नेता कमरेडको यतिसम्म बिग्रिएछ नियत

ऐन महर र सिराज अहमद खोसिनुको खास अन्तर्य

नेता कमरेडको यतिसम्म बिग्रिएछ नियत
सुन्नुहोस्

नदिइकनै स्वीकृत हुने कस्तो राजीनामा थियो त्यो, जुन माइन्युटमा समेत लेखियो । यसरी दिनुपर्नेले नदिइकन राजीनामा स्वीकृत गर्ने पार्टीका रुपमा दर्ज हुन पुगेको छ, एमाले ।

चारित्रिक र आर्थिक मामिलामा केही नेताको आपत्तिजनक संलग्नतापछि विभिन्न किसिमको रमिताकाबीच युवा नेता ऐन महरको हकमा हो, नलेखिकनै राजीनामा स्वीकृत भएको । बझाङको बुङ्गल नगरपालिका– २ का नेता अर्जुन धामीकी छोरी तथा वडा नं. १ का एमाले कार्यकर्ता अमर बोहोराकी पत्नी रश्मिलासँगको आपत्तिजनक सम्बन्धलाई लिएर पार्टीदेखि परिवारसम्म किचलोमा परेका ऐनलाई राजीनामा दिन भनिएको थियो । निर्देशनबमोजिम काम गरेनन् तर, केन्द्रीय सचिवालयको माइन्युटमा भने उनको राजीनामा स्वीकृत भएको व्यहोरा लेखियो । 

अखिलको अध्यक्ष भइसकेपछि चुनावकेन्द्रित गतिविधि गर्न गत वर्ष सुदूरपश्चिमस्थित गृह जिल्ला बझाङ पुगेका ऐनले अर्काकी पत्नीमाथि आँखा मात्रै लगाएनन्, जेठी पत्नी त्यागेर उनीसँग विवाह नै गर्ने बाचासमेत दोहोर्‍याए ​​​ । बाबु समानका समाजवादी नेता भानुभक्त जोशीलाई हराउन काठमाडौंबाट पार्टी अध्यक्षले ‘जितेर आइज’ भन्दै टिकट दिएर पठाउनुभयो ।

तर, अर्को विवाह गर्ने धन्दामा लागेपछि न चुनाव जिते, न युवतीसँग विवाह नै भयो । बरु, त्यही कारण राजनीतिक जीवन नै धरापमा परेको छ । पटक–पटक अन्तरंग सम्बन्ध राखेपछि महर टाढिन खोजे । ऐनले धोका दिन थालेपछि आफ्नो जीवनमाथि खेलबाड भएको भन्दै रश्मिला विभिन्न ठाउँमा पुगिन् । यसपछि बल्ल उनीहरुको सम्बन्धबारे चर्चा हुन थालेको हो ।

ऐनले काठमाडौंको नेवार समुदायकी चेलीसँग विवाह गरेका छन् । स्नातकोत्तर गरेकी महरपत्नी विभिन्न कलेजमा पढाउँछिन् । रश्मिलासँगको सम्बन्धबारे बजारमा गाइँगुइँ हुन थालेपछि ऐनले भाइसहितका ‘केटाहरुको’ जत्था बनाएर धम्क्याउने, तर्साउने काम थाले । त्यसपछि महिलाले ऐनसँगको दुई घण्टा ३७ मीनेट १७ लामो अडियो सार्वजनिक गरिदिइन् । त्यो अडियो अध्यक्ष ओलीको घरसम्मै पुग्यो, उहाँले सुन्नुभयो र ऐनसँग रिसाउनुभयो । अध्यक्ष नै रिसाएपछि पार्टीबाट कारवाही हुने नै भयो । नत्र, त्यसअघिसम्म केन्द्रदेखि जिल्लासम्म राम्रै दादागिरी चल्ने गरेको थियो । उनले अघिल्लो जिल्ला अधिवेशन नै कब्जा गरेर आफूअनुकूलका युवाहरुलाई निर्वाचित भएको घोषणा गरेका थिए । अहिले पनि जिल्ला अधिवेशन कब्जै गर्ने तरिकाले अगाडि बढेका थिए । तर, विवादकै कारण स्थगित छ । 

एमाले सचिवालय बैठकमा चर्चाको अर्का पात्र थिए, सिराज अहमद फारुकी । उनी पनि ऐनसँगै केन्द्रीय सदस्यबाट निश्कासनमा परेका छन् । काण्ड हो, ठगीको । उनले गत वर्ष जसपाबाट एमाले पसेकी सर्लाहीकी पूर्वसांसद रुही नाजलाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाइदिन्छु भन्दै १५ लाख रुपैयाँ लिएका थिए । तर, न सांसद बनाए, न पैसा फिर्ता गरे । समानुपातिकतर्फ एमालेले मुस्लिम कोटामा एक सीटमात्रै पायो । रुहीको नाम पनि मुस्लिम महिलातर्फ पहिलो नम्बरमै थियो ।

तर, पार्टी केन्द्रीय सदस्य पनि भएको कारण उक्त एक सीटमा सिराज आफैं सांसद भए । रुहीका श्रीमान् एमालेको तर्फबाट सर्लाहीमा वडाध्यक्ष छन् । उनले रुहीसँग पैसा माग्दा भनेका थिए, ‘हाम्रो पार्टीमा चलनै कस्तो छ भने, अध्यक्ष र महासचिवहरुले केही भन्नुहुन्न । भन्नुपर्ने कुरा हामीलाई भन्न लगाउनुहुन्छ । हामीले जम्मा गरेर दिने हो ।’ भर्खरै एमाले प्रवेश गरेकी उनलाई लाग्यो, ‘साँच्चै नै होला ।’ प्रत्यक्षतर्फ चुनाव उठ्नुपर्‍यो   भने तराईंमा कम्तिमा दुईदेखि तीन करोड खर्च  गर्नुपर्ने हुन्छ । समानुपातिकमा १५ लाख तिरेर हुने भए त्यो मौका किन गुमाउने ? भन्दै रुहीले पैसा दिएकी हुन् । 

सांसद बनाउनु त कता कता सिराजले लामो समयसम्म पैसा पनि फिर्ता नगरेपछि रुही पुगिन् बालकोट । उनको कुरा सुनेर ओली छक्क पर्नुभयो । भन्नुभयो, ‘हाम्रो पार्टीमा कहाँ यस्तो हुन्छ ? तपाईंलाई ठगेछन् ।’ पछि ओलीले सिराजलाई बोलाएर सोध्नुभयो । शुरुमा त होइन भनेर टारे । ओली निकै रिसाएपछि बल्ल कुरा खोले, छोरालाई दिल्ली पठाउनुपर्ने, पैसा नभएर सापटी लिएको भन्दै । ‘सापटी लिएपछि तिर्नुपर्दैन त ?’ ओली यसो भन्दै रिसाउनुभयो । पार्टी अध्यक्ष रिसाउँदासम्म पनि सिराजले पैसा फिर्ता गरेनन् । त्यसपछि रुही प्रहरीकहाँ ठगीको जाहेरी लिएर पुगिन् । प्रहरीले सिराजलाई बोलाएर सोध्यो । पैसा फिर्ता गर्ने भए जाहेरी दर्ता नगर्ने भन्यो । त्यसपछि उनले चार–पाँच पटक गरेर साट्न मिल्ने गरी फरक फरक मितिका चेक दिए । पैसा पनि साटियो । 

सिराजको बदमासी यतिमा मात्रै सिमित छैन । अर्को ठगी गरे, वीरगञ्ज पुगेर । त्यहाँका सांसद राजकुमार गुप्ताको पिए भनेर आफ्नो र सप्तरीका अर्का युवाको नाम लेख्दै विदेश जाने चक्करमा लागे । त्यो कुरा राजकुमारका पिएसओले देखिरहेका थिए । उनले राजकुमारलाई फोन गरेर भनिदिए, ‘यहाँ त हजुरको पिए भनेर अर्कै मान्छेको नाम लेखिरहेको छ ।’ यिनै काण्डमा परेर सिराजले पार्टी जिम्मेवारी गुमाएका हुन् । 

ओली चेत र हविगत

अहिले पनि अमरेश सिंहले भन्ने गर्छन्, ‘म र कृष्ण सिटौला पहिला एउटै गुटमा थियौं, हाम्रो टोली नेताचाहिँ केपी ओली ! हाम्रो काम थियो, भारतले जे–जे भन्यो, त्यही मान्नुपर्ने !’नेपालको राजनीतिक रंगमञ्चमा यो कालखण्ड थियो, २०६६–०६७ ताका, जतिबेला माधवकुमार नेपाल प्रधानमन्त्री हुनुहुुन्थ्यो भने विद्या भण्डारी रक्षा मन्त्री । उहाँले पनि भन्ने गर्नुहुन्थ्यो, ‘भारत हाम्रो मुठ्ठीमा छ किनकि यो भारतले बनाइदिएको सरकार हो ।’

यस्तोखाले राजनीतिक चेत बोकेका झुण्डबाट अगाडि बढ्दै दुई–दुई पटक देशको प्रधानमन्त्री भइसक्नुभएका केपी ओलीले बल्ल बुझ्नुभएको छ– यस्तो राजनीतिक चेत र चरित्रले कहाँ पुर्‍याउँदो रहेछ ! शुक्रबार पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा उहाँले भन्नुभयो, ‘हामी प्रतिपक्षी हौं, तर न सडकमा, न सदनमा कतै पनि प्रतिपक्षीय भूमिका भएन ।’ पार्टीदेखि संसदसम्म ‘भक्तजन’ जम्मा पारेपछि उनीहरु ‘पूजापाठ’ मा नै व्यस्त हुने भए । जनताको बीचमा कोही नजाने नै भए ।

जो पार्टी, संगठन र राजनीति भनेर लागेका छन्, उनीहरु भूमिकाबाहिर छन् । तिनीहरु कुन परिचयले जनतामा जाने ? अहिले एमाले यही स्थिति भएको उक्त पार्टीका नेताहरु बताउँछन् ।ओलीले ‘पार्टीभित्र गन्हाएर डुङडुङ्ती छ, धान्न गाह्रो छ’ भन्दै मनको भडास पोख्नुभएको छ । तर, मैले गल्ती गरेँ भन्नुभएको छैन । 
 
 

टिप्पणीहरू