बाबालाई खुसुक्क भारतबाट बोलाइयो

बाबालाई खुसुक्क भारतबाट बोलाइयो

नेपाली राजनीतिमा बेलाबखत अनेक रमिता देख्न पाइन्छ । यो संकट यहीँका दलको सहमतिले टार्न सकिन्छ, आममान्छेले बुझेको यही हो । तर यसो मात्र होइन रहेछ, अहिलेको संकट टार्न भित्रभित्रै अनेक फण्डा हुँदारहेछन् । 

जस्तो : प्रधानमन्त्री नरेन्द्र मोदीको पनि प्रिय एकजना बाबा भारतबाट सुटुक्क नेपाल आएर जताततै भेटघाटमा सरिक छन् । तर, यो विषयलाई बाहिर ल्याइएको छैन । यसरी आउने हरिद्वारका विश्वप्रसिद्ध बाबा हुन्– स्वामी कैलाशानन्दजी महाराज । हिन्दू आध्यात्मिक गुरु, सन्त योग गुरु र लेखक पनि रहेका उनी आउनासाथ गर्मीलाई ख्याल गर्दै चिसो ठाउँ भएका कारण ललितपुरको गोदावरी भिलेज रिसोर्टमा बसे । उनलाई जेठ १० गते बेलुका सवा ६ बजे विमानस्थलमै लिन जानेचाहिँ सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवाली हुन् । उनको सल्लाहले अहिलेका सबै संकट, अझ गृहमन्त्रीको दुःख हरण हुन्छ भन्ने चर्चा छ । रुपन्देहीका पूर्वकांग्रेस सांसद प्रमोद यादवले यिनलाई नेपाल ल्याएका हुन् । कैलाश बाबाले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेटेका छन् । उनको सुझावमा नेपाली राजनीति र रवि लामिछानेको संकट कति हट्ला, प्रतीक्षाको विषय बनेको छ । 

कैलाश हप्ता दिनको निम्ति नेपाल एयरलाइन्सको उडान नं. आरए– २१८ बाट काठमाडौंमा ओर्लिएका थिए । उनीसँगै आर ३०९९२४१ नम्बरको राहदानीवाहक भारतीय नागरिक कृष्णकुमार पनि छन् । उनी आउँदा भिआइपी कक्षमा कांग्रेसका बर्दियाली सांसद सञ्जय गौतमलगायतले स्वागत गरे । नेपाल बसाइका क्रममा पशुपतिनाथ, स्वयम्भू, दक्षिणकाली, मुक्तिनाथ र लुम्बिनी घुमिसकिएको छ । बाबाको यो सबै भ्रमणको संयोजन गृह मन्त्रालयले गरेको हो ।

यता, काठमाडौंस्थित बाल मन्दिरको जमिनसम्बन्धी मुद्दामा प्रहरी हाकिमहरुले मोटो रकम डिल गरेको भनेर संगठनमै चर्चा हुन थालेको छ । एक करोड रुपैयाँ राई स्कूलका कीर्ति पाण्डेमार्फत आएको र गृहमन्त्रीका आसेपासेले भाग लगाएको चर्चा छ । पाण्डे बाल मन्दिर प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएका तीन मृतकसहित ११ को सूचीमा छन् । तर, उनको ओहोरदोहोर, आउजाउमा कहीँकतै अवरोध छैन । पक्राउ पुर्जी जारी भएको मान्छेको प्रहरीसँग उठबस देखिन्छ । उनी भारतीय नागरिक र दिनहुँ दूतावास धाइरहने पात्र हुन् ।

अर्कातिर एकजना प्रहरी अधिकारी आफैं सरकारी वकिल कार्यालय गएर उनीहरुलाई हाजिरी गराई छाड्न भनेपछि अर्को लफडा शुरु भएको छ । वकिल कार्यालयले ‘कहाँ त्यस्तो हुन्छ’ भन्दै कि पक्राउ पुर्जी जारी गर्न हुन्थेन भनेपछि कतै एक करोड रुपैयाँले काम गरेकै हो त भन्ने प्रश्न उठेको हो । 

यसबीच धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीलाई कतिसम्म ‘हत्तुहैरान’ पारियो भने ‘त्यो कैलाशलाई किन अस्पताल राखेको ?’ भनेरसमेत थर्काउने काम भएको छ । उनले कान्तिपुरका को–कोसँग कुरा गरेका छन् ? भनी कल डिटेल्स निकाल्ने र आतंकित पार्ने काममा लागेपछि पूर्वप्रहरी अधिकृतहरु नै फोर्स सुधार्न आएका गृहमन्त्रीले संगठन बिगारे र सिआइबीलाई त झन पत्रु पारे भन्दै गफिन थालेका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू