गृहमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ

गृहमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ मागेको छ ।

आज अपराह्न बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेले जेठ ६ गते संसद्को रोष्टममा उभिएर दिएको अभिव्यक्तिका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौं भनेका छौं ।’

कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयसमेत ध्यानाकर्षण गराएको उनले बताए । 

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाजीलाई जुन ढंगले धरपकड गरियो, आतंकित गर्ने काम भयो त्यो कुरामा हामी गम्भीर छौँ । गम्भीर ध्यान आकृष्ट भएको छ भनेर कुरा उठायौँ,’ प्रमुख सचेतक लेखकले भने ।

सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन शीर्ष नेताहरु जुटेका थिए । छलफल सकारात्मक भएको तर, सहमति नजुटेको लेखकले जानकारी दिए । 

कांग्रेस नेताहरु निस्किएपछि अहिले सत्तापक्षका नेताहरु छुट्टै छलफलमा छन् ।

टिप्पणीहरू