फेक आइडीको फन्दामा, उचाल्ने–पछार्ने धन्दामा

फेक आइडीको फन्दामा, उचाल्ने–पछार्ने धन्दामा

सूचना प्रविधिको विकासले ‘विश्वलाई एउटा अलग दुनियाँ’ बनाएको छ । सबैको हात–हातमा स्मार्टफोन छ भने घर–घरमा इन्टरनेट जडान । सूचना प्रविधिको सबैभन्दा महत्वपूर्ण देन हो, सामाजिक सञ्जाल । यसले विश्वलाई एकत्रित बनाइदिएको छ । जहाँ बसे पनि दुनियाँको हरेक घटनाबारे जानकारी पाउन सकिन्छ । 

जनसंख्याको ठूलो हिस्साले सामाजिक सञ्जालको प्रयोग गर्दछ । व्यक्तिगत सन्देश छिटो आदान–प्रदान गर्ने एक मात्र माध्यम सामाजिक सञ्जाल भएकै कारण आजको युग आधुनिकताको युग बन्न सकेको हो । ह्वाट्स एप, भाइबर, फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्विटरलगायत थुप्रै एप्लिकेशन प्रयोगमा छन् । यी एप्लिकेशनका करोडौं प्रयोगकर्ता छन् । सामाजिक सञ्जाल ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ जस्तै हो । 

सामाजिक सञ्जाल जति उपयोगी छ, उत्तिकै हानिकारक पनि । चलाउन जान्नेलाई यसको अनगिन्ती फाइदा छन् । यद्यपि, पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग बढी भइरहेको छ । समाजमा नकारात्मकता फैलाउने अस्त्र बन्दै गएको छ, सामाजिक सञ्जाल । मुलुकमा सबैभन्दा धेरै फेसबुकका प्रयोगकर्ता छन् । फेसबुकबाट सेकेण्ड–सेकेण्डको सूचना लिन सकिन्छ । व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने उत्तम माध्यम हो, फेसबुक । दुर्भाग्यबस्, यो अहिले अश्लिलता र छाडापन फैलाउने माध्यम बन्न पुगेको छ ।

सानातिना विवादसमेत सामाजिक सञ्जालमा पोष्ट गरेर ठूलो बनाइन्छ । कसैको भित्री पोल खोल्नु छ भने सामाजिक सञ्जालकै दुरूपयोग गरिन्छ । व्यक्तिगत कुराहरू सामाजिक सञ्जालमार्फत छरपष्ट पारिन्छ । रिस उठ्यो कि सामाजिक सञ्जालमार्फत दनक दिइहाल्ने प्रवृत्ति मौलाएको छ । ‘फेक आइडी’ बनाएर महिलाको नग्न तस्बिर राखिदिने, एउटाको तस्बिरमा अर्कोको शरीर जोडेर पोष्ट गर्ने, जथाभावी टिकाटिप्पणी गर्ने, अरुलाई होच्याउनेलगायतका कार्य व्यापक भइरहेको छ ।

यता, कतिपयको पारिवारिक सम्बन्धमा दरार आएको छ । सामाजिक सञ्जालको व्यापक दुरूपयोग हुन थालेपछि सरकारले त्यसलाई नियमन गर्न ‘सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ जारी गरेको छ । जसमा फेक आइडी, पेज, ग्रुप बनाउन नहुने उल्लेख छ । त्यस्तै, सो पेजमार्फत ‘कन्टेन्ट’ उत्पादन गरेर सेयर गर्ने, अरुको ‘कन्टेन्ट’ शेयर गर्ने वा ‘कमेण्ट’ गर्ने कार्य गर्न नहुने भनिएको छ ।

तैपनि, त्यस्ता कार्यमा रोक लाग्न सकेको छैन । सरकारको ऐन मिच्दै सरकारी निकायले नै ‘फेक आइडी’ खोल्ने गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सल्लाहकार कुमार व्यञ्जनकारमाथि विभिन्न फेक फेसबुक पेज खोलेर जथाभावी सामग्री हाल्ने गरेको आरोप लागेको छ । महानगरपालिकालाई फेक आइडी बनाउने कारखाना बनाएको भन्दै चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जालको दुरूपयोग गरी अर्कालाई हिलो छ्याप्ने उनलाई अधिकांशले सामाजिक सञ्जालमार्फत नै कडा जवाफ फर्काएका छन् । उनले फेक आइडी बनाउन समूह नै खडा गरेको बताइन्छ । यसरी नै भारत, युरोप, अष्ट्रेलिया, अमेरिकाको ठेगाना राखेर फेसबुक पेज खोल्ने र अर्काको चरित्रहत्या गर्ने भइरहेको छ । 

‘ट्रोल नेपाल’, ‘मिम्स नेपाल’ लगायतका फेसबुक पेज उनकै भएको स्रोत बताउँछ । ती फेसबुक पेजमा अर्कालाई गाली गरेको सामग्रीहरू मात्र भेटिन्छ । हुन त उनले नामै ‘ट्रोल’ बाट राखेका छन् । जनताले तिरेको करबाट तलब खाएर नक्कली फेसबुक बनाउँदै जथाभावी सामग्री हाल्ने उनीमाथि छानबिन हुनुपर्ने माग उठेको छ । 

के हो फेक आइडी ? 

गैरकानुनी धन्दा चलाउने नियतले फेसबुक, इन्स्ट्राग्रामलगायत सामाजिक सञ्जालमा बनाएको आइडी फेक आइडी हो । ठग्ने, ब्ल्याकमेलिङ गर्ने, बैंक खाता वा गोप्य विवरण ह्याक गर्नेलगायतका उद्देश्यले फेक आइडी बनाइएको हुन्छ । फेक आइडी बनाउँदा सबै विवरण झूटो राखिएको हुन्छ । सामान्य आइडीजस्तै हुने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्ताले फेक आइडी पहिचान गर्न सक्दैनन् । जसका कारण धेरै जना ‘ठग’ हरूको चंगुलमा फस्छन् । 

फेक आइडीको बाढी 

अहिले सामाजिक सञ्जालमा फेक आइडीको बिगबिगी छ । कुन ‘रियल’ हो कुन ‘फेक’ ? छुट्याउनै गाह्रो । हेर्दा उस्तै देखिएको फेक आइडीको विश्वासमा पर्दा धेरै पीडित बनेका छन् । ‘अनलाइन स्क्याम’ मा परेर लाखौं रूपैयाँ गुमाउनेहरू भेटिन्छन् । विभिन्न प्रलोभनमा पारेर सामाजिक सञ्जाल प्रयोगकर्तालाई ठग्ने गरिएको छ । सामाजिक सञ्जालमा ‘फ्रड’ हरूको लहड छ । तर, नियमनकारी निकायले खासै चासो देखाएको पाइँदैन । जसकारण ठगिनेको संख्या निरन्तर उकालो लाग्दो छ । 

ठेगाना विदेशी, ठगी नेपालमा 

अधिकांश फेक आइडीमा ठेगाना विदेशी राखिने गरिएको जानकारहरू बताउँछन् । विदेशी ठेगाना राखेपछि ठग्न सजिलो हुने भएकाले त्यसो गरिएको उनीहरूको बुझाइ छ । पछिल्लो समय सामाजिक सञ्जालमा विदेशी ठेगाना राखेर खोलेका फेसबुक आइडीहरू छ्याप्छ्याप्ती भेटिन्छन् । आफू विदेशमा भएकाले राम्रो काम लगाइदिने, पार्सल पठाइदिने भन्दै ठग्ने गरिएको छ । 

यता, मिडियाहरू पनि विदेशी ठेगाना राखेर खुल्न थालेका छन् । खबर नेपालको, ठेगाना विदेशको राखेकाले ती फेसबुक पेज पनि नक्कली नै होकिजस्तो लाग्न सक्छ । स्मार्ट मिडियाको ठेगाना संयुक्त राज्य अमेरिकाको टेक्सास राखिएको छ । त्यस्तै, आवाजपाटीको इटाली, खबर बुलेटिन टिभीको युनाइटेड किङ्गडम, नेपाल अनलाइन टिभीको दक्षिण कोरियाको यसन, लिडर नेपालको भारतको दिल्ली, केटिएम खबरको अष्ट्रेलिया, गोल्डेन टिभीको इटालीको मोरी ठेगाना राखिएको छ । 

आफ्नो मिडिया छिटो ‘मोनिटाइज’ गर्नका लागि विदेशी ठेगाना राखिएको एक मिडियाका सञ्चालकले बताए । ‘विदेशी ठेगाना राखिएपछि मिडिया छिटो मोनिटाइज हुन्छ । त्यसैले विदेशी ठेगाना राखिएको हो’, उनले भने । 

कसरी चिन्ने फेक आइडी ? 

सामाजिक सञ्जालमा फेसबुक आइडीको ओइरो लागेको छ । यस्तोमा रियल आइडी कसरी चिन्ने ? प्रयोगकर्ताका लागि चिन्ताको विषय हो यो । फेक आइडी चिन्न नसक्दा पैसा गुमाउनुका साथै दुःख पनि पाउनुपर्ने हुन्छ । 

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थी साइबरसम्बन्धी अपराध ह्वात्तै बढेको बताउँछन् । चालु आर्थिक वर्ष १९ हजार बढी उजुरी परेको उनको भनाइ छ । उनका अनुसार ‘अकाउण्ट ह्याक’ को उजुरी सबैभन्दा धेरै पर्ने गरेको छ । त्यस्तै, आफ्नो अश्लिल फोटोहरू हटाउनका लागि पनि अत्याधिक निवेदन आउने गरेको उनले जानकारी दिए । ‘अनलाइन स्क्याम’ को उजुरी ह्वात्तै बढेको उनको जिकिर छ । ‘गिफ्ट’ पठाइदिने भन्दै ठग्ने गरिएको उनले बताए । तीन–चार वटा कुरामा ध्यान दिएमा साइबर ठगीबाट जोगिन सकिनेछ– ‘सब्सक्राइबर’ हेरेर, कमेण्टहरू पढेर । 

‘फेसबुक, इन्स्टाग्राममा सब्सक्राइबर हेरेर फेक पेज छुट्याउन सकिन्छ । कति सब्सक्राइबर छन् त्यो हेर्नुपर्छ । त्यसपछि कमेण्टहरू पढ्नुपर्छ । कमेण्ट पढ्दा केही ज्ञान हुन्छ । उसले ठगेको छ भने कमेण्टमा गुनासो गरिएको हुन्छ । कन्टेण्टमा एनालाइसिस गर्नुपर्छ । एक सयको सामान कसैले ५० रूपैयाँमा दिँदैन । यो कुरा उपभोक्ताले बुझ्नुपर्छ । सस्तोमा आईफोन पाएको छ भनेर हतारहतार पैसा भुक्तानी गरिन्छ । कुनै सामान बजारी मूल्यभन्दा कममा दिएको छ, त्यहाँ कुनै गोलमोल छ भन्नेमा सचेत हुनुपर्छ’, उनले भने ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू