विदेशको ‘पिआर’ बोकेकालाई त्रिभुवन विश्वविद्यालयले पनि नछाड्ने

विदेशको ‘पिआर’ बोकेकालाई त्रिभुवन विश्वविद्यालयले पनि नछाड्ने

त्रिभुवन विश्वविद्यालयले विदेशको स्थायी आवासीय अनुुमति (पिआर) लिएका आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई सचेत गराउँदै कानुनबमोजिम कारबाही गरिने जनाएको छ । त्यस्ता अनुमति लिएका कुनैपनि शिक्षक तथा कर्मचारीको पति वा पत्नीले कर्मचारी सञ्चयकोषमा सञ्चित रकमबाहेक अन्य कुनै पनि सुविधा नपाउने जनाएको छ ।

रजिष्ट्रारको कार्यालयले त्यस्तो आवासीय अनुमति लिएकाको हकमा त्रिवि शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियम २०५० को नियम ५४ (४) (ख) मा भएको व्यवस्थाबमोजिम सेवाबाट अवकाश र अन्य कुनै सुविधा नदिइने जानकारी गराएको हो । नियम ८४ (२) (ग) मा स्थायी आवासीय अनुमति लिएमा भविश्यमा विश्वविद्यालय सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न सकिने व्यहोरा उल्लेख गर्दै सूचना जारी गरेको छ ।

हिजो प्रकाशित सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा ७ बमोजिमका पदाधिकारी एवम् ऐनको दफा २ (ट) को परिभाषाभित्र पर्ने कुनैपनि शिक्षक र त्रिभुवन विश्वविद्यालय सेवामा कार्यरत कुनै पनि कर्मचारीले विदेशी राष्ट्रको स्थायी आवासीय अनुमति पत्र लिनु विश्वविद्यालयको नियम विपरित हुने भएकोले यदि कार्यरत शिक्षक कर्मचारीले त्यसरी आवासीय अनुमति लिएको भए नियम ८४ (ख) बमोजिम स्वयम् घोषणा गरी सम्बन्धित निकायमा विवरण पेश गर्न लगाई सो विवरण अविलम्ब कर्मचारी प्रशासन महाशाखामा पठाउनुहुन सूचित गरिन्छ ।’

टिप्पणीहरू