गुप्तचर र तस्करको डिल,आके मुझे मिल....

सुन्नुहोस्

राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तुका एसपी गोपाल पन्थीले तस्करहरुसंग दोस्ती बढाएका छन् ।

प्रधानमन्त्री मातहतको अनुसन्धान कार्यालय प्रमुख आफै तस्करी गराउन लागेपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसमेत आजित बनेका छन् । जिल्लाभित्रका गोप्य घटना,सूचना तथा सम्भावित थ्रेट वा घटनाको जानकारी संकलन गरी पठाउने जिम्मेवारी पाएका पन्थीको उठबस शंकास्पद छ ।

सरकारले दिएको को १ झ ४५५ नम्बरको सेतो गाडी सधैं जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्रको चोर नाकाहरुमा तैनाथ हुन्छ । चाकरचौडाबाट माछाको कारोबार गर्ने एक व्यापारी सम्झेर उनले एक स्थानीयसंग लाइनको डिल गरेको अडियो जनआस्थालाई प्राप्त भएको छ । उक्त अडियोमा पन्थीले आधा कचल्टो हिन्दी भाषामा सत्यनारायण व्यापारी सम्बोधन गर्दैै आफूलाई “पकडी अगाडि आके मुझे मिलना” भन्दै “आफ्नो काम करो,हम आके मिलेंगे” भन्दै जवाफ फर्काएका छन् । उनले तेश्रो पटकमा ६ हजार मासिक दिन आग्रह गरेको पनि सुनिन्छ । उनले हिन्दीमा आफू गुप्तचरको एसपी भएको र नेपाल प्रहरीसहित सशस्त्र प्रहरीको एसपीलाई भनेर माहोल मिलाइदिनेसमेत आश्वासन दिएको पाइन्छ । 

४ महिनाअघि आएदेखि गुप्तचर विभागका जिल्ला प्रमुख पन्थीले कबनपा ८ मैनिहवाका स्थानीय चन्दन कहारलाई आफ्नो रकम उठाउने एजेन्टको रुपमा राखेको श्रोत बताउँछ । चन्दनले कुन–नाकाबाट कुन तस्करले के सामान ल्याउँछ भन्ने जानकारी र फोन नम्बरसमेत दिने गर्दछन् । उक्त जानकारीपश्चात एसपी पन्थी आफै खटिने र डिल गर्ने गर्दछन् ।

रकम लिन कहारलाई परिचालन गर्दछन् । पन्थीले मर्यादपुर नाकामा अनुसन्धान हवल्दार विक्रम खड्कालाई समेत रंगपुर, खुनुवा,हरदौना एरियाको तस्करबाट रकम असुल्न राखेको श्रोतको दाबी छ । साइकल, मोटरसाइकलमा सामान्य घर खर्चका लागि ल्याउनेहरुसंग समेत उनले मौका पाएमा रकम लिन पछि पर्दैनन् । केही दिन अगाडि कपिलवस्तुबाट गएको गोरु तनहुँको आँबुखैरनीमा समातिएपछि एसपी पन्थीको संलग्नतासमेत देखिएको भन्दै समाचारहरु आएका थिए । उनले स्थानीय गोरु तस्कर नुनु भन्नेसंग २० हजार लिएर अन्य सुरक्षा निकायलाई मिलाउन सहयोग गरेको आरोपसहित उजुरी परेको थियो । 

वैशाख दोश्रो साता यशोधरा ४ हथिहवाका प्याज व्यापारी छोटु यादवसंग ३ हजार लिएको हल्ला बढेपछि सुरक्षा समितिको बैठकमै कुरा उठेको थियो । यसैगरी रंगपुरका चामल व्यापारी चिनक जैसवालसंग २५ किलो चामल लिएकोदेखि हथिहवा दोहनी क्षेत्रका किराना व्यापारी रामा यादवसंग ज्येष्ठ दोश्रो सातातिर ४ हजार बुझेर सामान छाडेको समेत गाइँगुइँ छ । मर्यादपुरका कपडा व्यापारी सन्दिप जैसवालसंग असार २४ गते राती ५ हजार लिएर सामान छाडेको समेत श्रोतले बताएको छ । यति मात्र होइन नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका तस्करको सामान छुटाउनसमेत उनी लागि पर्दछन् । 

आफ्नो जिम्मेवारी बिर्सेर सीमा क्षेत्रका पोके तस्करसंग डिल गर्न थालेपछि एसपी पन्थी मात्र होइन राष्ट्रिय अनुसन्धान (गुप्तचर विभाग) को समेत आलोचना र औचित्यमाथि प्रश्न उठ्न थालेको छ । उनले भाग माथि चिफ हुतराज थापासम्म पुर्याउने बाध्यता रहेको बताउने गरेका छन् ।

टिप्पणीहरू