएका पूर्वप्रधानमन्त्री, मन्त्रीलगायतकालाई कहाँ र कुन स्रोतबाट आउँछ स्वाद फेरी फेरी ब्राण्डेड गाडी चढ्ने पैसा ? सरकारी अभिलेखअनुसार गृहबाट ६ जना पूर्वविशिष्ट पदाधिकारीले ७ वटा सवारी सुविधा लिएको देखिन्छ ।
पूर्वराष्ट्रपतिले २ वटा, पूर्वउपराष्ट्रपतिले १ र पूर्वप्रधानसहित गरी ४ जना पूर्वविशिष्ट पदाधिकारीले गृहबाट ७ वटा सवारी–सुविधा लिएका छन् । ०६३ यता मात्र २ जना राष्ट्रपति, २ उपराष्ट्रपति, ७ पूर्वप्रधानमन्त्री भएमध्ये सुशील कोइराला बित्नुभयो । ‘बिग ६’ भित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभा अध्यक्षलगायत सम्माननीयहरू पर्छन् ।
यही बीचमा ‘किरा सरी’ मन्त्री भए तर गृहको रेकर्डअनुसार ६ जना पदाधिकारीले मात्र ७ वटा सवारी सुविधा लिएको भेटिन्छ । गृहले जनआस्थालाई उपलब्ध गराएको विवरणअनुसार पूर्वराष्ट्रपति रामवरण यादवले टोयोटा प्राडो र टाटा जेनुइन पिकअप लगेर प्रयोग गरिरहनुभएको छ । बा १ झ १०६५ र बा २ झ ३७८५ नम्बरको गाडी उहाँसँग छ
यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई बा २ झ ८६ नम्बरको स्कोर्पिओ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई बा २ झ ११३ नम्बरको स्कोर्पिओ, डा. बाबुराम भट्टराईलाई पनि सोहीखाले गाडीको सुविधा दिँदा बा १ झ ६४९८ नम्बरको इसुजु जीप पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले फोर्ड जीप चढ्दै आउनुभएको छ ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले समेत गृहबाट बा १ झ ८१२२ नम्बरको इसुजु जीप चढ्दै आएका थिए । उक्त जीप गृहले खोसेको छ । यस्तै अमरेशकुमार सिंहले चढ्दै आएको गाडी सुविधा पनि गृहले खोसेको छ । गृहबाट ६ जना पूर्वविशिष्ट पदाधिकारीले मात्रै ७ वटा सवारी सुविधा लिएकोमा प्रश्न उठ्छ, के अरु पूर्वविशिष्ट तथा विशिष्ट पदाधिकारीचाहिँ आफैँ सम्पन्न हुन् ? कमाउनका लागि उनीहरूले व्यापार, व्यवसाय वा उद्योगधन्दा कलकारखाना चलाएका छन् ? होइन भने कहाँबाट आउँछ, करोडौं मूल्य पर्ने ब्राण्डेड गाडी चढ्ने पैसा ? गृहका अनुसार पूर्वराष्ट्रपतिका लागि मासिक २०७ लिटर इन्धन र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मासिक १५० लिटर इन्धन सुविधा दिइएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद सचिवालयबाट गाडी र इन्धन सुविधा लिइरहनुभएको छ ।
अन्य पूर्वविशिष्ट पदाधिकारीलाई कहाँबाट आउँछ सवारी मर्मत, इन्धन हाल्ने खर्च ? गाडी चढ्न, इन्धन हाल्नका लागि कि त त्यहीअनुसार कमाएको हुनुप¥यो वा अदृश्य लगानी हुनुप¥यो वा कुनै व्यापारीले प्रायोजन गरिदिएको हुनुप¥यो । पूर्वप्रधानमन्त्री केपी ओलीसँग ३–३ करोड मूल्यका २ वटा जीप छन् । गाडीको स्रोत के हो ? कुन निकायबाट गएको हो त्यो गाडी ? केही अघि मात्र उहाँले पूर्वराष्ट्रपतिलाई राज्यले केही चासो दिएन, के खाएर बस्यौ, के लगाएर बस्यौ भनेर खोजीनीति गरेन भन्दै चित्त दुखाइ र दुःखमनाउ गर्नुभएको थियो ।
यता, ३३ दिने गृहमन्त्री बनेका रवि लामिछानेले मापदण्डविपरीत पूर्वविशिष्ट व्यक्तिहरूले लिएको सुरक्षाकर्मी फिर्ता गराउने भने पनि त्यो कार्यान्वयन हुन सकेको देखिँदैन । सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ बमोजिम ५९ जना पूर्वविशिष्ट पदाधिकारीलाई नेपाल प्रहरीबाट ८६ जना व्यक्तिगत सुरक्षाकर्मी उपलब्ध गराइएको छ ।
यसरी पिएसओ लिनेमा पूर्वसभामुख कृष्णबहादुर महरादेखि पूर्वमन्त्री गगनकुमार थापा, पूर्वमन्त्री महेश बस्नेतसहित १७ जना छन् । अधिकांश पूर्वमन्त्रीले एक–एकजना पीएसओ लिँदा गगन थापाले दुई जना लिएको भेटिएको छ । उपेन्द्र यादव, ईश्वर पोखरेल, गिरिराजमणि पोखरेल, प्रभु साह, पार्वत गुरुङ, हृदयेश त्रिपाठी, लीलानाथ श्रेष्ठदेखि पूर्वसचिव महेश न्यौपाने, पूर्वआयुक्त गणेशराज जोशी, रघुवीर महासेठ, राजेन्द्र महतो, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र अमरेशकुमार सिंहसम्मले यस्तो सुविधा लिएको गृह स्रोतले जानकारी दिएको छ । पूर्वमन्त्री महेश बस्नेतले यही ३ मंसिरदेखि यस्तो सुविधा लिन थालेका छन् ।
टिप्पणीहरू