क्यानाडामा नेपाली राजदूतद्वारा प्रमाणपत्र पेश

क्यानाडामा नेपाली राजदूतद्वारा प्रमाणपत्र पेश

क्यानाडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओटावामा आयोजित विशेष समारोहमा उहाँले गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नरसँगको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उहाँको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिनुभएको छ । नेपालको सामाजिक–आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गर्न क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रत्युत्तरमा गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रशन्नता व्यक्त गर्नुभयो । साथै उहाँले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताउनुभयो ।

टिप्पणीहरू