दुई दर्जन ठेकेदारलाई सरकारको एक हप्ते पूर्जी

दुई दर्जन ठेकेदारलाई सरकारको एक हप्ते पूर्जी
सुन्नुहोस्

ठेक्का ओगटेर निर्धारित समयमा काम सम्पन्न नगर्ने दुई दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले स्पष्टीकरण सोधेको छ । 

प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगर्ने २३ निर्माणकर्तालाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण मागेको हो । तोकिएको समयमा चित्तबुझ्दो स्पष्टिकरण  नदिए उनीहरुलाई कालोसूचीमा राख्ने चेतावनी दिइएको छ । 

स्पष्टीकरण मागिएका ठेकेदार कम्पनीमा ईसा कन्स्ट्रक्सन, शिवाणी इन्टरप्राईजेज, एचएण्ड जे ट्रेडर्स, जीसी ब्रदर्स कन्स्ट्रक्सन, प्रशंसा कन्स्ट्रक्सन, ऊर्जा-कुशभ जेभी, युआरसी कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा छन् । 

त्यस्तै, चन्द्र सूर्य निर्माण सेवा, देउतीबज्यै निर्माण सेवा एण्ड ढुवानी सेवा, आयुष निर्माण सेवा तथा महादेव अर्डर सप्लायर्स, भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभी, मैनाचुली-सिद्धिसाई प्रकाश जेभीलाई पनि स्पष्टीकरण सोधिएको छ । 

कार्यालयले देवनारायण पवन-मैनाचुली-खम्पाचे जेभी, देउती कन्स्ट्रक्सन प्रालि, एडभेन्चर-जेवी जेभी, शंकरमाली निर्माण प्रालि, बराह निर्माण सेवा, दिपमाला निर्माण सेवा, विभोर निर्माण सेवा, बिएस भैरवशक्ति निर्माण सेवा जेभी र युसब कन्स्ट्रक्सनलाई समेत स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । 

तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए यी निर्माण व्यवसायीलाई कानूनबमोजिम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने स्पष्टिकरण पत्रमा उल्लेख छ ।

टिप्पणीहरू