राम्रो काम गरेर बिदा हुने एक बर्दिवालका नाममा...

राम्रो काम गरेर बिदा हुने एक बर्दिवालका नाममा...
सुन्नुहोस्

राजस्व अनुसन्धान विभागमा रहँदा राम्रोसँग खटिएका सशस्त्र डिएसपी प्रदीप राई सरुवा भएका छन् । 

सुन काण्ड,हुण्डी प्रकरणजस्ता ठूला काण्डको अनुसन्धान उनकै नेतृत्वमा भएको थियो । गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ६० किलो सुन तस्करी काण्डमा बेल्जियम मूलका नागरिक दावा छिरिङलाई पक्रिन र घटनाको विस्तृत अनुसन्धान गर्न उनीसहित १९ जनाको टोली अप्रेशनमा खटिएको थियो ।

राजस्व चुहावट रोक्न विभिन्न जिल्लाका पचासौं बढी ठाउँमा उनकै नेतृत्वमा छापा मारिएको थियो । ठमेल, क्षेत्रपाटी,बालुवाटार, टोखालगायतका ठाउँमा राईकै नेतृत्वमा टोली खटिन्थ्यो । विभागका निवर्तमान महानिर्देशक नवराज ढुंगानाको निर्देशनमा वीरगञ्जको कपडा गोदाम, हार्डवेयरका थोक भण्डारहरु,चिनी कारखाना,रक्सी कारखाना, कर्पोरेट सेक्टरमा भएका भन्सार छली रोक्न त्यहाँ छापा मार्ने र अनुसन्धान गर्ने काममा उनले नै नेतृत्व गरेका हुन् । 

राई नेतृत्वको टोलीले पर्वतको कुश्मामा बञ्जीजम्पको अनुसन्धानका लागि पनि छापा मारेको थियो  भने ठमेलको एलओडी डान्सबारमा समेत छापा मारेको थियो । क्षेत्रपाटीबाट हुण्डी कारोबारी नरेश अग्रवाललाई पक्राउ गर्ने टोलीको नेतृत्व उनले नै गरेका हुन् । त्यतिबेला नरेशका छोरा अभिषेकले राजस्वले बरामद गरेको एक करोड रुपैयाँमा ५० लाख थपेर दिन खोजेका थिए । 

त्यसैगरी, क्रिप्टोकरेन्सीको अनुसन्धानका लागि विराटनगर,झापा, ईटहरीसम्म पनि यिनको टोली परिचालन भएको थियो । स्याङ्जामा पनि काम गरे उनले । सुदूरपश्चिमको धनगढीदेखि नेपालगञ्ज, बुटवल,विराटनगर, वीरगञ्जलगायत काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा काम गर्दा उनको भूमिकामाथि प्रश्न नउठेको राजस्वका कर्मचारीहरु स्मरण गर्छन् । 

तत्कालीन महानिर्देशक मदन दाहालले सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई सशक्त जिम्मेवारी निभाउन सक्ने डिएसपीलाई अनुसन्धान विभागमा पठाइदिन अनुरोध गरेका थिए । सोही आग्रहअनुसार ‘बेस्ट क्याडर’ का रुपमा प्रशिक्षण केन्द्रबाट राईलाई त्यहाँ खटाइएको थियो । 

मदन दाहालले जनआस्थासँग भने,‘त्यतिका स्ट्याण्डर्ड र डिगनिटी भएका मान्छे प्रहरी संगठनमा बहुत कम हुन्छन् । गस्ती परिचालन,निष्पक्ष रुपमा गर्ने,कसैसँग लाइन खुला नगर्ने इमान्दार प्रहरीका रुपमा हामीले प्रदीपलाई चिन्न पायौं ।’

यसैगरी, उनीसँगै काम गरेका पूर्वमहानिर्देशक नारायणप्रसाद सापकोटाले पनि राईको कार्य दक्षताको प्रशंसा गरे । सशस्त्रका आइजीपी राजु अर्यालले समेत नेपालबाहिर पनि कुशल प्रशिक्षकको रुपमा नाम कमाका प्रदीप डिएसपीहरुमध्येकै उत्कृष्ट भन्ने गरेका छन् ।

प्रदीप आफैं भने आफूलाई औसत प्रहरी कर्मचारीका रुपमा चिनाउन चाहन्छन् । भन्छन्, ‘यो मान्छे खराब हो भन्ने कसैलाई पारिन ।’

टिप्पणीहरू