देशभित्र र बाहिरका दुःख

देशभित्र र बाहिरका दुःख

कूटनीतिक मर्यादा, सम्बन्धको व्यवस्थापन र जनताको सुविधाभन्दा व्यक्तिहरूको रहर मुख्य विषय बनिदिँदा नेपालको कूटनीतिक परिचालन यसै पनि बदनाम छ । फेरि पनि दूतावासबिना नै राजदूत पठाउने काम भएको छ । 

पहिला स्पेबाट हेरिँदै आएको पोर्चुगलको निम्ति काठमाडौंबाट अलग्गै राजदूत खटाइयो सनिल नेपाललाई । तर, तिनी लिस्बन गएर कहाँ बस्ने, कहाँ खाने कुनै टुंगो छैन । अर्थात्, दूतावास छैन, राजदूत नियुक्त भइसके । स्पेनमै त नेपाली दूतावास चाहिन्छ कि चाहिँदैन भन्ने बहस चलिरहेको बेला फेरि ५०/६० हजार नेपालीको बसोबास भएको पोर्चुगलमा अर्को दूतावास खोलिनु खर्चका दृष्टिले ठूलो भार हो । त्यसमाथि पोर्चुगल भनेको त्यस्तो देश हो, जसलाई नेपालीले युरोप छिर्नका निम्ति ट्रान्जिटमात्रै बनाउने गर्दछन् ।

केही समय त्यहाँ बस्ने र इयुको आवासीय अनुमतिपत्र बनाउने मौका छोपेर रोमानिया, क्रोएसिया, जर्मन, बेलायतसहितका देशमा छिर्ने गरिन्छ । फेरि राजदूत र दूतावास भवनमात्रै भएर चल्दैन । त्यहाँ बजेट, फर्निसिंग, अन्य कर्मचारीको दरबन्दी, यातायात, चालक, उपसचिव, श्रम सहचारी चाहिन्छ । ती कुनै कुराको तयारी वा व्यवस्थापन छैन ।

अहिले त कम्तिमा जहाँका लागि नेपाली राजदूत पठाउने भनिएको छ, त्यहाँको सरकारसँग स्वीकृति लिएर पोष्टिङ गरियो । तर, तत्कालिन मुख्यसचिव भोजराज घिमिरेलाई त क्यानाडा सरकारसँग एक बचन सोधखोज पनि नगरी राजदूत बनाइएको थियो । 

अर्कातिर ‘ड्राइ पोष्टिङ’ का नाममा रोमानियामा पनि राजदूत चाहिन्छ भन्ने आवाज श्रम मन्त्रालयबाट उठाइँदैछ । प्रधानमन्त्रीले नै कतिपय नेपाली श्रमिक भएका मुलुकमा राजदूत नहुँदा समस्या भयो भन्दै त्यस्तो कुरा उठाएपछि रोमानियामा राजदूत भएर जाने इच्छा बोक्दै थुप्रै स्नातकोत्तरधारी नेपालीले दौडधुप गरिरहेका छन् ।

रोमानियाको बुखारेष्ट शहरका लागि तोकिएका एकजना अवैतनिक वाणिज्यदूतले आर्थिक बदमासी गरेपछि उनलाई भर्खरै हटाइएको छ । २०७५ सालमा नियुक्ति पाएका नेपालीमूलका रोमानियन नागरिक नवराज पोखरेलले करोडौं रकमको बदमासी गरेको परराष्ट्रको छानवीनबाट पत्ता लागेको थियो । 

उता, रुसी सेनामा नेपाली भर्तिको क्रम रोक्ने काम नेपाल सरकारको ल्याकतभन्दा बाहिर पुगेको छ । नेपालीहरू नेपालबाट सीधै रुस नजाने कारण त्यस्तो भएको हो । दुबईमा रहेका चार लाख नेपालीमध्ये एक लाख विभिन्न देशमा आकर्षक रकमको काम पाइएला भनी बसेका हुन्छन् । त्यस्ता मानिस भटाभट रुसी सेनामा गइरहेका छन् ।

यसअघि अफगानिस्तानमा पनि त्यस्तै भयो । तालिवानसँग युद्ध चर्किएको बेला थुप्रै नेपाली अफगान सेनामा भर्ति भई ज्यानसमेत गुमाउने अवस्थामा पुगे । पर्यटन भिसालाई कामदार भिसामा परिणत गर्ने सुविधा दुबईमा हुँदा नेपालीलाई त्यहाँबाट अन्यत्र जान सजिलो भएको हो । 

 

टिप्पणीहरू