सेना पुरानै रोगले अझ सिकिस्त ?

सेना पुरानै रोगले अझ सिकिस्त ?
सुन्नुहोस्

सेकेण्ड लप्टन पदमा भर्ना हुने उमेरको हद नसच्याउने हो भने आउँदा दिनहरूमा पनि जन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्रको लफडा कायमै रहने देखिन्छ ।

सेकेण्ड लप्टन पदमार्फत सेवा प्रवेश गर्ने उमेर हद १८ वर्ष तोकिएको छ भने शैक्षिक योग्यता आई.ए. वा सोसरह छ । अहिलेको शिक्षा प्रणालीअन्तर्गत आई.ए. उत्तीर्ण गर्नका लागि कम्तीमा १९ वर्षको उमेर पार गर्नुपर्ने हुन्छ । नर्सरी, एलकेजी, युकेजी हुँदै कक्षा १ मा पुग्न कम्तिमा ३ वर्ष लाग्छ । पहिला पहिला भने सोझै कक्षा १ मा भर्ना गर्ने, आजकलको जस्तो प्राइभेट र बोर्डिङ स्कूल पनि नभएकाले त्यो सम्भव हुन सक्थ्यो । तर आजकल पनि त्यस्तो सम्भावना ज्यादै कम छ । 

त्यसो त सेनामा शैक्षिक प्रमाणपत्रको लफडा आजदेखि होइन निकै अघिदेखिकै मानिन्छ । तत्कालीन राजा वीरेन्द्रका अंगरक्षकको रूपमा नेपाल प्रहरीको एआइजीबाट अवकाशप्राप्त रोहितचन्द्र थापाले वि.सं.२०४३/४४ सालमा काम गरेका थिए । उनी पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाको दाइ हुन् । सेनामा रहेका थापाले आफ्ना दाइलाई सप्तरीको प्रमुख भएको बेला दरबारमा काम गर्ने शाही अर्दली सर्वध्वज गुरुङ र भीमबहादुर खड्कालाई सहयोग गर्न अनुरोध गरेका थिए । त्यसबेलाका शाही अर्दलीको चल्तिफिर्ती अर्कै थियो ।

त्यसैले खड्काले आफ्ना छोराहरूको लागि बिहारबाट आईए पास गरेको प्रमाणपत्र मिलाउनु पर्‍यो भनेर एसपी थापालाई अनुरोध गरे । थापाले पनि खड्काका छोराहरू जितेन्द्र र देवेन्द्रका नाममा बिहारबाट शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन सहयोग गरे । राजाको अर्दली भएका कारण भेटघाटको मौकामा राजालाई सरकार छोराहरूले आईए पास गरेका छन्, अहिले सेकेण्ड लप्टनको जागिर खुलेको छ, जागिर मिलाइदिनुपर्‍यो भन्दै बिन्ती बिसाए ।

राजा वीरेन्द्रले प्रधानसेनापति नियमित रूपमा जाहेर गर्न आउँदा नाम टिपाउने बित्तिक्कै अर्दलीका दुवै छोरा लप्टनमा जागिरे भएका थिए । दुवै जना लेफ्टिनेट कर्णेलसम्म भए । तर नक्कली शैक्षिक प्रमाणपत्रको कारण दुवैको जागिर पछिल्लो समय चट् हुन पुग्यो । अर्दली सर्वध्वजको छोरा भने मैना सुनार काण्डमा दोषी ठहर भएर बर्खास्त भए ।

त्यसैगरी जर्नेल ओम पुनका छोरा अमित पुन पनि त्यसैमा डामिए । सेकेण्ड लप्टन पदमा १८ वर्षकै उमेरमा सेवा प्रवेश गरेको हुनु पर्ने प्रावधान छ, जुन त्यसबेलैदेखि अव्यवहारिक देखिएको थियो । तर यसलाई बेलैमा सुधार नगरेका कारण सेनामा जन्ममिति केरमेट गर्ने वा सच्याउने र नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा प्रवेश गर्ने चलनले प्रश्रय पाएको हो।

स्रोतका अनुसार खुराफात गरी जागिर खाएर कर्णेल र जर्नेल हुने अनि जागिर गुमाउनेको संख्या निकै छ । र, यो प्रक्रियालाई तोड्ने हो भने सेनामा प्रवेश गर्दाका प्रावधानलाई पुनरवलोकन गर्न आवश्यक देखिन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट) 

टिप्पणीहरू