कोरियन मुद्राको भाउ घटेपछि नेपाली दूतावासले तोक्यो नयाँ शुल्क

कोरियन मुद्राको भाउ घटेपछि नेपाली दूतावासले तोक्यो नयाँ शुल्क
सुन्नुहोस्

 दक्षिण कोरियाको सिओलस्थित नेपाली राजदूतावासले राजश्व शुल्कमा हेरफेर गरेको छ । आगामी भदौ १ गतेबाट लागू हुनेगरी दूतावासबाट प्रवाह गरिने कन्सुलर सेवामा राजश्व शुल्क हेरफेर गरिएको हो । 

अमेरिकी डलरको तुलनामा कोरियन वनको विनिमय दर कमजोर हुन गएकाले राजश्व शुल्कमा हेरफेर गरिएको दूतावासले जनाएको छ । ‘अमेरिकी डलर र कोरियन वनको विनिमय दरमा समय–समयमा हुने घटबढलाई मध्यनजर गरी गत वर्ष शुल्क निर्धारण भएको थियो । तत्पश्चात् अमेरिकी डलरको तुलनामा कोरियन वनको विनियम दर कमजोर हुन गएको कारण पुनः राजश्व रकममा हेरफेर गर्नुपर्ने भएकोले मिति २०८१ साल भदौ १ गतेदेखि लागू हुनेगरी देहायबमोजिम राजश्व शुल्क निर्धारण भएको’, सूचनामा उल्लेख छ । 

३४ पेजको नयाँ राहदानी र नवीकरणका लागि १५० डलर, बिग्रिएको पासपोर्टका लागि ७५ डलर, हराएको पासपोर्ट बनाउन ३०० डलर, ट्राभल डकुमेण्ट लेटरका लागि ५० डलर शुल्क तोकिएको छ । त्यस्तै, ६६ पृष्ठको हराएको वा व्यक्तिगत कारणले बिग्रिएको राहदानीका लागि ४०० डलर शुल्क कायम गरिएको छ । 

सवारी चालक अनुमतिपत्र, विवाह दर्ता प्रमाणपत्र, कर्मचारी सम्झौता, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, सम्बन्धविच्छेद प्रमाणपत्रलगायतका डकुमेण्टका निम्ति ५० डलर शुल्क तोकिएको छ । बसाईसराईसँग सम्बन्धित डकुमेण्ट, मेडिकल प्रमाणपत्रलगायतका डकुमेण्टका लागि सेवाग्राहीले १०० डलर तिर्नुपर्नेछ ।
 

टिप्पणीहरू