मुआब्जा लिएर पनि जग्गा नछाड्नेहरुलाई ताकेता पुर्जी

मुआब्जा लिएर पनि जग्गा नछाड्नेहरुलाई ताकेता पुर्जी

पशुपति क्षेत्र विकास कोषले तीलगंगा आवास क्षेत्रका जग्गा खालि गराउन पुनः ताकेता गरेको छ । 

तीलगंगा आवास (बी १३) क्षेत्रमा बनाइएका भौतिक संरचना हटाउन यसअघि पटक–पटक गरेको आग्रह सुनुवाई नभएपछि कोषले असार १५ भित्र खालि गर्न अर्को निर्देशन दिएको हो । मुआब्जा पाइसकेको अवस्थामा पनि सम्बन्धित धनीले घर, टहरा, गोठ, पर्खालजस्ता संरचना नहटाएको कोषको गुनासो छ । 

यसपटकको निर्देशन पनि अटेर गरिए असार १५ पछि त्यस्ता संरचना आफैं हटाउन बाध्य हुने कोषको चेतावनी छ । ‘सूचनाको बर्खिलाप हुने गरी घर, टहरा, पर्खाल, लिगलगायतका संरचना उक्त म्यादभित्र नहटाइएमा कानूनबमोजिम कोष आफैंले हटाई खाली गराउने जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ । 

कोषको स्वीकृत अवधाराणात्मक गुरुयोजनाअनुसार २०६९ भदौ ६ गते सरकारले उक्त गुरुयोजना कार्यान्वयनका निम्ति तीलगंगा आवास क्षेत्र अधिग्रहण गर्ने निर्णय गरेको थियो । जसअनुसार अधिग्रहण प्रभावित क्षेत्रका सबैलाई मुआब्जा समेत वितरण गरिसकिएको कोषले जनाएको छ । 

तर, अधिग्रहण भएको तीलगंगा आवासीय क्षेत्रमा बनेका कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाललगायत संरचना हालसम्म खाली गराइएको छैन ।

टिप्पणीहरू