केपी ओलीलाई भन्न जानेहरुले भेटे यस्तो जवाफ

गृहमन्त्रीको छानबिन गर्नेहरु ठाउँठाउँबाट गलहत्याइँदै

केपी ओलीलाई भन्न जानेहरुले भेटे यस्तो जवाफ
सुन्नुहोस्

‘सहकारी ठगीमा मुछिएका व्यक्तिको पक्षमा किन बोल्नुभएको ?’ भन्दै अघिल्लो हप्ता राति बालकोट पुगेका ३ जना एमाले कार्यकर्ताले जवाफ पाए– ‘सत्ता समीकरण जोगाउन !’ सहकारी काण्डमा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चोख्याउन राज्यशक्तिको चरम दुरूपयोग भएको आशंका भइरहँदा वर्तमान सत्ता समीकरणका मुख्य सूत्रधार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई त्यस्तो जवाफ दिनुभएको हो । 

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमसहित विभिन्न सहकारीको बचत अपचलनमा लामिछानेको संलग्नता पुष्टि हुने तथ्य, प्रमाणहरू सार्वजनिक भइरहेका छन् । तर, सत्ता समीकरणमा रास्वपाको निर्णायक हैसियत र स्वयं लामिछाने गृह–प्रशासनको नेतृत्वमा रहेकाले प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाउन सकेको छैन । यस्तो स्थितिमा अध्यक्षलाई कार्यकर्ताले ‘किन त्यस्ताको पक्षमा बोल्नुभएको ?’ भनी सोधेका हुन् । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनाबारे अध्यक्षलाई ‘बुझाउन’ केही दिनअघि बालकोट पुगेका थिए ती कार्यकर्ता

। बालकोटनिकट स्रोतका अनुसार त्यसक्रममा उनले जिबी राईसँग मिलेर रविले स्वर्णलक्ष्मीबाट गाडी किन्न ४६ लाखका दरले दुईचोटि ऋण लिएको प्रमाण आफूसँग रहेको अध्यक्षलाई सुनाए । र भने, ‘उसको बचाउमा हजुर किन बोल्दै हुनुहुन्छ ?’ सरकार टिकाउन पक्ष लिनुपर्ने बाध्यता रहेको अध्यक्षको जवाफमा सन्तुष्ट नभएका उनले रवि प्रवृत्तिबारे उल्टै जवाफ पाए । ‘यो मान्छे बदमास हो, पहिले अमेरिका बस्दा पनि अनेक लफडा गरेको थियो,’ ओलीले अगाडि भन्नुभयो, ‘त्यसबेला धेरैले चरित्र पनि ठीक छैन भन्ने गर्थे तर के गर्नु, जति बदमास र केटौले भए पनि उसको साथबिना यो सरकार टिक्दैन !’

 

स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र लामिछानेले ‘सवारी कर्जा’ शीर्षकमा दुई पटक रकम लिएका थिए । ०७८ वैशाख ९ गते गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा चारपांग्रे सवारी खरिदका लागि ४६ लाख ४८ हजार रूपैयाँँ कर्जा लिएका उनीहरूले ०७८ साउन ५ गते पुनः सोही नाममा ४६ लाख ९८ हजार रूपैयाँँ लिएको भौचरसमेत धेरै अगाडि जनआस्थाबाटै सार्वजनिक भएको हो । बालकोटमा ती कार्यकर्ताले उक्त ऋण र पत्नी निकिता पौडेलसहित लामिछाने स्वयं गाडी किन्न गएको प्रमाण आफूसँग रहेकाले उनको पक्षमा बोल्दा अप्ठ्यारो पर्न सक्ने चिन्ता अध्यक्षसामु प्रकट गरेका थिए । 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि गृहमन्त्री लामिछानेको बचाउमा हुनुहुन्छ । इजलासबाट न्यायाधीशले फैसला सुनाएझैँ उहाँले संसदको रोष्ट्रममा उभिएर ‘क्लिन चिट’ मात्र दिनुभएन, महान्यायाधिवक्ता कार्यालयको समेत व्यापक दुरूपयोग गरियो । आफ्नै कार्यकर्ता, पूर्वउपराष्ट्रपति तथा जनयुद्धका कमाण्डरको छोरालाई थुनाउन बाध्य भएका प्रधानमन्त्री संसदीय अंकगणितका कारण लामिछानेलाई चोख्याउनुपर्ने बाध्यतामा पुगेको बुझ्न सकिन्छ । निहित स्वार्थका लागि अपराधको संरक्षण गर्नुलाई कानुनको गम्भीर उल्लंघन मानिन्छ । कानुनी भाषामा त्यस्तो व्यक्तिलाई ‘मतियार’ भनिन्छ ।

‘सरकार जोगाउन रविको बचाऊ गरेको’ भन्ने एमाले अध्यक्षको अभिव्यक्ति र अपराधको ढाकछोप गर्ने प्रधानमन्त्रीको भूमिकाले उहाँहरू ‘मतियार’ बनिरहेको अर्थ लाग्ने कानुनका जानकारहरू बताउँछन् । प्रधानमन्त्री र गठबन्धनका शीर्ष नेताबाट यसरी खुलेआम संरक्षण पाएका लामिछाने भने त्यसैको बलमा प्रहरी संगठनमाथि जथाभावी गरिरहेका छन् । आफू जोडिएका मुद्दाको अनुसन्धान प्रभावित पार्न प्रहरी कर्मचारीमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोपसमेत लागिरहेको छ । 

खासगरी ‘सहकारी प्रकरणको अनुसन्धान गर्ने कोही पनि बाँकी रहँदैन’ भन्ने मनोवैज्ञानिक दबाब दिइरहेका उनले सरुवा–बढुवामा मनपरी गरेका छन् । पछिल्लो समय आइजी वसन्त कुँवरसँग पनि गृहमन्त्रीको सम्बन्ध बिग्रिएको प्रहरी वृत्तमा चर्चा छ । उच्च प्रहरी स्रोतका अनुसार संसदीय समितिको बैठकबाट ‘क्लिन चिट’ दिलाउने प्रयास गरेका आइजीसँग सुप्रिम सहकारीको कुराले भने लामिछाने रिसाएका हुन् । सुप्रिमको अनुसन्धान प्रतिवेदनमा ‘रवि लामिछाने’ भनेर लेखिएकोमा असन्तुष्ट बनेका उनले अनुसन्धान अधिकारीलाई बेलैमा किन नभनेको ? भन्दै आइजीलाई हप्कीदप्की गरेको बताइन्छ ।

यता, सूर्यदर्शनको छानबिन गरिरहेका इन्स्पेक्टर सूर्यबहादुर रानालाई सरुवा गरेर महोत्तरीको गौशाला पठाइएको छ । सुप्रिमको छानबिन गरेका लालबहादुर सुनार ‘माथिको प्रेसर’ थेग्न नसकेर मुटुको रोगी भएका छन् । केही साताअघि बुटवलबाट काठमाडाँै आएर बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा मुटुको धड्कन जँचाएका उनले निकटहरूसँग आइजीको दबाब झेल्न गाह्रो परेको बताएका थिए । मुद्दा शाखामा कार्यरत लालबहादुर मुनिको सईलाई पनि रुपन्देहीबाट हटाइएको छ । कास्की प्रहरीको अनुरोध र आइजीको आदेशबमोजिम सिआइबीबाट थप टोली खटाएकी एआइजी किरण बज्राचार्यले झण्डै निलम्बनको शिकार हुनुपर्‍यो ।

स्वर्णलक्ष्मी सहकारीको फाइल झिकाएका काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीलाई त्यसैगरी सरुवा गरियो । अहिले स्वर्णलक्ष्मीको थप अनुसन्धान नगर्न र छिटो मुद्दा बुझाउन कालिमाटीका डिएसपी रूपक खड्कालाई काठमाडौँका नयाँ एसएसपी वसन्त रजौरेमार्फत दबाब बढाइएको बताइन्छ । ‘जो–जोबाट खतरा देखिन्छ, तिनलाई तत्काल हटाइहाल्ने र पीडितका कुरा नसुनी फटाफट काम सकाएर मुद्दा दर्ता गराउन खोजिएको छ’, यसबारे जानकार एक प्रहरी अधिकारीले भने, ‘डिएसपी रूपक खड्कालाई एसएसपी सा’पमार्फत मुद्दा धेरै नखोतल्न प्रेसर आइरहेको भन्ने सुनिएको छ ।’ 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू