होस गर्नुस्, अदालतबाट मिसिल हराउँदै छन्

होस गर्नुस्, अदालतबाट मिसिल हराउँदै छन्
सुन्नुहोस्

अचम्म लाग्ला, के अदालतबाट मिसिल हराउन सक्छ ? हो, मिसिल हराउनु र लामो समयको खोजतलासपछि मात्रै फेला पर्नु काठमाडौं जिल्ला अदालतमा नियमित आकस्मिकता जस्तो बन्न थालेको छ । यस्तै विषयले काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा सोमबार करिब दुई घण्टा समय बित्यो । न्यायाधीश ठीक एघार बजे बिहान दौरा सुरुवाल र टोपी लगाएर बसिसकेका थिए । कानुन व्यवसायी पनि नियमित बहसमा तोकिएको ड्रेस कोडमै पुगे । सेवाग्राही आफ्नो मुद्दामा कस्तो आदेश आउला भन्ने हुटहुटीले अदालत खुल्नुअघि पुग्ने नै भए । 

शुरुमै तोकिएको मिसिल आइपुगेनपुगेको बारे छलफल भयो । गोलाप्रथाको कारण अघिल्लो दिन दायर भएका निवेदन र पहिल्यैदेखि चलिआएका मुद्दाको साप्ताहिक पेशीमा प्रकाशित भएर आएका मुद्दाको बाँडफाँट साढे दश बजे नै सकिएर पेशी सूची प्रकाशित भए पनि आधा घण्टासम्म मिसिल सम्बन्धित इजलासमा पुगेन । न्यायाधीश बहस सुन्न तयार, कानुन व्यवसायी बहस गर्न तयार, पक्षहरू कस्तो आदेश आउला भन्ने उत्सुकतामा मौजुद । तर, मिसिल अझै आइपुग्दैन ।

लामो समयसम्म पनि सम्बन्धित मिसिल इजलासमा पुग्दै पुगेन । मिसिल ल्याउन पक्षका कानुन व्यवसायी र वारेश फाँटवालालाई हारगुहार गरियो । न्यायाधीशले फाँटवालालाई पटक पटक आदेश गरेको आधा घण्टापछि मिसिल इजलासमा पुग्यो । तर ५ महिना हराएर फेला परेको मिसिलमा धेरै प्रक्रिया खण्डित देखिए ।

बहस गर्दै अधिवक्ता अनन्तराज लुईंंटेलले आफ्नो पक्षको मिसिल ५ महिनादेखि हराइरहेको र यस्ता घट्ना पटक पटक भइरहेकाले अदालत नेतृत्वलाई त्यस्ता समस्या समाधान गर्न विशेष पहलकदमी लिन आग्रह गरे । पशुपति क्षेत्र विकास कोषको पार्किङसम्बन्धी विवाद रहेको मुद्दाको मिसिल पहिला ६ नम्बर फाँटमा रहेको र सरुवा भएर १२ नम्बरमा पुगेको, त्यसपछि १८ नम्बरमा पुगेको, अन्तिममा २२ नम्बरमा पुग्दा लगभग ५ महिना मिसिल हराएकोे, मिसिलमा हुनुपर्ने प्रक्रिया कुनैपनि हुन नसकेको, लिखित जवाफ माग्ने म्याद तामेल नभएको, म्याद बुझेर लिखित जवाफ आएको नदेखिएको, पक्षलाई तारेखमा मात्रै राखिएको अवस्था फा“टवालाले इजलासमा अवगत गराएपछि बल्ल सुनुवाइ अघि बढ्यो ।

आफैंले बहस गरिरहेको टंकबहादुर घिसिङ र दालमु कित्तर घिसिङ वादी भएको क्षतिपूर्तिसँग सम्बन्धित मुद्दाको जालसाजीको मिसिल तीन महिना हराएको, तीन महिनापछि मात्रै फेला परेको, आफैले दायर गरेको अधिवक्ता ओमप्रकाश अर्याल विपक्षी भएको निषेधाज्ञाको मुद्दामा विपक्षीले अन्तरिम आदेशको बहसमा उपस्थित भएर पनि तीन महिनादेखि म्याद नबुझेको जस्ता समस्या जानकारी गराउँदै अधिवक्ता लुईंटेलले नेतृत्वले उपाय नसोचेमा न्यायका याचकलाई ठूलो हैरानी हुने जानकारी पनि गराए ।

काठमाडौं जिल्ला अदालतमा मुद्दाको संख्या धेरै रहेको, धेरै वटा फाँट र इजलासहरू रहेको, गोला प्रथाको कारण एउटा फाँटबाट मिसिल अन्यत्र जानुपर्ने अवस्था रहेको कारण देखिएका समस्याहरू आफूहरूलाई अवगत रहेको बताउँदै न्यायाधीश खतिवडाले जो–कोही नेतृत्वमा आए पनि समस्याको सजिलो समाधान नरहेको पनि स्पष्ट पारे । व्यवस्थापकीय समस्या रहेकोले सेवाग्राही र कानुन व्यवसायी आफैं सजायँ हुनुपर्ने अवस्था आएको उनले स्पष्ट पारे ।

बर्सेनि करिब १५ हजार मुद्दाको कारबाही किनारा गर्ने काठमाडौं जिल्ला अदालत देशकै सबैभन्दा धेरै मानिसको सरोकार संबोधन गर्ने अदालतको रूपमा चिनिन्छ । हरेक दिन सात हजारभन्दा बढी मानिस भ्रमण गर्ने सो अदालतमा ३३ वटा इजलासले सम्पूर्ण मुद्दाको सुनुवाइ, थुनछेक आदेश, विवाह दर्ता, सम्बन्धविच्छेद र देशैभरिका मानिसको अधिकृत वारेश गरिदिनसम्म पनि भ्याउनुपर्छ । साथमा मातहतका नगरपालिकाको न्यायिक समितिको पुनरावेदन सुन्ने अदालतको काम त छ नै !

देशकै सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला र राजधानी केन्द्रित विवाह दर्ता, सम्बन्धविच्छेद तथा नाता कायम गर्ने तथा हरेक दिन पाँच सयदेखि हजार जना थुनुवाको म्याद थप र थुनछेकसम्मको सुनुवाइ गर्ने काठमाडौं जिल्ला अदालतमा मुद्दाको व्यवस्थापन गर्न ढिलाई भइसकेको छ । अब देवानी डिभिजन, फौजदारी डिभिजन, पारिवारिक डिभिजन तथा विविध डिभिजन गरेर सुनुवाइ तथा व्यवस्थापन नगर्ने हो भने समस्या बढ्दै जाने पक्का छ । कुनैबेला यातायात कार्यालयमा फाइल हराउने गरेकाले सेवाग्राहीले घरघरमा लैजाने गरेको अवस्था काठमाडौं जिल्ला अदालतमा देखा पर्दै गएको बताउँदै अधिवक्ता लुर्ईंटेल तत्कालै मिसिल हराउने समस्याको समाधान हुन नसके काठमाडौं जिल्ला अदालतले यातायात कार्यालयको अवस्था व्यहोर्नुपर्ने दिन टाढा नरहेको भनी चिन्ता व्यक्त गर्छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)
 

टिप्पणीहरू