रवि लामिछानेलाई गगन थापाको जवाफ - तपाईंको काम अब एमालेले गर्दिन्छ

रवि लामिछानेलाई गगन थापाको जवाफ - तपाईंको काम अब एमालेले गर्दिन्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी प्रकरण र गिरीबन्धु टि-स्टेटको विषय नउठाउने सहमति भएको दाबी गरेका छन् । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज संसद्‌ बैठकमा उठाएका प्रश्नको जवाफ दिन आयोजित पत्रकार सम्मेलनमा उनले एमालेले सहकारी र रास्वपाले गिरीबन्धुबारे कुरा नउठाउने सहमति भएको बताएका हुन् । 

संसद बैठकमा लामिछानेले प्रमुख दलहरुले सहमति गरेर सहकारी प्रकरणमा छानविन गर्न संसदीय समिति बनाए आफूलाई कुनै आपत्ति नहुने र रास्वपाबाट प्रतिनिधि राख्न पनि नपर्ने बताएका थिए । जवाफमा महामन्त्री थापाले भने, 'उहाँले मेरोबारेमा बन्ने बन्ने समितिमा हाम्रो प्रतिनिधि पनि चाहिंदैन भन्नुभयो, तपाईंको काम अब नेकपा एमालेले गर्दिन्छ । किनकि तपाईंहरुबीच एउटा राम्रो सहमति बनेकै छ- एमालेले सहकारी नउठाउने तपाईंहरुले गिरिबन्धु नउठाउने । त्यसैले त्यो धेरै चिन्ताको विषय भएन ।' 

संसद्को रोष्टमबाट गृहमन्त्री लामिछानेले उठाएका सबै विषयमा छानबिन समित बनाउन पनि उनले चुनौती दिएका छन् । ‘आज उहाँ(रवि लामिछाने)ले जुन-जुन विषयमा समिति बनाउने भन्नुभएको छ, सबैमा बनाए हुन्छ,’ थापाले भने । 

साथै, उनले लामिछानेको आजको प्रस्तुति टेलिभिजन प्रस्तोताको जस्तो भएको भन्दै कटाक्ष गरे । आफ्ना बारेमा प्रश्न उठाए अरुलाई पनि छोड्दिन भन्ने हिसाबले गृहमन्त्रीको अभिव्यक्ति आएको भन्दै उनले प्रश्न गरे, 'गृहमन्त्रीले यस्तो पनि भन्छ र ?,’ 

'आज म तल बसेर माथि हेरिरहेको थि ए। केही समय अगाडि प्रत्येक साँझ टेलिभिजन कार्यक्रममा प्रस्तोता आउनुहुन्थ्यो । कहिले घोक्रो फुलाएर कराउनुहुन्थ्यो । कहिले टेवल ठोक्नुहुन्थ्यो । कहिले चिच्याउनु हुन्थ्यो । कहिले एकैपटक भावनामा आएर विद्यानष्ट आम्माकसम भनेर भन्नुहुन्थ्यो', थापाले अगाडि भने, 'त्यसपछि आफैं कसैलाई आरोप लगाइदिनु हुन्थ्यो । भोलिपल्ट आफैं शुद्ध पनि बनाइदिनु हुन्थ्यो । कहिले नाकको डांडी भाच्दिन्छु भन्नुहुन्थ्यो । कहिले ठूलो मुटु भएको भन्नुहुन्थ्यो । मलाई आज गृहमन्त्री हो कि टेलिभजन प्रस्तोता हो भन्ने थोरै अलमल भयो ।'

टिप्पणीहरू