कमरेडबीच यता पनि मिलेन कुरा

कमरेडबीच यता पनि मिलेन कुरा

‘मन नपरेपछि मुखै अमिलो’ भनेजस्तो ‘आउँछु, गर्छु’ भन्दाभन्दै एमाले अध्यक्ष केपी ओलीले नमानेपछि पेशागत जिल्ला कमिटीका नेताहरू चित्त दुखाउँदै अधिवेशनमा जुटे । 

एमालेमा अहिले पनि एउटा त्यस्तो क्षेत्र वा कमिटी छ, जहाँ पार्टी फुटाएर माधव नेपालहरू बाहिरिँदासमेत पूर्व माधव नेपाल पक्षकै बहुमत छ । त्यो हो, कर्मचारीसहितका विभिन्न पेशाकर्मीलाई संगठित गर्ने अर्धभूमिगत संरचनाको उपत्यका पेशागत जिल्ला कमिटी । त्यसको अधिवेशन गत शनिवार च्यासलमा शुरु भई सोमबार बागबजारमा सम्पन्न भयो । र, माधव नेपालपक्षका पुराना मान्छे हावी भए ।

पहिला अध्यक्ष ओलीले उद्घाटन गर्ने भन्ने प्रचार थियो । त्यही दिन उहाँ उत्तरी काठमाडौंको धाप ड्यामतिर पत्नी राधिकासहित घुमफिरमा निस्कनुभयो । र, उद्घाटनमा भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाइदिनुभयो । ईश्वरसहित महासचिव शंकर र शंकरपत्नी सुजिता पनि कार्यक्रममा देखिए । सुजिताचाहिँ उक्त फाँटकी इञ्चार्ज पनि हुन् । अन्तिममा ओली नजानुको कारण हो, आयोजक कमिटीका अध्यक्ष प्रेम पराजुली उहाँलाई मन नपर्नु ।

उनी पार्टीभित्र लामो समय माधव नेपाल समूहका भनी चिनिन्थे, त्यसैले ओलीलाई मन परेन । त्यसमाथि अध्यक्ष बनाइन लागेका मोहन पराजुली तिनैका भाइ । ओलीले ‘अर्कैलाई बनाउनु’ भन्नुभयो, तर ‘सकिँदैन’ भनेबापत उद्घाटन गर्ने भनी पक्कापक्की गरिएको अधिवेशनमै जानुभएन । च्यासलमा शनिबार नै शुरु भएको बन्दसत्रमा अध्यक्ष मोहनसहित उपाध्यक्षमा सर्वसम्मत भयो ।

तर, सचिव र उपसचिवमा राति २ बजेसम्म पनि कुरा मिलेन । निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले सचिवमा जिबी (गंगाबहादुर) सुनुवारलाई बनाउने भए बनाउनु, नत्र आर्थिक रुपमा जिल्ला कमिटी चलाउन मबाट सहयोग हुन्न भनी अड्को थापेको र बालकोटले चाहिँ अध्यक्ष सकिँदैन भने सचिवचाहिँ यताको मान्छे बनाउनु भन्दै झापाकी अधिवक्ता कुमारी खरेलको नाम दिएको बताइन्छ ।

लेखनाथले भनेको नमान्न भएन, त्यसमाथि पार्टी अध्यक्षको च्यानलबाट आएको नाम कसरी काट्ने ? यो चेपुवामा परेपछि शनिबार मध्यरात अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएको घोषणा गर्दै अन्य पदका हकमा सोमबार बागबजारस्थित होटल हार्दिकमा छलफल गर्ने भनी अधिवेशन समापन भयो । हार्दिक पुग्दा अरु त कुरा मिल्यो, सचिव र उपसचिवमा जति गरे पनि सर्वसम्मत गराउनै नसकिने भयो ।

सचिवका लागि प्रस्तावित गंगा सिभिल अस्पतालका लेखापाल लेखनाथजस्तै शिक्षा मन्त्रालयतर्फ लेखा समूहका कर्मचारी हुन् । उपसचिवका निम्ति नेपाल बैंक कर्मचारी संघका अध्यक्ष नवराज लम्सालको दाबी थियो । तर, कृषि विकास बैंकबाट अवकाश पाएका सन्तोष उपनाम लेख्ने शालिग्राम ढकाललाई बनाउने कुरा थियो । यसरी तीन सय १५ प्रतिनिधिका बीच सचिव र उपसचिवमा सोमबार चुनाव हुँदा राति ११ बजे ७० का विरुद्ध ९४ मत ल्याएर गंगा सचिवमा र उपसचिवमा नवराजले जितेका छन् ।  

अर्कातिर, मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचारमा अख्तियारले दोषी ठहर गरेको सूचीमा परेका घनश्याम भट्टराई एमालेको विशेष इलाका कमिटीका सदस्य हुन् ।

 

टिप्पणीहरू