विदेशी मुद्राको अवैध कारोबारमा सिआइबीको निगरानी

विदेशी मुद्राको अवैध कारोबारमा सिआइबीको निगरानी

वैदेशिक रोजगारीमा गएका नेपालीले हुण्डीलगायत अवैध माध्यमबाट ठूलो मात्रामा रकम नेपाल पठाउने गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को अनुसन्धानबाट यस्तो खुलासा भएको हो । 

अनुसन्धानको क्रममा युएई, कतार, कुवेत, अस्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायत विभिन्न देशमा रहेका नेपालीले त्यहाँ आर्जन गरेको रकम वैधानिक प्रक्रियाबाट नपठाई हुण्डी तथा अवैध मुद्रा कारोबारमा संलग्न व्यक्ति तथा संस्थामार्फत नेपाल पठाउने गरेको पाइएको सिआइबीले जनाएको छ । यसबाट विदेशी मुद्राको सञ्चितिमा ह्रास आउनुका साथै अर्थतन्त्र धरायसी हुने जोखिम बढ्दै गएको सिआइबीको चिन्ता छ । 

‘त्यस्ता कारोबारीहरुले त्यस्तो रकम विभिन्न देशहरुमा क्रिप्टोलगायत विभिन्न माध्यममार्फत पठाई सुनलगायत विभिन्न अवैध सम्पत्तिमा लगानी गर्ने र त्यस्ता समूहले नेपालमा रहेका एजेन्टमार्फत नेपालमा त्यस्ता अवैध वस्तुहरु बिक्रीबाट प्राप्त रकम विदेशमा रहेका नेपालीहरुको नेपालस्थित आफन्तहरुको बैंक खातामा जम्मा गरेको देखिएको छ,’ सिआइबीले भनेको छ । सिआइबीका अनुसार यसरी प्राप्त भएको विदेशी मुद्रा अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानव तस्करी, भ्रष्टाचार, गैरकानूनी सम्पत्तिको आर्जन, आतंककारी क्रियाकलाप र अभौतिक मुद्रामा लगानी गर्ने साथै सोको हिसाबकिताब मिलान कार्यमा प्रयोग हुने गरेको छ । 

‘यसले नेपालमा विदेशबाट प्राप्त हुने विदेशी मुद्राको सञ्चितिमा ह्रास, पुँजी पलायन, अनौपचारिक अर्थतन्त्रमा वृद्धि हुन गई अर्थतन्त्र धराशायी हुने, अर्थतन्त्रमा प्रतिकूल प्रभाव परी विकास निर्माणमा असर पर्ने, मूल्यमा अस्थितरता एवम् उतार–चढाव, लगानीको सुरक्षासम्बन्धी जोखिमहरु बढ्दै जाने भएकाले नेपाल बाहिर तथा नेपालमा रहेका सबै नेपाली नागरिकहरुको अवैध कारोबार रोक्ने तथा गर्ने गराउनेहरुलाई निरुत्साहित गर्नका लागि सम्बन्धित निकायमा जानकारी गराउनु सर्वसाधारण नागरिकको कर्तव्य पनि हो,’ सिआइबीले विज्ञप्ति जारी गर्दै भनेको छ । 

विदेश वा नेपालभित्रै रही यस्तो अवैध कारोबारमा संलग्न हुनेहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०२८, मुलुकी अपराध संहिता, २०७४, संगठित अपराध निवारण ऐन, २०७० लगायत प्रचलित कानूनबमोजिम कारबाही हुने सिआइबीको चेतावनी छ । 

साथै, वैदेशिक रोजगार, अध्ययन एवम् विदेशमा स्थायी रुपमा बसोबास गरेका नेपाली नागरिकका नेपालमा रहेका आफन्तलाई पनि आफ्नो बैंक खातामा जम्मा भएको रकम को–कसले जम्मा गरेको हो र उक्त रकम वैध प्रक्रियाबाट आएको हो वा होइन भनी रुजु गरी अवैध प्रक्रियाबाट आएको देखिए समयमै सम्बन्धित निकायमा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

 

टिप्पणीहरू