मन्त्रीले हुन्न भन्दाभन्दै सचिव फेर्दा प्रधानमन्त्रीको पेलाइ

मन्त्रीले हुन्न भन्दाभन्दै सचिव फेर्दा प्रधानमन्त्रीको पेलाइ
सुन्नुहोस्

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले एकैपटक २१ जना सचिव सरुवा गरेपछि हिजो दिनभरि अनेक चर्चा चलेको छ । हिजो बसेको क्याबिनेट बैठकले विभिन्न मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिव हेरफेर गरेको थियो । तर,प्रधानमन्त्रीले हस्तक्षेपपूर्ण ढंगले आफू अनुकूल सचिवहरुको जिम्मेवारी हेरफेर गर्दा सामान्य सल्लाहसमेत नगरेको एक मन्त्रीले गुनासो पोखे । 

क्याबिनेट बैठकमा प्रधानमन्त्री ओलीको तर्फबाट मुख्यसचिवले प्रस्ताव पेश गर्दा केही मन्त्रीले असहज महसुस गरे पनि चुपचाप बस्नुमै भलाई ठाने । मन्त्री र सचिवको तालमेल मिलिरहेको मन्त्रालयमा समेत प्रधानमन्त्रीको रुचिअनुसार सरुवा गरिएपछि एकजना मन्त्रीले भने सामान्य तर्क राखेका थिए ।

श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले 'हाम्रो मन्त्रालयका सचिव घनश्याम उपाध्यायले राम्रै गरिरहनुभएको छ' भन्दा तुरुन्त जवाफ फर्काउँदै प्रधानमन्त्रीले भन्नुभयो 'अब जाने सचिवले पनि राम्रै काम गर्नुहुन्छ, आत्तिनुपर्दैन !' त्यसपछि अरु मन्त्रीले थप प्रश्न सोध्ने हिम्मत गरेनन् । 

घनश्यामलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । अख्तियार प्रमुख प्रेमकुमार राईको चाहना बमोजिम उनलाई त्यता पठाइएको बुझिएको छ । घनश्याम अख्तियार प्रमुख राईका विश्वासपात्र मानिन्छन् । 

घनश्यामको ठाउँमा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई पठाईएको छ । कांग्रेस कार्यकर्ता भनी प्रचारित उनीमाथि सामान्य प्रशासनमा रहँदा कर्मचारीको बेमौसमी सरुवामा अतिरिक्त रुचि देखाएको आरोप थियो ।उ त्यस्तै, कमाऊ अड्डामा जाने कर्मचारीसँग सेटिङ्ग मिलाएको आरोपबाट पनि उनी मुक्त रहेनन् । 

एमालेका राजकुमार गुप्ताले सम्हालेको सामान्य प्रशासनबाट झिक्नुपर्ने भएपछि गृह मन्त्रालय ताकेका निरौलालाई सानो दलले सम्हालेको श्रम मन्त्रालयमा धपाइएको चर्चा छ । तर, कांग्रेस नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकको विश्वास जित्न नसक्ने अवस्था बनेसँगै अब उनले श्रममै चित्त बुझाउनुपर्ने भएको छ । 

यता,केही महिना पहिलेमात्र खानेपानी तथा सरसफाई मन्त्रालय छिरेका सुरेश आचार्यलाई फालेर प्रमिला बज्राचार्यलाई ल्याइएको छ । ओली परिवारसँगको सम्बन्धका कारण उनी रोजेरै खानेपानीमा आउन सफल भएको कर्मचारीहरुको बुझाई छ । 

२१ जना सचिवको अदलीबदली हुँदा सरकारका दुई ठूला दल कांग्रेस र एमालेले भने मन्त्रीको रुचीअनुसार नै मिलाएको बताइन्छ । जस्तो कि उर्जा मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक,पूर्वाधार तथा यातायात मन्त्रालयमा ल्याइएको छ । सो मन्त्रालयमा अहिले एमालेका देवेन्द्र दाहाल मन्त्री छन् भने केशव पनि एमाले निकट मानिन्छन् । 

भौतिक मन्त्रालयका सचिव गोपाल सिग्देललाई काँग्रेसका दिपक खड्काले नेतृत्व गरेको उर्जा मन्त्रालयमा सरुवा गरिएको छ । सिग्देल 'रुख  छापे' भनेर चिनिन्छन् । 

यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालयमा पठाईएको छ । गृहको सचिवका लागि लबिङ्ग गरिराखेका उनलाई मिलाएरै सिंहदरबार बाहिर फालिएको धेरैको बुझाइ छ । अब गृहको सचिवका लागि पूर्वगृह सचिव विनोदप्रकाश सिंह र प्रधानमन्त्री कार्यालयकै कृष्णहरि पुस्करबीच प्रतिष्पर्धा हुने भएको छ । 

उता,शक्तिशाली व्यक्तिको चाकडीमा रमाउने र तल्लो तहका कर्मचारीलाई पेल्ने स्वभावका मधुसुदन बुर्लाकोटीलाई वाणिज्य सचिवका रुपमा उधोग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । उनी आउने पक्का भएसँगै त्यहाँका कर्मचारीले असहज 'महसुस' गरेको बताइन्छ । 

यति ठूलो संख्यामा सचिव सरुवा गरिँदा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र घर जाने लागेको पुरानो सचिव रामकृष्ण सुवेदीलाई कहाँ हटाउँछु र म भन्ने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मात्र पूर्वजानकारी रहेको बुझिएको छ । कर्मचारी प्रशासनको उच्च नेतृत्व फेर्नेजस्तो महत्वपूर्ण निर्णयमा मन्त्रीलाई बाइपास गरिएकोमा कांग्रेसका एक मन्त्रीले उचित ठानेनन् । 

टिप्पणीहरू