हुइँकिएको कारलाई बचाउन खोज्दा बस त्रिशुलीमा

हुइँकिएको कारलाई बचाउन खोज्दा बस त्रिशुलीमा

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकै दुई वटा सवारी दुर्घटनामा पर्दा २० जना भन्दा बढी घाइते भएका छन् । 

नेपालगञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको भे १ ख ४०६० नम्बरको यात्रु बस सडकबाट त्रिशुली नदी किनारमा खसेको छ । काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३९ च ३७२० नम्बरको कारले अगाडिको सवारी ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आइरहेको बसलाई ठक्कर दिँदा बस सडकबाट नदी किनारमा खसेको प्रत्यक्षदर्शीको भनाई छ । 

तीव्र गतिमा रहेको कारले बसलाई ठक्कर दिएको र कारलाई जोगाउन खोज्दा बस दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । ४५ जनाभन्दा बढी यात्रु बोकेको बसका यात्रु भने धेरैजसो सुरक्षित छन् । बस नदीमा नडुबेकोले पनि यात्रुको सुरक्षित उद्दार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

घाइतेहरुलाई नजिकैको स्वास्थ्य संस्थाहरुमा उपचार गरिँदैछ । गम्भीर घाइतेहरुलाई चितवनतर्फ पठाइएको छ ।

टिप्पणीहरू