२४ वर्षमा २६ वटा जहाज दुर्घटना,४१० जनाले ज्यान गुमाए

२४ वर्षमा २६ वटा जहाज दुर्घटना,४१० जनाले ज्यान गुमाए
सुन्नुहोस्

आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जहाजमा सवार १९ मध्ये १८ जनाको दु:खद निधन भएको हो । 

यससँगै नेपालमा पछिल्लो २४ वर्षमा २६ वटा जहाज दुर्घटना भएको छ भने ४१० जनाले ज्यान गुमाउनु परेको छ । गत वर्ष मात्रै दुई वटा जहाज दुर्घटना भएका थिए । सन् २०२३ मे १५ मा यती एयरको जहाज कास्कीमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएकाे थियाे । 

मे ५ मा सिम्रिक एयरको जहाज संखुवासभामा दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भए । त्यस्तै, सन् २०२२ मे २९ मा तारा एयरको जहाज मुस्ताङमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाए । 

सन् २०१९ मा दुई वटा जहाज दुर्घटनामा परे । फेब्रअरी २७ मा डायानास्टी एयर र अप्रिल १७ मा समिट एयरको जहाज दुर्घटना हुँदा क्रमश: सात र तीन जनाकाे घटनास्थलमै मृत्यु भएको थियो । 

त्यसको अघिल्लो वर्ष सन् २०१८ मा युएस बंगला एयरलाइन्सको जहाज काठमाडौँमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो भने अल्टिच्युडको जहाज नुवाकोटमा खस्दा सात जनाले ज्यान गुमाएका थिए । 

सन् २०१७ मा समिट एयरकै अर्को जहाज सोलुखुम्बुमा दुर्घटना भयो । उक्त दुर्घटनामा सात जनाको निधन भएको थियो । सन् २०१६ मा काष्ठमण्डप र ताराको दुई जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु भयो । 

सन् २०१५ को जुन २ मा सिन्धुपाल्चोकमा र मे १५ मा दोलखामा गरी दुई जहाज दुर्घटना भए । त्यतिबेला १७ जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा नेपाल एयरलाइन्सको जहाज कास्की दुर्घटना हुँदा १४ जनाको निधन भयो । 

त्यस्तै सन् २०१३ मा तीन वटा जहाज दुर्घटना भएका थिए । अग्नि डोर्नियरको जहाज मुस्ताङमा, सीता एयरको जहाज काठमाडौँमा र बुद्ध एयरको जहाज ललितपुरमा दुर्घटना हुँदा क्रमश: १५, १९, १९ जनाको ज्यान गयो । 

सन् २०११ को वर्ष भने कुनै जहाज दुर्घटना भएन । सन् २०१० मा अग्नि र तार एयरका एक-एक वटा जहाज दुर्घटना हुँदा ३४ जनाको मृत्यु भयो ।

सन् २००८ मा यतीको जहाज सोलुमा दुर्घटना हुँदा १८ जना, सन् २००६ मा श्री एयरको र यतीकै जहाज दुर्घटनामा नौ-नौ जनाले ज्यान गुमाउनुपर्यो । 

सन् २००३ अगस्ट २२ मा सांग्रीला एयरको जहाज कास्कीमा खस्दा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसअघि सन् २००१ मा फिस्टेलको जहाज सुर्खेतमा दुर्घटना हुँदा ६ र सन् २००१ मा नेपाल एयरलाइन्सको जहाज डडेल्धुरामा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए ।

उहाँ हुनुहुन्छ आज भएको प्लेन दुर्घटनामा पारेर बाँचेका एक मात्र व्यक्ति मनिष शाक्य जो उक्त प्लेनको पाइलट हुनुहुन्थ्यो। उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना !

टिप्पणीहरू