अष्ट्रेलियाको नेपाली समुदाय एकपछि अर्को पीडामा

अष्ट्रेलियाको नेपाली समुदाय एकपछि अर्को पीडामा

उच्च अध्ययनका लागि नेपाली युवापुस्ताको आकर्षणको गन्तव्यमध्येको एक बनेको छ, अष्ट्रेलिया । वर्षेनी हजारौं नेपाली युवा अष्ट्रेलिया गइरहेका छन् । माध्यमिक शिक्षा अध्ययन गर्ने क्रममा अष्ट्रेलिया छिर्ने सपना देखेका नेपाली विद्यार्थीहरुमध्ये धेरैले अनेक दुःख भोग्नुपरेका खबर बाहिरिएका छन् ।

विभिन्न समस्याका कारण मानसिक रोगको शिकार बनिरहेका विद्यार्थीहरुले आत्महत्याको बाटोसमेत रोजेको पाइन्छ । पछिल्लो समय केही दिनको अन्तरालमा अष्ट्रेलियामा आधा दर्जन मृत्युका घटना भएको छ । आत्महत्यादेखि डिप्रेशन, समुद्रमा डुब्नु, करेन्ट लाग्नुलगायत मृत्युको कारण बनेको छ । अधिकांश मृतक २० वर्ष उमेका छन् । 

नेपालीले ज्यान गुमाएको अप्रिय घटना बढ्न थालेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले चिन्ता व्यक्त गरेको छ । ती घटनालाई गम्भीरताका साथ हेर्न आवश्यक रहेको एनआरएनएको भनाइ छ । 

अध्यक्ष अनिल पोखरेलले यस्ता घटना न्यूनीकरणका लागि विद्यार्थीहरुमा जागरुकता बढाउनुपर्ने र मानसिक रुपमा स्वस्थ रहन पहल गर्नुपर्ने बताएका छन् । विदेश पठाएपछि आफ्नो जिम्मेवारी समाप्त भएको सोच्ने अभिभावक र आफन्तको धारणा गलत रहेको उनको भनाइ छ । विदेश पुगेपछि पनि आफ्ना सन्तानको परिस्थितिलाई नजिकबाट नियाल्न उनले आग्रह गरेका छन् । 

‘विदेश पठाएपछि हाम्रो जिम्मेवारी समाप्त हुन्छ भनि सोच्नुको सट्टा स्वदेश फर्केका परिवारहरुले परिस्थितिलाई नजिकबाट नियाल्नुपर्छ र आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रहनुपर्छ’, विज्ञप्तिमा भनिएको छ । उनले विद्यार्थीका आमाबाबु र अभिभावकहरुलाई एनआरएनए सीमित स्रोत भएको स्वयंसेवकहरु र सामान्य परिस्थितिहरु ह्यान्डल गर्न मुश्किलले स्थापित संयन्त्र रहेको ढंगले बुझिदिन आग्रह गरेका छन् ।

विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्नुअघि स्वदेश फिर्ता गर्ने अनिवार्य बीमाको व्यवस्था गर्न अष्ट्रेलियास्थित नेपाली राजदूतावाससँग आग्रह गरेका छन् । अष्ट्रेलियामा नेपालीको मृत्युको घटना बढ्दै गएको सन्दर्भमा उनले उक्त समस्या समाधानका लागि सरोकारवाला निकायहरुबीच समन्वय आवश्यक रहेको औंल्याएका छन् । 

साथै, एनआरएनएले न्यू साउथ वेल्स राज्यमा रहेको वाणिज्य दूतावासका रिक्त पदलाई प्राथमिकतामा राखेर कर्मचारी भर्ना गर्न सुझाएको छ । ‘दुखद् र पीडादायी घटना बढ्दै गएका छन्, त्यस्ता मामिलालाई व्यवस्थापन गर्ने विगतको तरिकामाथि पुनःर्विचार र परिमार्जन गर्ने समय आएको छ । दूतावास, वाणिज्य दूतावास, एनआरएनए र समुदायका सदस्यहरुबीच समस्याको समाधानका लागि व्यापक परामर्श गर्नुपर्नेमा स्पष्ट छौं ।’

टिप्पणीहरू