आरजु दिल्लीबाट फर्केलगत्तै मध्यरात के भयो बालुवाटारमा ?

आरजु दिल्लीबाट फर्केलगत्तै मध्यरात के भयो बालुवाटारमा ?

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत भ्रमणका दौरान दिल्लीमा पाएको स्वागत सत्कारबाट प्रधानमन्त्री केपी शर्मा ओलीमा बढेको त्रास र छटपटीको अन्तरकथा प्राप्त भएको छ । सार्वजनिक मन्चहरुमा प्रकट नगरे पनि गोप्य छलफलमा भने सत्ता साझेदार नेपाली कांग्रेस र छिमेकी भारतप्रति उहाँ कतिसम्म आशंकित हुनुहुँदो रहेछ भन्ने कुरा विश्वस्त स्रोतले सुनाएको हो । 

आरजु नेपाल फर्किएको भोलिपल्ट भदौ ७ गते शुक्रबार उपेन्द्र यादवको पार्टीबाट फुटाईएका अशोक राईलाई मध्यराति १२ बजे बालुवाटार बोलाइयो । ओलीकै योजनामा पार्टी फुटाएको भनिएका उनलाई रातारात भेटेर जे मन्त्रणा गरियो त्यसको एउटा झाँकी यहाँ प्रस्तुत गरिएको छ । भारतले भ्रमणको निम्ति नदिएकोमा निराश देखिनुभएका उहाँले प्रस्ताव राख्नुभयो- 'तपाईंहरुको क-कसलाई कसरी व्यवस्थापन गर्नपर्ने हो म तयारै छु । अब हामी एकतावद्ध बनौँ । पहिला पनि यौटै पार्टीमा थियौँ ।' भारतप्रति निकै आशंकित देखिनुभएका उहाँको आसय थियो- 'कांग्रेसको भर छैन, मलाई साथ दिनुस् ।'

यसबीच ओलीका सार्वजनिक अभिव्यक्तिहरुबाट पनि कांग्रेसप्रति उहाँको विश्वास टुट्दै गएको संकेत पाइन्छ । जस्तो आरजु भारतबाट फर्किएको केही दिनपछि उहाँले 'महिला प्रधानमन्त्री बनाउने तयारीमा रहेको' भन्दै भारत र बूढानिलकण्ठलाई एकैचोटी आश्वस्त पार्ने प्रयास गर्नुभयो । कांग्रेस-एमाले गठबन्धन बनाउन भूमिका खेलेको भनिएका सञ्चार उद्यमी रामेश्वर थापाको पुस्तक बिचोचन कार्यक्रममा देउवाकै अगाडि आलोपालो प्रधानमन्त्रीको सहमति पालना गर्ने प्रतिवद्धता दोहोर्याउनुभयो । भारतले भ्रमणमा बोलाएन भन्नु, महिला प्रधानमन्त्रीको नाममा सार्वजनिकरुपमै आरजुलाई प्रधानमन्त्री अफर गरिनु, जीवनमै पहिलोचोटी आफ्नो कार्यकाल आफैँ तोक्नु अनि अशोकसँग एकताका लागि हात फैलाउनु- शृंखलावद्ध रुपमा प्रकट भएका यी घटनाक्रमले गठबन्धनप्रति प्रधानमन्त्री ओली विश्वस्त नरहेको बुझ्न सकिन्छ । 

तर, सात सिटे अशोकको जसपालाई ओलीले किन यतिधेरै महत्व दिनुभयो ? उहाँको रणनीति छ- एमालेलाई संसद्को सबैभन्दा ठूलो दल बनाउने र संविधानको धारा ७६ (३) अन्तर्गत प्रधानमन्त्री हुने अवस्थामा आउँदा आफ्नो हात माथि पार्ने । त्यसनिम्ति आफ्नै पहलमा उपेन्द्रबाट फुटाईएका अशोकहरुलाई एमालेमा मिसाउने । किनभने अहिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको ८९ सिट छ । ७८ सिटको एमालेलाई पहिलो पार्टी बन्न थप १२ सांसद आवश्यक पर्छ । अशोकका सात भाइलाई एमालेमा अहिले मिसाईहाल्ने र दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एकीकृत समाजवादीलाई टुक्र्याएर प्रेम आलेहरुलाई पनि तान्ने योजना छ । त्यसो हुँदा संसदमा एमालेको सिट ९० पुग्छ । 

अशोकहरुसँग भनिएको छ- आलेसहित एकीकृत समाजवादीका पाँच जना सांसद एमालेमा मिसिन तयार छन् । तर, मूल पार्टीबाट छुट्टिएको पाँच वर्षभित्र दल विभाजन गर्न नमिल्ने कानुनी व्यवस्थाले मात्र उनीहरु रोकिएका हुन् । यो जटिलता फुकाउन संसद् अधिवेशन अन्त्यलगत्तै राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ मा संशोधन गर्दै पाँच वर्षको ठाउँमा तीन वर्ष बनाउने योजना अघि बढाइने छ । 

तर, जसपा विभाजनले मान्यता पाइनसकेको स्थितिले यस्तो रणनीति अघि बढ्न सकेको छैन । जसपा फूटविरुद्ध उपेन्द्रले हालेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रारम्भिक सुनुवाईपछि दल विभाजनसम्बन्धी भएका सबै निर्णय यथास्थितिमा राख्न आदेश दिएको अदालतले भदौ १३ गते फैसला सुनाउने अपेक्षा गरिएको थियो । तर, हेर्न नमिल्नेमा पारेर फेरि मङ्सिर ६ गतेका लागि सारिएको छ । यसकारण तदर्थ हैसियतमा रहेको सो दलले गर्ने राजनीतिक निर्णयले संवैधानिक तथा कानुनी मान्यता नपाउने अवस्थामा ओलीले भने अशोकसँग प्रस्ताव गर्नुभयो- 'अस्थायी रुपमा भए पनि मिलौँ !' 

एमालेमा मिसिन तयार रहेको भनिएता पनि अशोक माधव नेपाल र प्रचण्डसँग पनि संवादमै रहेको सो पार्टीका नेताहरुले खुलाएका छन् । 'तपाईं पनि ओली पीडित हामी पनि ओली पीडित' भन्दै हालैको एक भेटमा माधवले सहकार्यको प्रस्ताव गरेको एक नेताले बताए । प्रचण्डले पनि पहिचानको मुद्दामा दृष्टिकोण मिल्ने भएकाले साझा धारणा बनाएर जान प्रस्ताव राखेको स्थिति अर्कोतिर छ । यो परिस्थितिका बीच आरजूको दिल्ली भ्रमणबाट आशंकित हुनुभएका प्रधानमन्त्री ओलीले अशोकलाई आफ्नो 'ग्रिप'बाट फुत्किन नदिन बालुवाटार बोलाएर गोप्य संवाद गर्नुभएको बताइन्छ ।    

'भन्नलाई त प्रचण्डलाई भुक्ने कुकुर,ओलीलाई टोक्ने कुकुर' अशोक राईहरुको बिचमा आजकाल चर्चा हुने गर्छ । जसरी प्रचण्डले आफूले जसपा फुटाएको घमण्ड गर्नुभयो तर खासमा फोरेको ओलीले थियो । 'भुक्ने र टोक्ने' को कुरा यो सन्दर्भमा उठ्ने गरेको हो । तर, जसपाकै मान्छेहरु ओलीले चाहेरमात्र पार्टी फुटेको होइन भन्छन् । अशोकहरु बाहिरिनुमा उपेन्द्रको कार्यशैली पनि उत्तिकै जिम्मेवार रहेको उनीहरुको भनाई रहँदै आएको छ । 

जस्तो नवलकिशोर साह सुड्डी र वीरेन्द्र महत्तोलाई उपेन्द्रले नै मन्त्री बनाएका थिए । तर, उनीहरु समेत विभाजनको पक्षमा उभिए । अहिले महिला मन्त्रीमा निरन्तरता पाएका नवलकिशोर पैसा मागेको माग्यै गरेबाट असन्तुष्ट थिए । ०६३/०६४ सालमा गठित मधेसी जनअधिकार फोरमबाट ०६५ मा विजय गच्छेदारहरु अलगिएसँगै मन्त्री र सांसदको लोभ देखाएर पैसा उठाउन थालियो । त्यसरी उठाएको सारा पैसा श्रवण अग्रवालको रड उधोगमा लगानी गरियो । श्रवण मरेपछि अहिले हिसाब गोलमाल छ । त्यसपछि उपेन्द्रको तर्फबाट बलराम महतोको उधोग धन्दामा लगानी गरिएको छ भनिन्छ । यो कुरा थाहा पाएका वीरेन्द्र महत्तोहरु असन्तुष्ट छँदै थिए । सरोज यादव, लालबहादुर राउत गद्दीहरुसँग कति पैसा उठाइयो हिसाब छैन । प्रदिप यादव जता पनि मिल्ने तयारी अवस्थामै थिए । 

पार्टीभित्रको बढेको यस्तो असन्तुष्टिले विभाजनको रेखा कोरिरहेका बेला ओलीले सहजीकरण भने गरिदिएको अशोकतिर लागेकाहरु बताउँछन् । एक नेता भन्छन्- 'पार्टीमा उपेन्द्रको एकलौटीविरुद्ध विद्रोह गर्नेक्रममा ओलीजीले सहजीकरण गरिदिनुभएकै हो ।' उनका अनुसार अशोक राईलाई बोलाएर निर्वाचन आयोग, अदालत सबै मैसँग छ । ०८४ अघिसम्मै हामी एकतावद्ध भएर जानुपर्छ भनिएको थियो । र, सरकारमा लिने विश्वास पनि दिलाइएको थियो । 

दावीअनुसार अदालतले भदौ १३ मै बोल्दिएको भए उपेन्द्रको पार्टीमा अर्को विभाजनको खतरा थियो । सहअध्यक्ष वा बरिष्ठ उपाध्यक्ष खोजेका राजकिशोर यादवलगायतको एउटापंति पदाधिकारी चयनमा एकलौटी गरिएको भन्दै रुष्ट छन् । महन्थ ठाकुरले जसपा फुटाएर लोसपा बनाउँदा उनलाई साथ नदिएर उपेन्द्रसँगै रहेका तत्कालीन राजपा पक्षधर राजकिशोर, सप्तरीका मृगेन्द्र सिंह यादव र रौतहटका पूजा चौधरी जो अहिले सांसद पनि छन्, उनीहरु विभाजनसम्मको तहमा असन्तुष्ट रहेको अवस्था हो । तर, अशोकहरुकै फुटले मान्यता नपाएको अवस्थाले उनीहरुले आँट गर्न सकेनन् । 

राष्ट्रिय राजनीतिको यो परिदृश्यमा प्रधानमन्त्री ओली भारतसँग झन् सशंकित हुनुको कारण हो यसबीच उहाँले सोचेजस्तो विश्वासको वातावरण नबन्नु  । ओलीप्रति भारतको चित्त दुखाइको दुइटा पाटो छ भनिन्छ । एउटा, उहाँले प्रकट गर्ने गरेको राम र अयोध्याको विषय, जुन भारतीय सत्ताधारी बिजेपीको प्रतिष्ठासँग जोडिएको छ । किनभने मुस्लिमहरुसँग लडेर बाबरी मस्जिद भत्काई लखनउमा अयोध्य खडा गरेको र त्यसैको जगमा यत्रो विजय हाँसिल गरेको बिजेपीको मूल एजेण्डा नै हो यो । त्यसैले 'राम नेपालमा जन्मिएको' ओली अभिव्यक्तिलाई नरेन्द्र मोदीले सहज मानेका छैनन् । नेपालको गौतम बुद्धलाई भारतमा जन्मेको भन्न हुने राम नेपालमा जन्मेको भन्न किन नहुने भन्ने ओलीले तर्क दिने गर्नुभएको छ । तर, नेपालको संसद्मै मोदीले बुद्ध नेपालमा जन्मिएको भनिसकेपछि अयोध्याको कुरा गरेर किन निउ खोज्ने ? भन्ने भारतीयहरुको भनाई रहँदै आएको छ ।

त्यस्तै, भारतको निशाना छापमा रहेको 'सत्यमेव जयते' लाई ओलीले संसद्को रोष्टमबाटै 'सिन्हमेव जयते' भएकोमा पनि भारतको आपत्ति छ । दुई देशबीच अन्य मामिला आपसमा मिलेर सल्टाउन सकिने भएपनि देशको अपमान खप्न सकिंदैन भन्ने आशयमा बिजेपी र कंग्रेस आइका नेताहरु ठाउँ-ठाउँमा प्रकट हुने गरेकै छन् । परराष्ट्रमन्त्रील़ाई भव्य स्वागत गरेको साउथ ब्लकले प्रधानमन्त्रीलाई औपचारिक भ्रमणको निम्तो नदिनुमा यो सन्दर्भ जोडिने जानकारहरु बताउँछन् । 

देशभित्र र बाहिरको यो परिस्थितिमा चासोका साथ हेरिएको छ, एमालेलाई पहिलो दल बनाउने ओलीको रणनीति कसरी अगाडि बढ्छ र कांग्रेसको भूमिका कस्तो रहन्छ ! प्रश्न छ- मुख्य प्रतिश्पर्धी दललाई बलियो बनाउने गरी अध्यादेश ल्याउन कांग्रेस सहमत होला ? मन्त्रालय भागबण्डाका बेला कानुन मन्त्रालयमा लिएको अडान र पछिल्लो पटक सचिव हेरफेरसम्म आइपुग्दा कांग्रेस सजिलै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन तयार हुने देखिंदैन । एमाले निकट भनिएका सचिव फणिन्द्र गौतमलाई कानुन मन्त्रालयबाट झिकेर कांग्रेस सम्वद्ध उदय सापकोटालाई ल्याइएबाट पनि धेरैकुरा छर्लंग हुन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू