एसएलसीकै अवस्थामा फर्कियो एसईई, खराब नतिजाले सबैतिर चिन्ता

एसएलसीकै अवस्थामा फर्कियो एसईई, खराब नतिजाले सबैतिर चिन्ता

यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेल हुने विद्यार्थीको रेकर्ड तोडिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा आधाभन्दा धेरै विद्यार्थी फेल भएका छन् । 

परीक्षामा सहभागी कुल चार लाख ६४ हजार ७८५ मध्ये दुई लाख २२ हजार ४७२ विद्यार्थीमात्रै उत्तीर्ण भएका हुन् । जुन ४७ दशमलब ८६ प्रतिशत हो । 

त्यस्तै, दुई लाख २२ हजार ४७२ अर्थात् ५२ दशमलब १४ प्रतिशत विद्यार्थीको ननग्रेड आएको छ । तीमध्ये दुई विषयमा एनजी (फेल) हुने विद्यार्थीको संख्या एक लाख १५ हजार ८३४ रहेको छ । 

गत वर्ष चार लाख ८४ हजार ९३९ जना विद्यार्थीले एसईई दिएकोमा जम्मा १३ हजार ९९२ जनाको ननग्रेड आएको थियो । विद्यालय तहमा २०७२ सालदेखि अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) शुरु भएको हो । 

२०७१ सालको एसएलसीमा धेरै विद्यार्थी फेल भएपछि विद्यालय शिक्षामा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) कार्यान्वयन कार्यविधि, २०७२ ल्याइएको थियो । जसमा सैद्धान्तिक र आन्तरिक परीक्षामा पाएको अंकलाई जोडेर समष्टिगत ग्रेड दिइन्थ्यो । 

तर, ०७८ सालमा पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गरेको हो । संशोधित निर्देशिकामा सैद्धान्तिक (लिखित) र आन्तरिक (प्रयोगात्मक) को मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । 

बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा प्रकाशन गरेसँगै २०७१ सालअघिकै अवस्थामा एसईईको नतिजा फर्किएको छ ।  ०७१ सालको एसएलसीमा पनि चार लाख पाँच हजार ३३८ जना विद्यार्थीले परीक्षा दिएकोमा एक लाख ९२ हजार २६७ अर्थात् ४७ दशमलब ४३ प्रतिशत विद्यार्थी मात्र पास भएका थिए । 

के छ संशोधित निर्देशिकामा ? 

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीले लिखित परीक्षामा उत्तीर्ण हुन प्रत्येक विषयमा ३५ अंक ल्याउनैपर्छ । ७५ पूर्णांकको परीक्षामा भने न्यूनतम २७ अंक ल्याउनुपर्ने हुन्छ । 

त्यस्तै, २५ पूर्णांकको प्रयोगात्मकमा कम्तिमा १० अंक ल्याउनुपर्ने निर्देशिकामा व्यवस्था छ । आन्तरिकतर्फ ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीका लागि मूल प्रमाणपत्र उपलब्ध नगराउने निर्देशिकामै स्पष्ट लेखिएको छ । 

अनिवार्य विषयमै धेरै फेल 

यो वर्ष अनिवार्य विषयमा धेरै विद्यार्थी फेल भएका छन् । नतिजाअनुसार सबैभन्दा धेरै विद्यार्थीको अनिवार्य गणितमा ननग्रेड आएको छ । गणितमा अनुतिर्ण हुने विद्यार्थीको संख्या एक लाख ७७ हजार ९८५ छ । 

त्यसपछि विज्ञानमा एक लाख २६ हजार ९३३ विद्यार्थी फेल भएका छन् भने अंग्रेजीमा एक लाख एक हजार ३८३ जना अनुतीर्ण भएका छन् । त्यस्तै, सामाजिकमा ७३ हजार ८७७ र नेपालीमा ६९ हजार ५३२ जना फेल भएका छन् । 

यता, अर्थशास्त्रमा ६९ हजार ४१६, ऐच्छिक गणितमा २० हजार ३५२, ऐच्छिक जनसंख्यामा तीन हजार ५११, वातावरण विज्ञानमा दुई हजार ४३७ , भूगोलमा ५९७ र संस्कृति विषयमा १७१ जना विद्यार्थी पास हुन सकेनन् । 

कलेजलाई चिन्ता बढाउने रिजल्ट  

यो वर्ष एसईईमा धेरै विद्यार्थी फेल भएसँगै कलेजहरुलाई भने चिन्ता बढेको छ । पास हुने विद्यार्थीको संख्या कम हुँदा भर्ना दर घट्ने भएकाले प्लस टु पढाउने निजि कलेजहरु चिन्तामा परेका हुन् ।  

गत वर्ष एसईईमा करिब १४ हजार विद्यार्थीको मात्र ननग्रेड आएको थियो । तर, यो वर्ष झण्डै साढे दुई लाख विद्यार्थीले ननग्रेड ल्याएका छन् । त्यसमा पनि मौका परीक्षा दिने पाउनेमा जम्मा एक लाख १५ हजार ८३४ जना मात्रै रहेका छन् । 

यसले विद्यार्थी उत्तीर्ण हुने संख्या घटेसँगै यसको असर सिधै कलेजहरुलाई पर्ने देखिन्छ । उसै त केही वर्षयता नेपालका कलेजहरुमा विद्यार्थी घट्दै गएका छन् । 

मुलुकको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाउँदै उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरु विदेश पलायन हुनेक्रम बढिरहँदा यो नतिजाले यहाँका कलेजहरु थप प्रभावित हुने पक्का छ ।  

नतिजाबारे गम्भीर हुन सरोकारवालाको सुझाव 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाले एसईईको नतिजा सन्तोषजनक नदेखिएको बताए । उनले नतिजाबारे सम्बन्धित निकायहरुले गम्भीररुपमा समीक्षा गर्न आवश्यक रहेको बताए । 

‘लामो समयपछि यो ग्रेडिङ लागू गरिएको हो । हाम्रो आशा थियो कि ५० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुन्छन् । तर, त्यस्तो भएन । नतिजा सन्तोषजनक छैन । यसबारे सम्बन्धित निकायहरुले गम्भीर रुपमा समीक्षा गरेर अघि बढ्नुपर्ने देखिएको छ,’ उनले भने ।

‘कहाँ कति कमीकमजोरी रह्यो भनेर सबैले अध्ययन गर्नुपर्छ । नत्र अभिभावकहरुको लगानीसँगै लाखौं बालबालिका, विद्यार्थीको भविष्य अन्योलमा पर्नेछ,’ अध्यक्ष ढुंगानाले थपे । 

शिक्षाविद् विद्यानन्द कोइराला पनि एसईईको नतिजा चित्तबुझ्दो नरहेको बताउँछन् । उनले परीक्षामा आधा पनि विद्यार्थी उत्तीर्ण नहुनेले समग्र शिक्षण प्रणालीको चित्रण गरेको बताए । 

मुलुकको शैक्षिक गुणस्तर खस्किँदै गएको नतिजाले छरपस्ट भएको भन्दै शिक्षाविद् कोइरालाले शिक्षकहरुले पढाउने तरिका फेर्न आवश्यक रहेको बताए । 

‘सार्वजनिक नतिजाले हाम्रो शिक्षा प्रणालीमा सुधारको धेरै आवश्यक रहेको देखाएको छ । अब शिक्षकहरुले विद्यार्थी पढाउने तरिका फेर्नुपर्छ । दशकअघिको होइन, नयाँ तरिकाले पठनपाठन गराउनुपर्छ,’ उनले भने । 
 
कोइरालाले सामाजिक सञ्जालका माध्यमबाट समेत पठनपाठन गराउन सकिने उल्लेख गर्दै विद्यालय र स्थानीय तहहरुले विद्यार्थीमा भएको क्षमता खोजी त्यसलाई बाहिर ल्याउन जरुरी रहेको बताए ।
 
‘ननग्रेड आएको विद्यार्थीले केही गर्न सक्दैन भन्ने हाम्रो सोचाई छ । तर, तिनीहरु पढाईमा कमजोर भएपनि अन्यमा अब्बल हुन सक्छन्, त्यस्ता विद्यार्थीलाई सम्बन्धित स्थानीय तहहरुले आवश्यक कार्यक्रम ल्याएर अघि बढाउनुपर्छ,’ उनले भने । 

फेल हुनेमा छात्रा धेरै 

गत चैत १५ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा दुई लाख ३३ हजार २७० छात्र,  दुई लाख ३१ हजार ५०३ छात्रा र अन्य १२ जना गरी कुल चार लाख ६४ हजार ७८५ जना सहभागी भएका थिए । 

जसमा सबैभन्दा धेरै छात्रा अनुतीर्ण (फेल) भएका छन् । नतिजाअनुसार छात्रतर्फ एक लाख १४ हजार ४८ र छात्रामा एक लाख २८ हजार २५७ जनाको एनजी आएको छ । त्यस्तै, अन्यतर्फ आठ जनाको एनजी छ । 

यस्तो छ प्रदेशगत रिजल्ट 

सार्वजनिक नतिजा विवरणअनुसार सबैभन्दा राम्रो रिजल्ट बागमती प्रदेशको आएको छ । सबैभन्दा कमजोर नतिजा लुम्बिनी प्रदेशको छ । 

बागमतीमा ९९ हजार ८७२ जनाले परीक्षा दिएकोमा ३३ हजार ८४३ जनाको मात्र ननग्रेड आएको छ । उत्तीर्णमध्ये १५ हजार ७६६ जनाले ३.६० देखि ४ जीपीए (ए प्लस) ल्याएका छन् । ३.२० देखि ३.६० (ए) ल्याउने विद्यार्थीको संख्या २३ हजार ४०३ रहेको छ । 

१९ हजार ९९ विद्यार्थीले भने २.८० देखि ३.२० जीपीए (बी प्लस) ल्याएका छन् । २.४० देखि २.८० (बी) ल्याउनेको संख्या सात हजार ४३० रहेको छ । ३३० जनाले २ देखि २.४० जीपीए (सी प्लस) ल्याउँदा १.६० देखि २ जीपीए (सी) ल्याउनेको संख्या एक रहेको छ । 

यता, लुम्बिनीमा ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४९ हजार २२४ जना फेल भएका छन् । उत्तीर्णमध्ये तीन हजार २९० जना विद्यार्थीको ए प्लस आएको छ । कोशीमा ७५ हजार ९८८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ३९ हजार ८९५ जनाको एनजी आएको छ । तीन हजार ९९६ जना विद्यार्थीले भने ए प्लस ल्याएका छन् । 

मधेशमा ७९ हजार ५९२ जनाले एसईई दिएकोमा ४२ हजार २८६ विद्यार्थी अनुतीर्ण भएका छन् । यहाँ तीन हजार ९५७ जनाको ए प्लस आएको छ । गण्डकीबाट ४० हजार ५२६ जना विद्यार्थीले परीक्षा दिएकोमा २० हजार २७५ जनाको ननग्रेड आएको छ । दुई हजार ९६९ जनाले ए प्लस ल्याएका छन् ।

 कर्णालीमा ३५ हजार ३४ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २० हजार ३८० जनाको ननग्रेड आएको छ । उत्तीर्णमध्ये ४४१ जनाले ए प्लस ल्याएका छन् । सुदूरपश्चिममा ५३ हजार ४४६ जना विद्यार्थीले एसईई दिएकोमा ३६ हजार ४१० जना फेल भएका छन् छन् । पास हुनेमध्ये ७९० जनाले भने ए प्लस ल्याएका छन् ।

टिप्पणीहरू