सरकारबाट हटेपछि माओवादीले पत्ता लगायो पार्टी कमजोर बन्दै गएको तथ्य

सरकारबाट हटेपछि माओवादीले पत्ता लगायो पार्टी कमजोर बन्दै गएको तथ्य

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले वर्गीय दृष्टिकोण भुत्ते हुँदा पार्टी कमजोर हुँदै गएको निचोड निकालेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको चार दिन लामो पदाधिकारी बैठकले उक्त निष्कर्ष निकाल्दै शुद्धिकरणबाट पार्टीलाई एकताबद्ध बनाई जनतामा जाने कुरामा जोड दिएको छ ।

संसदका दुई ठूला दल नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाएसँगै नौ वर्षपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्रको पदाधिकारी बैठक शुक्रबारबाट शुरु भएको थियो । चार दिन लामो बैठकमा १८ जनाले आ–आफ्नो धारणा राखेको र सबैजसो नेताले संगठन सुदृढीकरणमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 

बैठकबारे जानकारी दिँदै उनले भने, ‘आजसम्म १८ जना कमरेडले आफ्ना धारणा राख्नुभयो । हामीले समयको पावन्दी तोकेका थिएनौँ । स्पष्ट रुपमा आफ्ना भनाइ राख्न भनेका थियौँ ।’

वर्गीय दृष्टिकोण बोधो भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको बैठकको निस्कर्ष छ । ‘पार्टी खुम्चिँदै जानुमा वर्गसँगको सम्बन्धमा कमी आउँदै जानु भन्ने रहेको छ । वर्गीय दृष्टिकोण भुत्ते, बोधो भयो । वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको छ । यसमा पनि हाम्रो व्यापक छलफल भएको छ । वर्ग र जनतासँग फर्किनुपर्छ भन्ने निचोड रहेको छ’, सापकोटाले सुनाए ।

टिप्पणीहरू