मासिक प्रतिवेदन बुझाउन महानगरको अनलाइन प्रणाली

मासिक प्रतिवेदन बुझाउन महानगरको अनलाइन प्रणाली

काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य संस्थाले अब उप्रान्त मासिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ । निजी अस्पताल, सामुदायिक अस्पताल, पोलिक्लिनिकलगायत दर्ता भएर सञ्चालनमा आएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने महानगरले जनाएको छ । 

यसका लागि महानगरले एकीकृत स्वास्थ्य व्यवस्थापन प्रणाली (आइएचएमआइएस) को युजर नेम र पासवर्ड उपलब्ध गराउन थालेको छ । त्यस्तै, महानगरको स्वास्थ्य विभागले प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । 

विभागका प्रमुख सजिना महर्जनका अनुसार यसअघि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) कार्यान्वयनमा थियो । त्यसलाई विकसित गर्दै यो प्रणाली कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिएन । 

‘यसरी बुझाइएको प्रतिवेदनबाट प्राप्त तथ्याङ्कबाट शहरमा मुख्य स्वास्थ्य समस्या र सेवा क्षमता थाहा हुनेछ । यो तथ्यका आधारमा नीति तर्जुमा र सेवा सुधारका योजना बनाउँदा वास्तविक हुन्छ’, उनले भनिन् । 

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले गत साउन ७ गते सबै स्थानीय पालिकालाई पत्राचार गर्दै मासिक प्रतिवेदन बुझाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

टिप्पणीहरू