मातृभाषा, शिक्षा र मधेश

मातृभाषा, शिक्षा र मधेश
सुन्नुहोस्

भनिन्छ मातृभाषा मानिसको निम्ति सबथोक हो । जीवन संघर्षको दुनियाँमा मातृभाषाको भूमिका अहम् हुन्छ । भाषा भनेकै विचार मन्थन गर्ने यन्त्र हो । विचार तब नै जन्मन्छन् जब आफ्नो भाषामा बोल्न, लेख्न र पढ्न पाइन्छन् । मातृभाषा र स्थानीय विषय शिक्षालाई बेवास्ता गर्ने हाम्रो शिक्षा प्रणालीले राष्ट्रिय पाठ्यक्रमले तोकिएको उद्देश्य अनुरुपको नेपाली मौलिक, कला, संस्कृति र सौन्दर्य बुझेको नागरिक तयार होला ? 

बालबालिकाको मस्तिष्कमा पश्चिमा संस्कृति र बाहिरी आडम्बरी शिक्षा हुलेर यो सम्भव छैन । निजी विद्यालयले २५ के.जी वजनको बच्चालाई १० केजीको झोला बोकाइरहेका छन् । त्यो झोलाभित्र आमाको काखबाट सिकेको भाषाको न एउटा किताब हुन्छ, न त उसको गाउँ, परिवेश, समाज, इतिहास, संस्कृति र सभ्यता जोडिएको स्थानीय विषयको कुनै सन्दर्भ सामाग्री । 

विद्यार्थीलाई बच्चैदेखि अंग्रेजी घोकाएर अमेरिका र बेलायत उड्ने मनोविज्ञान विकास गराइएको छ । अनि १० कक्षा पुग्दा नपुग्दै आफ्नै बालबालिका परिवार नचिन्ने, समाज नबुझ्ने अर्कै मान्छे बन्छ । अहिले अमेरिकाको भिसा लाग्ने हो भने अधिकांश युवा स्वदेशमा बस्दैनन् । यसको लागि आफ्नो देशप्रतिको मोह हराएको जनशक्ति उत्पादन गर्ने हाम्रो शिक्षा प्रणाली मुख्य जिम्मेवार छ । यस्तो शिक्षाबाट भोलिका दिनमा हाम्रो गाउँ, समाज र नेपाल भन्ने देश बनाउने जनशक्ति तयार हुन्छ कि युरोप, अमेरिका बनाउने जनशक्ति ? 

नेपालको तथ्याङ्कमा देखिएका १२३ भाषामध्ये छ दर्जनभन्दा बढी भाषा आदीबासीले बचाइ राखेका छन् । यतिखेर मुलुकमा अंग्रेजी र नेपाली भाषाको हावी छ । त्यसैगरी कोरियन, जापानी र अन्य देशका भाषाप्रति युवाको मोह बढ्न थालेको छ । त्यो स्वाभाविक पनि हो । किनभने ती जीवनयापनसँग जोडिएका विषय हुन् ।

यसै सन्दर्भमा भारतमा अंग्रेजी भाषाको हावी हुँदा महात्मा गान्धीले भनेका थिए, ‘मातृभाषा भनेको आमाको दुध हो । बेलायती भाषा भनेको पाउडर दुध हो । आमाको दुधबाट जति बच्चा तन्दुरुस्त हुन्छ, त्यति पाउडर दूधबाट सम्भव छैन । पाउडर दुधले दक्ष र बलियो जनशक्ति निर्माणमा टेवा पुर्याउँदैन ।’

नेपालको दोस्रो भाषा मैथिली हो जुन भाषा मधेशका अधिकांश जनताले बोल्ने गर्दछन् । अहिले दिन प्रतिदिन मधेशका भाषाहरु (मैथली, भोजपुरी, अवधी) लगायत भाषाहरु लोप हुँदै गइरहेका छन् । त्यसलाई जोगाउने दायित्व सरकारको हुनुपर्छ । जबसम्म विद्यार्थीले आधारभूत शिक्षा आफ्नो मातृभाषामा पढिँदैन तबसम्म दक्ष हुँदैन । अहिले मधेशमा शिक्षास्तर विभिन्न प्रदेशभन्दा खस्किँदो अवस्थामा छ । 

त्यसको प्रमुख कारण मातृभाषामा पढाइ नहुनु हो । कमसेकम एउटा विषय पनि मातृभाषामा पढाइ भयो भने आउने दिनमा विद्यार्थीलाई पढाइप्रति रुची जाग्दैछन् । जब कि घरमा सिकेको एउटा भाषा ! र स्कूल जाँदा अर्को भाषामा पढाइ हुँदा विद्यार्थीलाई पहाड बोके भैंm अनुभूति हुन्छ । अनि विद्यार्थी अलमलमा परिन्छ । 

मधेशका कक्षा १० का अधिकांशविद्यार्थीलाई नेपाली भाषा राम्रोसँग बोल्न र लेख्न आउँदैन । त्यसैले मधेशमूलका विद्यार्थी आफ्नो मैथिली भाषामा विद्यालयमा पढाइ हुनुपर्ने माग राख्छन् । विद्यार्थीको परिवारमा बोलिने स्थानीय भाषा आफ्नो विद्यालयमा पढाइ हुने भएपनि उनीलाई केही रुची हुन्थ्यो होला । विद्यालयमा अन्तर्राष्ट्रिय भाषा अंग्रेजी र नेपाली सिक्नैपर्ने हुन्छ, अनिवार्य नै गरिएको छ । 

नर्सरीमा भर्ना भएका विद्यार्थीका लागि भाषाका रुपमा यी दुई भाषा सिक्न नै धेरै समय लाग्छ । विश्वमा प्रचलनमा रहेका जुनसुकै भाषा लेख्न वा बोल्नु राम्रो नै हो । यसले विद्यार्थीमा ज्ञानको भण्डार बढाउँछ र विश्वको जुनसुकै कुनामा गएपनि प्रयोग हुन सक्छ । तर आफ्नो मातृभाषा वा स्थानीय भाषा नै नजानेर अरु भाषा बोल्नुपर्दा आफ्नै भाषा लोप हुने डर रहन्छ । त्यसैलाई मध्यनजर गर्दै मधेशका केही विद्धानले पाठ्यक्रम अनुसार मैथिली भाषाका किताब लेखेका छन् । केही स्थानीय तहले मैथिली भाषामा पनि आधारभूत शिक्षा वा ५ कक्षासम्म १०० पूर्णाङ्क पढाइन्छ । 

पछिल्लो समय मधेशका आमनागरिकको यस क्षेत्रका विद्यालयमाथिको भरोसा क्षीण हुँदै गइरहेको छ । अभिभावकमा शिक्षणदेखि परीक्षासम्ममा सेटिङको नराम्रो छाप परेको छ । त्यसैले भन्ने गरेका छन्, ‘दरिद्र भयो स्कूल ! न शिक्षा दिन सक्यो न संस्कार ।’ त्यसकारण दिनहुँ मधेशका विद्यार्थी काठमाडौं, विराटनगर, चितवन र पोखराका साथै भारतका विभिन्न शहरमा पलायन भइरहेका छन् । 

उदाहरणका लागि आधुनिक राष्ट्रिय मा.वि., हेटौंडामा सत्तरी प्रतिशतको हाराहारीमा अस्थानीय अर्थात बाहिरका विद्यार्थी छन् । उक्त विद्यालयको कक्षा ८, ९ र १० मा एक हजार २८४ जना विद्यार्थीमध्ये ९२२ जना अर्थात् ७५ प्रतिशत विद्यार्थी मधेशका भएको प्रधानाध्यापक राम सागर गुरागाईं बताउँछन् । शिक्षा मुलुक र समाजका लागि हो । देश कस्तो बनाउने ? कस्तो समाज बनाउने ? स्कुल शिक्षाको मोडल सोही अनुरुपको हुनुपर्छ । तसर्थ स्कूलको मोडल निर्धारण गर्नुअघि देश र समाजको मोडेल तय गरिनुपर्छ । 

अन्तमा : प्रत्येक भाषाको आफ्नै विशेषता हुन्छ, जसलाई अर्को भाषाका आधारमा अथ्र्याउन गाह्रो छ । राजनीतिक भाषामा भन्ने गरिएको छ, दुनियाँमा कुनै पनि जात, समुदायमाथि शासन गर्नु छ भने सबभन्दा पहिला उसको मुख्य भाषा खोसिहाल्नु । मधेशको शिक्षास्तरलाई सुधार्नु छ भने मधेशका विभिन्न संवैधानिक अंगहरु मधेश लोकसेवा आयोग, शिक्षक सेवा आयोगमा अनिवार्य मातृभाषामा परीक्षा लिने परिपाटीको व्यवस्था तत्काल गरियोस् । मातृभूमि, आमा र मातृभाषा भन्दा ठूलो संसारमा केही हुँदैन ।

टिप्पणीहरू