गीत संगीतमा मौलाएको छाडा, फिल्मी क्षेत्रमा झन् गाढा

गीत संगीतमा मौलाएको छाडा, फिल्मी क्षेत्रमा झन् गाढा

भनिन्छ, कलाकार देशका गहना हुन् । कलाकारका हरेक गतिविधि तथा क्रियाकलापले सर्वसाधारणमा गहिरो प्रभाव पार्छ । कलाकारले जे गर्यो, त्यही आम नागरिकले पनि दोहोर्याउँछन् । तर, तीनै कलाकार समाज र राष्ट्रप्रति जिम्मेवार नहुँदा विकृति फैलिएको छ । 

केही समयअघि मात्रै अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी शाह निकै विवादमा तानिए । असारको पहिलो सातातिर कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘इट्स माइ शो’ मा उनीहरुको अभिव्यक्ति विवादित हुँदा सामाजिक सञ्जाल नै तातेको थियो । 

स्वस्तिमा र साम्राज्ञी नेपाली चलचित्र क्षेत्रमा नाम चलेका अभिनेत्री हुन् । तर, दुवैले आफ्नो मर्यादाको ख्याल नगरी राष्ट्रिय टेलिभिजनमा अर्की नायिका जसिता गुरुङको बिगत खुलासा गरेपछि सामाजिक सञ्जालमा धेरै गालीगलौज खेप्नुपरेको थियो । पछि दुवैले माफी मागे । 

हाम्रा अधिकांश कलाकारले आफ्नो मर्यादा, प्रतिष्ठा र आत्मसम्मानको समेत ख्याल नगरी जथाभावी बोल्नु कुनै नौलो कुरा होइन । तर, राष्ट्रको गहना र गौरव मानिएका कलाकारले नै अशोभनीय हर्कत गर्नाले समाजमा कस्तो प्रभाव पर्ला ? यो अहिले चिन्ताको विषय बनेको छ । यद्यपि, त्यसतर्फ प्रवेश नगरौं । 

यतिबेला नेपाली संगीत बजारमा तीजका गीतहरु बज्न थालेका छन् । आगामी भदौ २१ गतेको हरितालिका तीजका लागि गायक, गायिका, संगीतकारहरुलाई गीत गाएर भ्याइनभाई छ । हिन्दू नारीहरुले मनाउने यो पर्वको आफ्नै धार्मिक र सांस्कृतिक विशेषता छ । तीजमा गाइने गीतको पनि छुट्टै महत्व छ । 

तर, केही वर्षयता तीजका गीतमा व्यापक परिवर्तन आएको पाइन्छ । पहिले बिहे गरेर गएका चेलीबेटीको दुःख, पीडा र वेदनालाई समेटेर तीजका गीत पस्कने गरिएकोमा अहिले यसलाई फेसन बनाइएको छ । बजारमा नयाँ ढंगबाट तीजका गीत र भिडियोहरु आउन थालेका छन् । 

अझ भन्नुपर्दा अहिलेका तीज गीतका शब्दमा अश्लीलताले डेरा जमाउन थालेको छ । चर्चा र विवादमा आउन जस्तो पनि गीत गाउने र अभिनय गर्ने प्रवृत्ति बढ्दै गएको छ । तीजका लागि हालसालै सार्वजनिक गरिएको ‘बिस्ताराले पोल्यो’, ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘चियर्स बियर’, ‘टिकटकमा भाइरल हल्लाएरै हो’ लगायतका गीत निकै विवादमा तानिएका छन् । 

चर्चित र सर्वाधिक डिमाण्डेड गायक/गायिकाकै स्वर र अभिनय रहेको यी गीत भड्किलो र अश्लील देखिन्छन् । घरपरिवारसँगै बसेर सुन्न र हेर्न नसकिने खालका छन् । समाजले पचाउन नसक्ने छाडा प्रकृतिका तीज गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेका छन् । 

यसको जनस्तरबाटै चर्को विरोध भइरहेको छ । तीजका गीत सुन्न पर्खिएर बसेका दर्शकहरु यस्ता गीतबाट आजित छन् । गीतमा चेलीका वेदना, कथा, व्यथाभन्दा बढी भड्काउ खालका परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने भएपछि सुन्नै छाडेको अधिकांश बताउँछन् । जबकी दशकअघिको ‘तीजको रहर आयो बरिलै’ आज पनि उत्तिकै लोकप्रिय छन् ।

चर्चित गायिकाकै गीत विवादमा  

हालै सार्वजनिक तीजका विभिन्न गीतमध्ये चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको ‘बिस्ताराले पोल्यो’ गीत पनि विवादमा तानियो । उनीसहित गायक हरि गिरी विमर्शीको आवाज रहेको उक्त गीत निकै अपाच्य र भड्किलो खालको छ । 

गीत विवादमा परेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी सदस्य समेत रहेकी गीतकी गायिका शान्तिश्री परियारले माफी मागिन् । उनले विज्ञप्ति जारी गरेर गीतबाट पर्न गएको नकारात्मक असरप्रति क्षमा मागेकी हुन् ।

 

‘मिति २०८१ साउन ११ गते प्रशारित ‘बिस्ताराले पोल्यो’ भन्ने गीतमा मेरो आवाज रहेको छ । सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधाअन्तर्गतको नभएता पनि गीतको भिडियोको केही दृष्यांशहरुको कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरुमा धेरै नकारात्मक टिकाटिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठानप्रति र आदरणीय शुभचिन्तकहरुप्रति आँच पुग्न भएको आभास भएको हुँदा क्षमाप्रार्थी छु,’ उनले भनेकी छन् । 

लोकदोहोरीमा पनि उस्तै 

नेपाली संगीत क्षेत्रमा लोकदोहोरीको अलग्गै महत्त्व रहेको छ । तर, अचेल लोकदोहोरीले पनि संगीतकै हुर्मत लिन थालेको छ । लोकदोहोरीमार्फत् नेपाली मौलिकता र संस्कृतिलाई बचाउनुपर्नेमा पछिल्लो समय सस्तो लोकप्रियताका लागि दोहोरीमा छाडापन बढ्दै गएको पाइन्छ । 

विशेष गरी लाइभ दोहोरीमा विकृति बढेको बताइन्छ । यस्ता दोहोरीमा अग्रज गायक–गायिकालेसमेत अपाच्य शब्द प्रयोग गरेको पाइन्छ । अझ दोहोरीका नाममा अश्लील शब्द प्रयोग गरी ‘ब्याटल’ र ‘र्याप’ गाउने क्रम बढ्दो छ । 

केही समयअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दोहोरी गीतमा विकृति भित्र्याएका एक दर्जन कलाकारलाई स्पष्टीकरण सोधेको थियो । छाडा दोहोरी गएको आरोपमा लोकगायक बालचन्द्र बराल कारबाहीमा परे । प्रतिष्ठानले गत जेठमा उनलाई केन्द्रीय सदस्यबाट छ महिना निलम्बन गरेको हो ।
 
दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा प्रस्तुत भएको गीतले लोक संस्कृति र दोहोरीको मूल मर्म र भावनामा प्रहार भएको भन्दै प्रतिष्ठानले त्यस्ता गतिविधि नदोहोर्याउन समेत चेतावनी दिँदै आएको थियो । यद्यपि, अहिले पनि यो क्रम रोकिएको छैन । 

अश्लील गीत रोक्न हारगुहार 

तीजको नाममा अश्लील गीत निकाल्ने क्रम बढेपछि अहिले संगीतसम्बद्ध संघसंस्थाले यस्ता गीतहरुलाई रोक्न माग गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, राष्ट्रिय लोक सञ्चारकर्मी, नेपाल म्युजिक भिडियो निर्देशक समाजले विकृतिजन्य गीतहरुलाई रोक्न आग्रह गरेका छन् । 

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजलाई लक्षित गरी बजारमा ल्याइएका पाँच विवादित गीतमाथि प्रतिबन्ध नै लगाएको छ । सञ्चारकर्मीले कविता खत्री र भागिरथ चलाउनेको आवाज रहेको ‘दिउँला बरिलै’, प्रीति आलेको ‘मादलु धम्काउँदै’, केशर ओली र सुमन थापाको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरी विमर्शीको स्वर रहेको ‘बिस्ताराले पोल्यो’ र प्रीति आले र प्रकाश शर्माले आवाज दिएको ‘चियर्स बियर’ गीतमा प्रतिबन्ध लगाएको हो । 

सञ्चारकर्मीका अध्यक्ष चन्द्रमणि गौतम बुझ पचाएरै अश्लील गीतहरु ल्याउने गरेको बताउँछन् । ‘हामीले नेपाली मौलिक गीत र संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर पटकपटक भन्दै आएका छौं । तर, साथीभाइहरुले बुझ पचाएरै यस्ता अश्लील गीत ल्याउने गरेका छन्,’ उनले भने । 

उनले मौलिक गीतमाथि ‘बलात्कार’ भएको समेत टिप्पणी गरे । अध्यक्ष गौतमले भने, ‘हाम्रो मौलिक गीतमाथि बलात्कार भएको छ । बुझ पचाएर जानीजानी अश्लील गीत गाउनु गीतमाथि बलात्कारसरह नै हो ।’

आफूहरुले गीत संगीत क्षेत्रमा मौलिक गीतहरुलाई प्रोत्साहन र विकृतिजन्य गीतहरुको खबरदारी गर्दै आएको बताउँदै उनले सञ्चारमाध्यममा समेत समाजमा विकृति फैलाउने गीतहरुलाई स्थान नदिन आग्रह गरे ।
 
उनले तीजलाई लक्षित गरी प्रशारण भइरहेका गीतमाथि अनुगमन गरिरहेको र अश्लील थप गीतमाथि प्रतिबन्ध लगाउने तयारी समेत भइरहेको जानकारी दिएका छन् । ‘तीजलाई लक्षित गरी आएका गीत संगीतमाथि हाम्रो नजर छ । पाँच वटामाथि प्रतिबन्ध लगायौं र थप अश्लील गीतमाथि लगाउने तयारी भइरहेको छ,’ अध्यक्ष गौतमले भने । 

फिल्ममा पनि त्यस्तै 

पछिल्लो समय चलचिल क्षेत्रमा पनि यस्तै देखिन थालेको छ । अहिले घरपरिवारसँगै बसेर हेर्न सकिने खालका फिल्म कमै छन् । चलचित्र विकास बोर्ड तथा केन्द्रीय चलचित्र सेन्टर समितिबाट सेन्सर प्राप्त चलचित्र भएपनि परिवारसँग हेर्न सकिँदैन । 

फिल्ममा नायिकाले टु पिस, ब्याकलेसजस्ता पहिरन लगाउनु सामान्य भइसकेको छ । तर, चलचित्रले यौनजन्य गतिविधिमा लाग्नसमेत प्रेरित गरेको पाइन्छ । यति मात्र नभई अहिले फिल्ममा ‘न्यूड सीन’ समेत देखाउन थालिएको छ । 

नेपालकी सर्वाधिक चलेकी नायिकामा पर्छिन्, प्रियंका कार्की । तर, केही समयअघि मात्र सार्वजनिक उनले अभिनय गरेको ‘साहु बा’ को ट्रेलरले अश्लीलतालाई प्रश्रय दिइएको छ । एउटा दृश्यमा महिला कलाकार र अर्कोमा पुरुष कलाकारलाई पछाडिबाट नांगो देखाइएको छ । जसले दर्शकलाई नराम्रोसँग झस्काएको छ ।

टिप्पणीहरू