आम्दालाई मेडिकल कलेज बनाउने तयारी

आम्दालाई मेडिकल कलेज बनाउने तयारी

रुपन्देहीको बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल ‘आम्दा’ लाई मेडिकल कलेज बनाउने तयारी अगाडि बढेको छ । इण्डोनेसियाकोे बालीमा हुन लागेको आम्दा इन्टरनेसनलको अन्तर्राष्ट्रिय सभामा आम्दालाई मेडिकल कलेज बनाउने प्रस्ताव लगिने भएको हो । २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेसनलको सभाले अनुमोदन गरेपछि मेडिकल कलेज बनाउने प्रक्रिया शुरु हुनेछ ।

स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार आम्दा इन्टरनेसनलका अध्यक्ष डा.सिगेरु सुगानामीको उपस्थितिमा हिजो बसेको बैठकले आम्दालाई मेडिकल कलेज बनाउनका लागि अध्ययन गरेर सभामा प्रस्ताव लग्ने निर्णय गरेको हो । 

अध्ययनका लागि पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाइएको छ । सदस्यमा आम्दा इन्टरनेसनलका प्रतिनिधि अर्चना जोशी, आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल र सदस्य सचिवमा आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विनोद पराजुली छन् । 

‘आम्दा इन्टरनेसनलको सहकार्यमा अस्पतालको स्तरोन्नति भइरहेको छ । अस्पताललाई थप व्यवस्थित गर्दै जनशक्ति उत्पादन र उपचारलाई सँगै अगाडि बढाउन मेडिकल कलेज बनाउन खोजिएको हो । यस क्षेत्रकै सुविधासम्पन्न अस्पताल आम्दालाई बनाउने हाम्रो योजना छ । सोहीअनुसार अस्पताललाई मेडिकल कलेजका रुपमा स्तरोन्नति गर्नका लागि सम्भाव्यता अध्ययन गरेर बाँकी प्रक्रिया पूरा गर्छौं’,उनले भने । 

आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सुगानामीले सोही क्रममा अस्पतालको सेवा प्रवाहबारे अनुगमन गरे । त्यस्तै, उनले प्रत्येक वार्डका इञ्चार्ज, डाक्टर, नर्स र सेवाग्राहीसँग प्रतिक्रिया पनि लिए । मेयर पाण्डेय र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विनोद पराजुलीले उनलाई अस्पतालको सेवा र अवस्थाबारे जानकारी गराएका थिए । 

उनले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत हेल्थ असिस्टेण्ट, नर्सिङ्ग र फार्मेसी डिप्लोमाका विद्यार्थीहरुसँग कुराकानी गरे । एक सय शैयाको अस्पताललाई तीन सय बेडमा स्तरोन्नति गर्न इन्टरनेसनलसँग समझदारी भई अघिल्लो वर्षको जेठदेखि काम अघि बढेको छ । 

२०५३ सालमा वडा नम्बर ७ मा स्थापना भएको अस्पतालमा गत वर्षदेखि नर्सिङ्ग, एचए र फार्मेसी विषयमा डिप्लोमा तहको अध्ययन भइरहेको छ ।

टिप्पणीहरू