काठमाडौंबाट ४५ मीनेटमै केरुङ

काठमाडौंबाट ४५ मीनेटमै केरुङ

बहुचर्चित केरुङ–काठमाडौँ रेलवे परियोजना कसरी सम्पन्न हुन सक्छ र त्यसबाट नेपालको मुहार कसरी फेरिन्छ ? यसबारे फेरि चर्चा शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गर्ने तयारी थालेसँगै यो प्रसङ्ग पनि पुनर्जीवित भएको हो । चीनले बनाएको रेलमार्गहरू हेरेका, देखेका र उच्च पहाडी क्षेत्रमा समेत तीव्र गतिको रेलयात्रा गरेका नेपालीहरू भन्छन्– यो सजिलो रहेछ । 

चिनियाँहरूले पहाडी भेगमा रेल मार्ग बनाउँदा जहाँ डाँडो आउँछ त्यहाँ सुरुङ खन्ने र जहाँ खोंच भेटिन्छ त्यहाँ अग्ला पुल बनाउने गरेका छन् । यसो गर्नुको कारण के हो भने रेल अग्लो, होचो बाटोमा कुद्दैन । त्यसको लागि सिधा र एउटै उचाइ राम्रो हुन्छ । यदि केरुङसँग काठमाडौँलाई जोड्ने हो भने रेलमार्गमार्फत ४५ मीनेटमा नै यी दुई शहर पुग्न सकिन्छ । काठमाडौँको उत्तरमा रहेको शिवपुरी छेउबाट टोखामाथिको चुच्चे डाँडोलाई छेड्ने र सुरुङ मार्गमार्फत छहरेसम्म पुग्ने योजना चिनियाँहरूले बनाएका छन् । त्यसपछि कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतको गाउँमुनि हुँदै बेत्रावतीसम्म पुग्ने र खोलाको किनार र साना साना सुरुङमार्फत स्याफ्रुबेसी हुँदै केरुङसम्म रेलमार्ग निर्माण गर्ने चिनियाँहरूले बनाएको डिपिआरमा उल्लेख छ । 

जानकारहरू भन्छन्– यदि यो रेलमार्ग बन्ने हो भने नेपालको कनेक्टिभिटीमा कायापलट नै हुन्छ । जसरी अहिले समुद्रसम्मको सहज पहुँचका लागि भारत विकल्परहित बनिरहेको छ त्यो अवस्था पूर्णतया अन्त्य हुनेछ । त्यति मात्र होइन भारत हुँदै समुद्रपारबाट हुने आयातसमेत चीनको बाटो भएर गर्न सकिने अवस्थासमेत निर्माण हुन सक्छ । नेपालको सर्वाधिक व्यापार अहिले जसरी भारतसँग भइरहेको छ, त्यो आकारको नै व्यापार चीनसँग हुने सम्भावनालाई सो रेलमार्गले यथार्थतामा परिणत गरिदिन सक्छ । नेपालीहरूले चाहेको खण्डमा चिनियाँ भूमि हुँदै युरोपसम्मको रेल यात्रा नै समेत गर्नसक्ने गरी त्यहाँ सञ्जाल विकास भइसकेको छ । 

चीनले बिआरआइमार्फत बनाएका नयाँ सडक सञ्जाल र त्यसले दिने सुविधा लिनका लागि समेत नेपालले चीनसँगको रेलमार्गलाई चाँडो अघि बढाउने कुरामा ध्यान दिनु आवश्यक हुन्छ । यो रेलमार्ग बन्ने हो भने काठमाडौँबाट २४ घण्टामा चीनको व्यापारिक केन्द्र साङहाई पुग्न सकिन्छ । यसले अहिले चीनबाट नेपालमा आयात हुँदै गरेका सामानहरू कलकत्ताको बन्दरगाहमा लोड र अनलोड गर्दै हप्तौं दिन बिताउनुपर्ने झन्झटबाट नेपालका व्यापारीहरू मुक्त हुनेछन् । चीनबाट काठमाडौँको लागि डेडिकेटेड कार्गो सहजै आउने भएपछि व्यापार अत्याधिक बढ्ने अवस्था निर्माण हुन्छ ।

चीनले सिगात्सेसम्म रेलमार्ग ल्याइसकेको छ । त्यहाँबाट केरुङ आउन चार पाँच घण्टाको मात्रै समय लाग्ने हुँदा साङहाईबाट हिँडेको रेल काठमाडौँसम्म आइपुग्न कुनै गाह्रो हुँदैन । त्यसैले नेपाल र चीन सरकारले यो परियोजनालाई अगाडि बढाउन एउटा हिम्मतिलो निर्णय गर्नुपर्ने हुन्छ । यदि प्रधानमन्त्री केपी ओलीले समुद्रमा पानीजहाज चलाउने र नेपालको झण्डा त्यहाँ फरफराउने रहर गर्नुको साटो सहजै हुन सक्ने र नेपाललाई दूरगामी लाभ पुग्न सक्ने काठमाडौँ–केरुङ रेलमार्ग निर्माणका लागि आफू नै सक्रिय भएर अघि बढ्ने हो भने उनले नेपाली जनतालाई एउटा अनुपम उपहार दिएको ठहरिनेछ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू