सहकारीमा पाँच लाखसम्म बचत गर्नेको रकम फिर्ता हुने

सहकारीमा पाँच लाखसम्म बचत गर्नेको रकम फिर्ता हुने

सहकारीमा पाँच लाखसम्म बचत गरेका बचतकर्ताको रकम फिर्ता हुने भएको छ । आर्थिक वर्ष २०८१–०८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले समस्याग्रस्त सहकारीका बचतकर्ताको पाँच लाखसम्मको बचत फिर्ता हुने बताउनुभएको हो । 

समस्याग्रस्त भएर सञ्चालक भागेका सहकारीहरूका बचतकर्तालाई सञ्चालकको सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

‘सहकारीमा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितो सुरक्षणमा रु. पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गरिने व्यवस्था मिलाइनेछ’, बजेट वक्तव्यमा उल्लेख छ ।

सहकारी क्षेत्रमा देखिएको समस्यालाई न्यूनीकरण गर्न सहकारी ऐनमा संशोधन गर्ने पनि अर्थमन्त्रीको घोषणा छ । कानूनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र सञ्चालनको नीति बनाइने उहाँले बताउनुभयो ।

त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकायको स्थापना गरिने र त्यस्ता सहकारीलाई एक आपसमा गाभिन सहजीकरण गर्ने पनि सरकारको नीति छ ।

टिप्पणीहरू