उपसभामुख इन्दिरालाई पनि विदेशीले भीसा दिएनन्

उपसभामुख इन्दिरालाई पनि विदेशीले भीसा दिएनन्
सुन्नुहोस्

कानून निर्माणको मूल थलो संसदको नेतृत्वदायी भूमिकामा रहने उपसभामुख आफैँमा सम्मानित पद हो । राज्यका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्य पनि हो,उपसभामुख । यति महत्वपूर्ण पदमा आसिन व्यक्तिले पदीय हैसियत बिर्सेर आफूलाई 'बिचौलिया'को भूमिकामा उभ्याएपछि राष्ट्रकै बेइज्जत भएको छ । 

उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन यहाँस्थित अमेरिकी दूतावासमा भिसा आवेदन दिएको रहस्य खुलेपछि यस्तो प्रश्न उठेको हो । उच्च जानकार स्रोतले बताएअनुसार उनले आफू र अरु ६ जनाको नाम राखेर आवेदन दिएकी थिइन् । तर,अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन । 

राष्ट्रिय स्वतन्त्र पार्टीले तामाङ थरका ती युवाहरुबाट मोटो रकम उठाएर उपसभामुखमार्फत अमेरिका पठाउन खोजेको जानकार स्रोतको दाबी छ । यसबारे सबै तथ्य खुल्ने कागजात केही सांसदको हातमा परिसकेको र छिट्टै सार्वजनिक हुने बुझिएको छ । 

राज्यबाट भिआइपी सुविधा पाउने कुनै पनि व्यक्ति विदेश जानुपरे भिसा लगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ । उपसभामुखको हकमा संसद सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ । तर, उपसभामुख रानाले भने सिधै आफै पत्र लेखेर भिसा आवेदन हालेको दाबी गरिएको छ ।

यसअघि एनआरएनए युकेको निमन्त्रणामा मार्च २ तारिख शनिबारका दिन लण्डन जान लाग्दा पनि रानामगरको भ्रमण भीसा अस्वीकृतिका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो ।

टिप्पणीहरू