कार्यक्रम पाँचतारे होटलमा, सरकारलाई बुझाउनुपर्ने कर खल्तीमा

कार्यक्रम पाँचतारे होटलमा, सरकारलाई बुझाउनुपर्ने कर खल्तीमा

काठमाडौं महानगरपालिकाले नाइट क्लब, दोहोरी साँझ तथा डान्सबारहरुलाई नियमानुसारको मनोरञ्जन कर तिर्न निर्देशन दिएको छ । ३५ दिनको समयसीमा दिँदै महानगरले सो अवधिभित्र कर बुझाउन सूचित गरेको छ । 

महानगरले हायात होटलमा सांगीतिक कार्यक्रमको आयोजना गरेको ग्यारेज इन्टरटेण्टमेण्ट र एनएम प्रोडक्सनलाई तोकिएको कर तिर्न निर्देशन दिएको छ । ती कम्पनीले गत मंसिर ९ गते महँगो सांगीतिक कार्यक्रमको आयोजना गरेका थिए । 

त्यस्तै, गोपीकृष्ण मुभिज, एलओडी क्लबलगायत डान्सबार, दोहोरी साँझ तथा नाइट क्लबलाई पनि कर बुझाउन भनिएको छ । यसअघि पटकपटक लिखित, फोन तथा मौखित जानकारी गराउँदासमेत मनोरञ्जन कर बुझाउन अटेर गरेको महानगरले जनाएको छ । 

आज जारी सूचनामा भनिएको छ, ‘मिति २०८० मंसिर ९ गते हायात होटलमा सांगीतिक कार्यक्रम आयोजना गर्ने ग्यारेज इन्टरटेण्टमेण्ट र एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिज, एलओडी डिस्कोलगायत र मिति २०८०–१०–१६ मा मनोरञ्जन कर बुझाउन पत्राचार गरिएको दोहोरी साँझ, डान्सबार र नाइट क्लबहरुलाई ३५ दिनभित्र कर बुझाउन सार्वजनिक सूचना आह्वान गरिएको छ ।’

त्यस्तै, तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । महानगरले यसअघि तीन दर्जन बढी क्लब, दोहोरी साँझ र डान्सबारलाई पत्राचार गर्दै १५ दिनभित्र कर बुझाउन निर्देशन दिएको थियो ।
 

टिप्पणीहरू