कुटाईखाने जासुसहरुको काण्डैकाण्ड

कुटाईखाने जासुसहरुको काण्डैकाण्ड

कार्यालय प्रमुख ओम खड्का नेतृत्वको जासुसी टोलीबाट बाँकेका स्थानीयदेखि प्रहरीसम्म हैरान छन् । सूचना ल्याउन खटिनुपर्ने सूचकलाई उनले पैसा उठाउनमा परिचालन गरेका छन् । खड्काका विश्वासिलो पात्र हवल्दार गोविन्दजंग शाहले सुलीका लागि टोली नै बनाएका छन् । उनका पनि परिचालक बुद्धिप्रसाद शर्मा र उदय अधिकारीले व्यापारीलाई धम्क्याएर पैसा झार्ने गरेको आरोप छ । 

उनीहरूले आरा मिल, इँटाभट्टाबाट मासिक असुली गर्छन् । करिब तीन महिनाअगाडि भारतीय टोलीबाट मोटो रकम लिएर ‘डिजिटल करेन्सी विथ ड्र’ नामक क्रिप्टोकरेन्सीको कारोबार गर्ने कम्पनीलाई छोडिदिएको बुझिएको छ । कोहलपुरको चौराहास्थित लाहुरे रेष्टुरेण्टमा सेटिङ्ग मिलाएका उनीहरु क्रसर उद्योगका सञ्चालकलाई तर्साएर पैसा उठाउने धन्दामा समेत संलग्न छन् । ‘हामी विभागका प्रमुख हुतराज थापा र पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको मान्छे’ भन्दै खुलेआम पैसा माग्छन् । दिन नमान्नेलाई मरणासन्न हुनेगरी पिट्ने गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका तत्कालीन प्रमुख सुवास बोहोराले गोविन्दलाई निकै साथ दिन्थे । प्रहरी नै असुलीकर्ताको पक्षमा भएकाले पीडितहरूको आवाज सुनिदिने कोही भएन । खुलेआम तस्करसँग हिँड्ने गोविन्दका दाजु नाता पर्ने सतिशजंग शाह पनि गैरकानुनी क्रियाकलापमा संलग्न छन् । यातायात व्यवस्था कार्यालय, नेपालगञ्जको छैंठौ तहमा कार्यरत उनले गोविन्दसँग मिलेर कोहलपुरस्थित ट्रायल सेन्टरबाट मासिक उठाउने गरेका छन् । 

तस्करहरू लिएर गोविन्द कहिले कार्यालय प्रमुखको निवासमा पुग्छन् त कहिले होटलमा । उनको पहुँच यातायातदेखि मालपोत र नापीको उच्च तहसम्म छ । विवादित जग्गा मिलाएर पैसा असुल्ने धन्दा लामो समयदेखि चलिरहेको छ । कर्मचारीसँगको मिलिभगतमा लाभकर पनि छुट गराउँछन् । हुण्डी कारोबारमा पनि नाम मुछिएको छ । नेपालगञ्ज निवासी एक सरदारलाई हुण्डीको कारोबार गर्न सहयोग पु¥याउँदै आएका छन् । 

‘अपराध’ हेरेर सूचक 

चोरी, तस्करीसम्बन्धी सूचना आउनेबित्तिकै कार्यालय प्रमुखले गोविन्दलाई जानकारी गराउँछन् भने गोविन्दले ‘अपराध’ हेरेर सूचक खटाउँछन् । 

कुनै तस्करीमा अर्जुन खड्का त कुनैमा तिलक खत्रीलाई परिचालन गरिन्छ । गोविन्दले दुई वर्षअगाडि तस्करहरूले ल्याएको दुई किलो सुन नेपालगञ्जस्थित बसपार्कको एउटा होटलबाट लुटेका थिए । उनले कोहलपुर नगरपालिका– ११ स्थित सिद्धार्थ ज्वेलर्सका सञ्चालक देवेन्द्र सुनारसँग मिलेर काम गर्छन् । प्रहरी जवानको शारीरिक परीक्षणमा छनौट गराइदिने प्रलोभन देखाएर युवाहरूबाट रकम बटुल्छन् । अख्तियारको नेपालगञ्ज कार्यालयमा परेको उजुरी पनि मिलाइदिने भन्दै लाभ लिने गरेको बताइन्छ । 

प्रमुखलाई भिनाजु, आफूलाई असई 

हवल्दार पदमा रहेका गोविन्दले आफूलाई असई भनेर चिनाउँदै आएका छन् । जाजरकोटको खलंगा घर भएका गोविन्दले काजमा खटिएको चार वर्षमा करोडौंको सम्पत्ति जोडेका छन् । ऐलानी जग्गामा बसोबास गर्दै आएका उनको घर २०७२ सालको भूकम्पले भत्किएपछि नेपालगञ्जमै भव्य घर बनाएका र महङ्गो गाडी किनेका हुन् । 

रक्ताम्मे हुनेगरी पिटाई

केही दिनअघि सूचक अर्जुनले नेपालगञ्ज उपमहानगरपालिका–११ जमुनाहा नाकाको भन्सार नजिकैबाट नेपाल ल्याउँदै गरेको १८ लाख रूपैयाँँ बरामद गरे ! उक्त रकम क्यासिनोका लागि ल्याइएको थियो । सो रकम नियन्त्रणमा लिएपछि क्यासिनोका जिएम अर्जुन खनालले मरणासन्न हुनेगरी कुटे । प्रहरीकै सामुन्ने रामधुलाई भेटेका उनको टाउकोमा ११ वटा टाँका लगाउनुपरेको थियो । प्रहरीले भने यसविषयमा अनुसन्धान जारी रहेको बताएको छ । अर्जुन र तिलकले मासिक दुई लाख गोविन्दलाई बुझाउने गरेका छन् । भन्सारमा खटाएबापतको शुल्क हो त्यो । 

पत्रिकाको नाममा असुलीधन्दा 

सुरक्षा राष्ट्रिय दैनिकको शेयर होल्डरसमेत रहेका सूचक उदय दुई महिनाअगाडि शेयर होल्डर दीपक शाही र जुहारीलाल चौलागाईंसँग विवाद परेपछि अलग्गिएका छन् । तैपनि उनले पत्रकार दिनेशराज उपाध्यायको नाम लिएर आफ्नो क्रियाकलापलाई गति दिइरहेका छन् । 

बाहिर उठाउने, भित्रको पनि नछोड्ने 

कार्यालय प्रमुख खड्का, गोविन्द, अर्जुन, तिलक, उदय र बुद्धिबाहेक अन्य कुनै सूचकले सेवासुविधा पाएका छैनन् । बाहिरबाट मासिक करोडौं असुल्ने उनीहरूले सूचकमाथि पनि शोषण गर्दै आएको बताइन्छ । यता, पैसा लिएर बढुवा गरिँदै आएको कुरा पनि छताछुल्ल भएको छ । २०७५ सालमा हवल्दार विजयराज विष्ट र महेश खड्काले पैसा दिएर बढुवा पाएका छन् । विजयराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुसन्धान सहायक छन् । महेश एसपी बासु सिग्देलको घरमा परिचालकको काम गर्छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू